२५ अंकले बढ्दै सेयर बजार २७०१ विन्दुमा, व्यापार र फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण

63
Shares

काठमाडौं । २५ अंकले बढ्दै सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७०१ विन्दुमा उक्लिएको छ । बुधबार नेप्से परिसूचक २५.३१ अंकले बढेर २७४१.४८ विन्दुमा पुगेको हो ।

अघिल्लो कारोबार दिन मंगलबार भने नेप्से १६.९५ अंकले घट्दै २६७६.१७ विन्दुमा रोकिएको थियो । त्यसअघिका तीन कारोबार दिन पनि नेप्से लगातार उकालो लागेको थियो ।

आइतबार नेप्से २९.८२ अंकले बढेर २६९३.१२ विन्दुमा रोकिँदा गत साताको बिहीबार ४१.४३ अंकले बढेको थियो । यस्तै, गत साताको बुधबार पनि नेप्से ३९.१३ अंकले बढेको थियो ।

बुधबार सेयर बजार बढ्दा पनि कारोबार रकम भने घटेको छ । आज नेप्सेमा कुल ५ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार भने ५ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएकामध्ये १६६ कम्पनीको सेयर मूल्य बढ्दा ७८ कम्पनीको घटेको छ । मंगलबार भने कारोबारमा आएकामध्ये ४२ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको घटेको थियो ।

बुधबार विशाल बजार कम्पनी र सेन्ट्रल फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा बोटलर्स नेपाल बालाजुको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज व्यापार समूहको सेयर मूल्य सर्वाधिक अर्थात् ९.४९ प्रतिशतले बढ्दा फाइनान्स समूहको सेयर मूल्य ३.२६ प्रतिशतले उकालो लागेको छ । यस्तै, बैंकिङ समूहमा ०.६१ प्रतितशत, विकास बैंकमा ०.५१ प्रतिशत, होटल तथा पर्यटन समूहमा ०.५२ प्रतिशत, लगानी समूहमा १.३९ प्रतिशत र लघुवित्त समूहमा ०.१२ प्रतिशतको सुधार आएको छ ।

उत्पादन समूहको सेयर मूल्य १.४३ प्रतिशतले घट्दा निर्जीवन बीमा समूहको सेयर मूल्य ०.२५ प्रतिशतले घटेको छ ।