खप्तड ‘मौनताको संसार’

133
Shares

काठमाडौं । नेपालको सुदूरपश्चिममा रहेको एक शान्त र अपूर्व सौन्दर्यले भरिएको ठाउँ हो खप्तड । समुद्री सतहदेखि ३ हजार ७ सय मिटरको उचाइमा रहेको यो भू-भाग केवल एक प्राकृतिक स्वर्ग मात्र होइन, आत्मा शान्त बनाउने आध्यात्मिक स्थल पनि हो।

हराभरा फाँट, बाक्लो जङ्गल, चट्टानी भिरहरू र आकाश छुने बादलहरूको माझमा लुकेको खप्तड क्षेत्र जुनसुकै मौसममा पनि अद्भुत देखिन्छ । यहाँ पुग्ने जो–कसैले एउटै कुरा भन्छ ‘यो ठाउँमा प्रकृति आफैँ बोल्छ ।’

छेडे पाटनमा रहेको नेपाली सेनाको ब्यारेक।

यहाँको सबभन्दा रमाइलो कुरा हो मौनता। चराचुरुङ्गीको गीत, हावाको सुस्केरा र आफ्नै पाइतालाको आवाज मात्र सुन्न सकिन्छ । मोबाइल सिग्नलको अभावले गर्दा बाहिरी दुनियाँबाट केहीबेर टाढा रहेर आत्मासँग संवाद गर्न सकिन्छ।

खप्तड राष्ट्रिय निकुञ्ज सुदूरपश्चिम प्रदेशका ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा, डोटी र अछाम जिल्लामा फैलिएको छ । २२५ बर्ग किमीको यो निकुञ्ज बि.सं २०४२ मा स्थापना गरिएको हो । समुद्री सतहबाट २४०० देखि ३७०० मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा छ खप्पर दह । सुदूरपश्चिमको भूस्वर्ग भनिने खप्तड डोटी अछाम बझाङ र बाजुराको संगमस्थल हो। खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यसवरपर २२ वटा पाटन छन्। त्यसमध्य सबैभन्दा ठूलो घोडे पाटन हो ।

छेडे पाटन, खप्तड
छेडे पाटन, खप्तड

मनसुन सुरु भएपछि हरियालीले ढाकिने खप्तड पुस महिनापछि भने सेताम्य हिउँले ढाकिन्छ। बैशाखदेखि असारसम्म रंगीचंगी फूलहरुले फाँटहरु ढाकेका हुन्छन् । खप्तड क्षेत्रको प्रमुख विशेषता भनेको विशाल पाटन र त्यसमा फुल्ने रंगीचगी फूलहरु नै हुन्।

खप्तड बाबाको कुटी
खप्तड बाबाको कुटी

यसका साथै खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिव मन्दिर, सहस्र लिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगा जस्ता धार्मिक स्थलहरु पनि छन्, जसले खप्तड क्षेत्रलाई निकै प्रख्यात बनाएका छन्।

खप्तड क्षेत्र आध्यात्मिक गुरु खप्तड बाबाको तपोभूमि हो। उनले यहाँ वर्षौंसम्म साधना गरेका थिए । आज पनि खप्तड बाबा आश्रम ती साधनाहरूको साक्षी बनेर उभिएको छ। आश्रम परिसरमा पुग्दा एउटा अनौठो शान्ति महसुस हुन्छ।

कसरी पुग्ने ?

तपाईं कहाँबाट जाँदै हुनुहुन्छ त्यसले निर्धारण गर्छ । सडक यात्राबाट जाँदा कैलालीको अत्तरिया पुग्नपर्छ। काठमाडौंबाट हवाई यात्रामा जानुहुन्छ भने सीधै धनगढीसम्म हवाई यात्रा गर्न सकिन्छ । त्यहाँबाट अत्तरिया हुँदै डडेलधुरा, डोटीको दिपायल, सिलगढी हुँदै झिंग्राना पुगेर त्यहाँबाट लगभग ८ घण्टा पैदल यात्रा गर्नुपर्छ।

डडेलधुराको रदुवामा लहलहाएको गहुँ खेत

करिब आठ घण्टाको सडक यात्रामा डोटीको सिलगढीसम्म पुग्न सकिन्छ । त्यसपछि झिग्रानासम्म जिपको व्यवस्था गर्नुपर्छ। सिलगढीबाट बगलेगसम्म जिप पनि चल्ने भएकाले जिप रिजर्भ गरेर पनि जान सकिन्छ। त्यसपछी निकुञ्ज प्रवेशको लागि १०० रुपैयाँको टिकट काटेर उकालो लाग्नुपर्छ। त्यहाँबाट कम्तिमा ८ घण्टा उकालो पैदल यात्रा गर्नुपर्छ।

डोटीको सिलगढीबाट देखिएको पिपल्ला बजार, दिपायल। सेती नदी।

सिलगढीदेखि नै पैदल यात्रा सुरु गर्न पनि सकिन्छ । पैदल यात्राको पहिलो दिन झिगराना र दोस्रो दिन खप्तड पुग्न सकिन्छ।

यसबाहेक बझाङको छान्ना, बाजुराको कोल्टी, अछामको साँफेबगर र डोटी सीमा चौखुट्टेबाट खप्तड उकालिन सकिन्छ। यी मध्ये चल्तिको बाटो झिंग्राना हो।

कुन् समयमा जाने ?

घुम्नका लागि हरेक मौसमको आफ्नै विशेषता हुन्छ । तर खप्तड पुग्नुपर्ने सबैभन्दा उत्तम समय जेठ-भदौ हो । यो समयमा जाँदा खप्तडका पाटन हरियाली हुन्छन् । जताततै रंगिविरंगी भुइफूल फुलेका हुन्छन् । चैत–बैशाख अलि सुख्खा हुन्छ तर बाटोमा जताततै गुँरास फुलेका देख्न सकिन्छ । मंसिरपछि फाल्गुनसम्म हिउँले पाटन गमक्कै ढाकेको हुन्छ। मौसम खुला हुन्छ, र हिमालको दृश्य पनि प्रस्ट देखिन्छ।

नेपाली सेनाले बनाएको गोलघर

झिग्रनाबाट उकालो लागेपछि लगभग ४ घण्टामा विचपानी पुगिन्छ । त्यहाँ खाने र बासबस्ने ठाउँ छ। त्यसपछि लगभग ४ घण्टा हिँडेपछि खप्तड पुगिन्छ । खप्तडमा २ वटा होटल छन् । नेपाली सेनाले बनाइदिएको गोलघर छन् जसको रेखदेख ति होटलले नै गर्ने गरेका छन्।

खप्तड एउटा यस्तो गन्तव्य हो, जहाँ शरीर मात्र होइन, आत्मा पनि विश्राम पाउँछ। यो ठाउँ घुम्नको लागि मात्र होइन, आफूलाई बुझ्न र प्रकृतिसँग नजिकिन पनि हो । यदि तपाईं जीवनको कोलाहलबाट केहीबेर टाढा जान चाहनुहुन्छ भने खप्तड पुग्नुहोस्, त्यो मौनता तपाईंको आत्मामा अमिट छाप छोड्नेछ।

खप्पर दह। छेडे पाटनबाट लगभग ४५ मिनेटमा पुग्न सकिन्छ खप्पर दह।
त्रिवेणी नदी
त्रिवेणीधाम। गंगा, यमुना र सरस्वती मिलेर बनेको छ त्रिवेणी।

तस्वीर : प्रभात खनाल