अब १० निर्यातजन्य वस्तुको परीक्षण गर्न भारत जानु नपर्ने

1.4k
Shares

काठमाडौं । निर्यातजन्य खाद्यवस्तुको गुणस्तर प्रमाणिकरणको लागि भारत ‘जानै पर्ने’ बाध्यकारी अवस्था सदाको लागि अन्त्य भएको छ ।

नेपालबाट भारतमा निर्यात हुने विभिन्न १० खाद्य समूह अन्तर्गत पर्ने वस्तुको विश्लेषण गुणस्तर परीक्षण प्रमाणपत्रलाई भारतले पारस्परिक मान्यता (मिच्युअल रिक्गनाइज्ड) दिने मान्यता दिएपछि अब गुणस्तर परीक्षणको लागि त्यो मुलुकमा जानु पर्ने बाध्यता सदाको लागि अन्त्य भएको हो ।

भारतको भारतीय खाद्य सुरक्षा र गुणस्तर प्राधिकरण (फुड सेफ्टी एण्ड स्टाण्डर्डस अर्थोरिटी अफ इण्डिया –एफएसएसएआई) तथा परीक्षण र क्यालिव्रेसन प्रयोगशालाहरुको लागि राष्ट्रिय मान्यता बोर्ड (नेशनल एक्रिडिएटेशन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन ल्यावोटोरिज–एनएबीएल) ले नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग (डिएफटीक्युसी) कोे राष्ट्रिय खाद्य तथा दाना सन्दर्भ प्रयोगशाला(नेशनल फूड एण्ड फिड रेफरेन्स ल्यावोरयाट्री– एनएफएफआरएल) को खाद्य समूहको परीक्षण रिर्पोटलाई हालै पारस्परिक मान्यता प्रदान गरेको छ ।

यो मान्यता प्रदान भएसँगै नेपालको डिएफटीक्युसीकोे एनएफएफआरएलले १० खाद्य पदार्थ समूहअन्तर्गत फ्याट्स एण्ड आयल, फ्रुट्स एण्ड भेजिटेबल, सिरियल्स् प्रोडक्ट्स (चामल, गहुँ, मकै, कोदो), टी एण्ड कफी, मिल्क एण्ड डेरी प्रोडक्ट्स, हनि एण्ड स्वीटनरर्स, मिट प्रोडक्ट, स्पाइसेज, प्रोसेस्ड ड्रिकिङ वाटर र डायटरी सप्लीमेन्ट्सको गर्ने गुणस्तरसम्बन्धी विश्लेषण परीक्षण रिर्पोटलाई भारतले मान्यता दिएको छ ।

एनएफएफआरएलले यस्ता वस्तुको गुणस्तर परीक्षण गरेर उपलब्ध गराउने प्रमाणपत्रको आधारमा नेपाली उद्यमीले सोझै भारतमा निर्यात गर्न सक्षम भएका छन् । तर भारतलाई शंका लागेको अवस्थामा भने पुनः परीक्षण भने गर्न पाउनेछ ।

यो सुविधा पहिले नहुँदा नेपाली उद्यमीले चिया, कफी, अदुवा, अलैंची, मह, जुुस, दुग्धजन्य पदार्थ, बोसो तथा तेल, तरकारी तथा फल, खाद्यान्न उत्पादन, पानीलगायतका पदार्थ निर्यात गर्नका लागि भारतको कोलकात्ता, बैंग्लोर, नागपुर, मुम्बई, भोपाल, दिल्लीलगायतका स्थानमा धाउनुपर्ने अवस्था थियो ।

एउटा खाद्य वस्तुको परीक्षण गराउन भारत जाँदा कम्तिमा एक महिनाको समय लाग्ने र ५० हजार नेपाली रुपैयाँसम्म खर्च हुँदै आएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजिवकुमार कर्णले भारतले मान्यता दिएसँगै १० प्रकारका खाद्य समूहको वस्तु निर्यात गर्न परीक्षणका लागि भारत जानुपर्ने बाध्यता सधैको लागि समाप्त भएको जानकारी दिए ।

यो सुविधा उपलब्ध भएपछि भारतमा कृषि उपज निर्यात गर्दै आएका निर्यातकर्ताले खाद्य विभागको यो प्रयोगशालाबाट गुणस्तर प्रमाणिकरण गराएको प्रमाणपत्र, निर्यातसम्बन्धी प्रमाणपत्र र वस्तुको ब्याच (लट) नम्बर प्रमाणपत्र लिएर निर्यात गर्न सहज हुनेछ ।

‘यो हाम्रो लागि धेरै ठूलो उपलब्धी हो,’ महानिर्देशक कर्णले भने,‘ भारतको एफएसएसएआईले अब नेपालकै प्रयोगशालामा गरिएको परीक्षणलाई भारतमा निर्यात गर्न मान्यता दिनेछ ।’

भारतले स्वीकृत दिने भएपछि उक्त सामग्रीहरूको नेपाली निर्यात व्यवसायले प्रोत्साहन पाउने स्वदेशी व्यवसायीहरूको अपेक्षा छ ।

भारतले नेपालको प्रयोगशाला एनएफएफआरएललाई ६ सय ३० प्यारामिटरसम्मको गुणस्तर विश्लेषण परीक्षण प्रमाणपत्रलाई मान्यता प्रदान गरेको हो । पहिले यो प्रयोगशालासँग खाद्य वस्तु दुई सय ८४ प्यारामिटरमा परीक्षण गर्ने मात्रै क्षमता थियो ।

भारतको एफएसएसएआईको निर्देशनअनुसार एनएफएफआरएलले ६ सय ३० प्यारामिटरसम्मको गुणस्तर परीक्षण गर्न सक्ने क्षमता विस्तार गरेको विभागले जनाएको छ ।

विभागका महानिर्देशक कर्णका अनुसार नेपालले गर्ने परीक्षणलाई मान्यता दिन भारत सरकारले ‘नोटिफिकेसन’ जारी गरेपछि यो सम्भव भएको हो ।

महानिर्देशक कर्णले भने,‘भारतीय पक्षले नोटिफिकेसन गरेपछि १० खाद्य समूहअन्तर्गत पर्ने सम्पूर्ण खाद्य पदार्थको हामीले गर्ने परीक्षणलाई भारतले पनि मान्यता दिनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।’

नेपाल र भारतबीच पारस्परिक मान्यता सम्झौता (मिच्युअल रिक्गनाइज्ड अन्डरस्टाण्डिङ) भएपनि केहि समय अघिसम्म आवश्यक प्रक्रिया सम्पन्न नभएका कारण नेपालले गर्ने गुणस्तर परीक्षणसम्बन्धी रिर्पोटलाई भारतले पारस्परिक मान्यता दिएको थिएन ।

नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग (डीएफटीक्युसी) र भारतको भारतीय खाद्य सुरक्षा र गुणस्तर प्राधिकरण (फुड सेफ्टी एण्ड स्टाण्डर्डस अर्थोरिटी अफ इण्डिया (एफएसएसएआई) बीच पारस्परिक मान्यता सम्झौता सन २०१९ मा भएको थियो ।

यो सम्झौतापछि केही प्राविधिक बिषयमा तयारी गर्नुपर्ने अवस्था भएपनि कोभिडका कारण करिब दुई वर्ष प्रक्रिया अघि बढ्न सकेको थिएन । कोभिडपछि आवश्यक प्रक्रिया सकिएपछि पारस्परिक मान्यता दिने बिषय अघि बढेको विभागले जनाएको छ ।

विभागका प्रवक्ता मोहन महर्जनका अनुसार भारतको एफएसएसएआई र एनएबीएलले डीएफटीक्यूसीको एनएफएफआरएलको संयुक्त रुपमा प्रयोगशाला परीक्षण मूल्याँकन गरेको थियो ।

उनका अनुसार इन्टीग्रेटेड एसिसमेन्ट प्रक्रियामा हाम्रो प्रयोगशाला उतिर्ण भएर अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको थियो ।

नोटिफाई गर्न आईजीसी बैठकमा पनि पहल

महानिर्देशक कर्णका अनुसार अनुसार गत पुष २६ र २७ गते बसेको नेपाल– भारत वाणिज्य सचिबस्तरीय अन्तरसरकारी समिति (आईजीसी) को बैठकले १५ बुँदे सहमति गरेको थियो ।

यसमध्ये बुँदा नम्बर १२ अन्तर्गत नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा भारतीय खाद्य सुरक्षा तथा गुणस्तर प्राधिकरण (एफएसएसएआई) बीच गुणस्तर परीक्षण, सर्टिफिकेसन, पारस्परिक मान्यता दिने बिषयमा पारस्परिक कार्य अघि बढाउने र क्षमता विकासमा सहयोग आदान प्रदान गर्ने बिषयमा छलफल भएर सहमति भएको थियो ।

उक्त बैठकमा नेपालको नेशनल फूड एण्ड फिड रेफरेन्स ल्यावोरेट्री (एनएफएफआरएल) ले भारतको एफएसएसआईएबाट मान्यता प्राप्त गरिसकेकाले यो प्रयोगशालाले गर्ने कृषि उपज र खाद्य पदार्थसम्बन्धी परीक्षणलाई पारस्परिक मान्यतासम्बन्धी ‘नोटिफाई’ गरिदिन भारतीय पक्षलाई आग्रह गरेको थियो ।

‘हाम्रो प्रयोगशालाले कृषि उपज र खाद्य पदार्थसम्बन्धी परीक्षणलाई भारतीयसम्बन्धित निकायले पारस्परिक मान्यतासम्बन्धी नोटिफाई गरिदिनुपर्ने भनेर बैठकमा एजेण्डाको रुपमा अघि सारेका थियौं,’ कर्णले भने,‘भारतीय पक्षले यो बिषयमा गहन छलफल पश्चात आवश्यक प्रक्रिया पूरा गरी चाँडै नै यो व्यवस्था अघि बढाउने सहमति जनाएको आधारमा अहिले नोटिफाई गरेको हो ।’

आईजीसी यो छलफलमा भारतको तर्फबाट वाणिज्य तथा उद्योग मन्त्रालयको सचिब सुनिल बर्थवाल र नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति सचिब गोविन्दबहादुर कार्कीले नेतृत्व गरेका थिए ।

कस्तो समस्या भोग्दै थिए नेपाली किसान र व्यवसायी ?

हिमालयन अर्थोडक्स टि प्रोडयुसर्स एशोसिएसन (होट्पा) का उपाध्यक्ष उदय चापागाईले नेपालमा चियाको गुणस्तरसम्बन्धि परीक्षण नहुँदा चिया उद्यमीले कष्टकर समस्या भोग्दै आएको जानकारी दिए ।

चापागाईका अनुसार नेपालको परीक्षण रिर्पोटलाई भारतलाई मान्यता नदिंदा चिया उद्यमीलाई लटअनुसार चियाको नमूना बोकेर परीक्षणको लागि भारतको कोलकात्तास्थित सेन्ट्रल फूड ल्यावोर्याट्री (सीएफएल) मा जानुपर्ने बाध्यता थियो ।

चियाको एउटा नमूना लिएर कोलकाता जाँदा र परीक्षणको प्रतिवेदन आउन कम्तिमा १ महिनाको अवधी लाग्नुका साथै प्रति नमूना करिब ११ हजार भारतीय रुपैयाँ खर्च लाग्दै आएको उनले बताए ।

नमूना परीक्षणको प्रमाणपत्र नआउँदासम्म दुई सातासम्म सीमामै चियासहितको ट्रक रोक्नुपर्ने बाध्यता भएको उनले जानकारी दिए ।

नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार एउटा नमूना परीक्षण गराउन ५० हजार नेपाली रुपैयाँसम्म खर्च हुँदै आएको थियो ।

कति हुन्छ भारतमा खाद्यजन्य वस्तुको निर्यात ?

भारतमा बर्षेनि ३ देखि ४ अर्ब रुपैयाँबराबरको नेपालबाट चियाको निर्यात हुन्छ ।

यस्तै ५० करोड रुपैयाँबराबरको स्याउको जुस, ७ अर्ब ९३ करोड रुपैयाँबराबरको अलैंची, १ करोड २६ लाखको बटर, २० करोड रुपैयाँबराबरको दालचिनी, डेढ अर्ब रुपैयाँ बराबरको अदुवा निर्यात गरेको छ ।

१ अर्ब २० करोडको सुन्तलाको जुस, ५५ लाख रुपैयाँबराबरको घिउ, १ करोड ४० लाखको आँप तथा अम्बा, ६ अर्ब १८ करोडको मिक्स जुस, १ करोड ६२ लाखको चीज, २ करोड ५९ लाखको डेरीजन्य उत्पादन, १० करोडको सोयाविन आयल, १६ करोडको सनफ्लावर आयल र साढे ६ अर्ब रुपैयाँको पाम आयल निर्यात भएको थियो ।