
काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृतको जागिर एक दिनमै गएको छ ।
१० चैत आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र इवाहाङलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
आइतबार बिहान साढे १० बजे सकिएको सञ्चालक समिति बैंठकले इवाहाङलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गर्यो । उक्त निर्णयको जानकारी नेप्से र नेपाल राष्ट्र बैंकमा पठाएको थियो ।
तर, राष्ट्र बैंकले सीईओ नियुक्तको सम्पुर्ण निर्णय खारेज गर्न आइतबार नै निर्देशन दियो । राष्ट्र बैंकको निर्देशनपछि आइतबार नै साँझ ४ बजे बसेको सञ्चालक समितिको बैठकले सीईओ नियुक्तिको निर्णय खारेज पनि गर्यो ।
फाइनान्समा सीईओ नियुक्तिको लफडा पुसबाट नै सुरु भएको हो । पुस १४ मा बसेको सञ्चालक समिति बैठकले प्रकाश चन्द्र अधिकारीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसपछि २४ देखि २५ पुससम्म राष्ट्र बैंकले फाइनान्समा विशेष अनुगमन गरेको थियो ।
उक्त अनुगमनका क्रममा सीईओ नियुक्त प्रक्रियाको पनि अध्ययन गरेको र राष्ट्र बैंकको अनुगमनपछि फाइनान्सको सीईओ अधिकारीले काम गर्न असमर्थ रहेको भन्दै राजीनामा दिएका थिए ।
६ चैतमा सञ्चालक समितिले अधिकारीको राजीनामा स्वीकृत गर्दै ६ चैत बिहान इवाहाङलाई सीईओ नियुक्त गर्ने निर्णय गर्यो ।
आइतबार नै राष्ट्र बैंकले २४ र २५ पुसमा भएको अनुगमनको कैफियतको आधारमा उनलाई सीईओ नियुक्त गर्न नसक्ने भन्दै सीईओ नियुक्तको सम्पूर्ण प्रक्रिया खारेज गर्न निर्देशन दियो । सोही निर्देशनको आधारमा उनको नियुक्त खारेज गर्ने निर्णय भएको फाइनान्सले जनाएको छ ।








प्रतिक्रिया