यशोदा फुड्सको उत्पादन प्लान्टमा ८६५ केडब्ल्यूपी सोलार पीभी रूफ–टप प्रणाली जडान !

70
Shares

काठमाडौं । करेन्ट नुडल्सका निर्माता तथा नुडल्स तथा स्न्याक्स क्षेत्रकै अग्रणी नाम, यशोदा फुड्सले दिगोपनाको यात्रामा महत्वपूर्ण कदम चाल्दै चन्द्रौटा, कपिलवस्तुस्थित आफ्नो कारखानामा ८६५ केडब्ल्यूपी क्षमताको रूफ–टप सोलार परियोजना सफलतापूर्वक जडान गरेको छ । यो परियोजनाले २३ नोभेम्बर २०२५ देखि स्वच्छ तथा हरित सौर्य ऊर्जा मार्फत बिजुली उत्पादन गर्न सुरु गरिसकेको छ । यस संगै यशोदा फुड्स, नेपालमा पहिलो पटक सौर्य ऊर्जामा आधारित नुडल्स उत्पादन गर्ने नुडल्स उद्योग बनेको छ ।

कम्पनीले “नेपालकै पहिलो ग्रिन नुडल्स म्यानुफ्याक्चरिंग फेसिलिटी ” कोे उपमा समेत आफ्नो नाम गराउन सफल भएको छ । साथै, कपिलवस्तु औद्योगिक करिडोरमा पनि छानामाथि सौर्य नविकरणीय ऊर्जा प्रयोग गर्ने पहिलो उद्योग बन्न सफल भएको छ । यस सौर्य प्लान्ट माफर्त औद्योगिक आवश्यकताको करिब ८०% बिजुली माग पूरा हुने, विद्युत खर्च ६५% ले घट्ने तथा प्रयोग बिहिन रहेको छाना सदुपयोग समेत हुनाका साथै कार्बन उत्सर्जनमा उल्लेखनीय कमी आउने अपेक्षा गरिएको छ ।

उक्त परियोजना नेपालकै अग्रणी तथा दीर्घ अनुभव सम्पन्न स्मार्ट सौर्य समाधान प्रदायक प्राइम रिन्यूएवल्स प्रालिद्वारा निर्माण गरिएको हो । परियोजनाका लागि एनएमबी बैंक लिमिटेडद्वारा वित्तिय सुविधा उपलब्ध गरिएको थियो । त्यसैगरी, जर्मन ग्रान्ट डीकेटीआई परियोजना अन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी)ले व्याज अनुदानसहितको वित्तीय सहयोग प्रदान गरेको हो ।

‘हामी समग्र यशोदा फुड्स परिवार, नुडल्स तथा स्न्याक्स क्षेत्रमा नेपालकै पहिलो सौर्य प्रणाली चन्द्रौटा प्लान्टमा जडान गर्न पाउँदा अत्यन्त गर्वित छौँ । यसले कार्बन उत्सर्जन घटाउनुका साथै करेन्ट नुडल्सलाई संचालनमा दिगोपनाको दिशातर्फ लैजान ठूलो मद्दत गर्नेछ,’ डिसेम्बर २ मा चन्द्रौटा प्लान्टमा आयोजित उद्घाटन समारोहमा बोल्दै ग्लोबल एक्जिक्युटिभ डाइरेक्टर जी.पी. साहले भने, ‘८५६ केडब्ल्यू क्षमताको यस प्लान्टबाट हरेक वर्ष १० लाख युनिटभन्दा बढी बिजुली उत्पादन हुनेछ । जसले २,००० टन सीओटू उत्सर्जन बचत गर्नेछ । यसले उत्पादन लागत घटाउने भएकाले हामी अझ प्रतिस्पर्धी बन्नेछौँ र हाम्रा ग्राहक तथा स्टेकहोल्डरहरूलाई थप भ्याल्यू प्रदान गर्न सक्षम हुनेमा हामी विश्वस्त छौँ ।’

‘यस्ता परियोजनाहरूले नेपाली उद्योगलाई डिकार्बोनाइजेशनतर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्छन् । यसले नेपालका अन्य उद्योगहरूलाई पनि स्वच्छ ऊर्जा अपनाउन प्रेरित गर्नेछ । जर्मन सहयोगमार्फत नेपाल सरकारले प्रदान गरेको सहयोग यस्ता परियोजनाको सफलतामा दीर्घकालीन योगदान दिनेमा हामी विश्वस्त रहेका छौँ,’ एईपीसीका कार्यक्रम प्रमुख सन्तोष राईले बताए ।

सौर्य ऊर्जा, विश्वभर नै वातावरणमैत्री तथा सस्तो ऊर्जास्रोतको रूपमा तीव्र गतिमा विकसित हुँदै गइरहेको छ । जीवाश्म इन्धनलाई चरणबद्ध रूपमा विस्थापित गर्दै विश्व हरित ऊर्जातर्फ अग्रसर भइरहेका बेला आवासीय, औद्योगिक र युटिलिटी स्केल सौर्य ऊर्जा अपनाउने दर उल्लेखनीय रूपमा बढ्दै गइरहेको छ । नेपाली उद्योगहरूले पनि अब छानामाथिको सौर्य समाधानलाई कम लागतको विद्युत स्रोत तथा डिकार्बोनाइजेशनका उपायका रूपमा तीव्र गतिमा अंगिकार गरिरहेका छन् ।

ईपीसीले पछिल्ला वर्षहरूमा यस्ता पहललाई निरन्तर समर्थन गर्दै आएको छ र हालसम्म २५ मेवा संयुक्त क्षमताका ५० भन्दा बढी उद्योगहरूले यस्ता सोलार प्रणाली जडान गरिसकेका छन् । साथै, यो संख्या दैनिक रूपमा बढ्दै गइरहेको जानकारी दिइएको छ । नेपाल जलविद्युतमा धनी भएता पनि, सौर्य ऊर्जा भण्डारण प्रविधिसँग जोडिँदा सुख्खा मौसममा नदीको पानी घट्दा अत्यन्त उपयोगी वैकल्पिक ऊर्जा स्रोत बन्न पुगेको छ ।

नेपाल ईलेक्ट्रिसिटी अथोरिटी (एनईए)ले औद्योगिक रूफ–टप परियोजनाहरूलाई नेट–मिटरिङ सुविधा उपलब्ध गराउने भएकाले अतिरिक्त उत्पादन राष्ट्रिय ग्रिडमा प्रवाह समेत गर्न सकिन्छ । उद्योग परिसरभित्रै उत्पादित स्व–आश्रित ऊर्जाले प्रसारण तथा वितरण प्रणालीमा पर्ने भार घटाउने भएकाले पूर्वाधार लागत पनि कम हुन्छ । यस्ता रूफ–टप सौर्य परियोजनालाई अझ प्रोत्साहन गर्नु आवश्यक देखिन्छ ।

उद्घाटन समारोहमा एईपीसी बाट सन्तोष राई – परियोजना प्रबन्धक, निरज सापकोटा – सोलार रूफटप समन्वयक, तथा तारा प्रसाद पोखरेल – प्रमुख लेखा नियन्त्रक लगायत उपस्थित रहेक थिए । त्यर्सगरी, यशोदा फुड्सबाट जी. पी. शाह – अध्यक्ष, शिवराज — इन्जिनियरिङ प्रमुख, श्री — चन्द्रौटा प्लान्ट प्रमुख तथा प्राइम रिन्यूएवल्स प्रालिबाट आशिष गर्ग – अध्यक्ष, अभिषेष दाहाल – सिनियर इलेक्ट्रिकल इन्जिनियर, योगेश बिष्ट – परियोजना अधिकृत लगायत पनि उपस्थित रहेका थिए ।