आफूलाई शान्तिवादी दाबी गर्ने ट्रम्प किन बम बर्साउँदैछन् यमनमा ?


अमेरिकालाई अनावश्यक युद्धमा नधेकेल्ने र अहिले भइरहेका युद्धहरू रोक्ने वाचा गर्दै चुनाव जितेका अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प अहिले यमनमा बम बर्साइरहेका छन् । एक हप्ताको अवधिमा उक्त बमवर्षाका कारण ५३ जना यमनीहरूको मृत्यु भइसकेको छ । मृत्यु भएकामध्ये अधिकांश महिला तथा बालबालिका रहेको बताइएको छ ।

यमनका (अनसरल्लाह भनिने) हूतीहरूले प्यालेस्टाइनीहरूमाथि इजरायलले गरिरहेको नरसंहारको विरोध गर्दै लाल सागरमा इजरायली जहाजहरूमाथि आक्रमण गर्दै आएका छन् । गत मंगलवार उनीहरूले इजरायलमाथि बलिस्टिक क्षेप्यास्त्र पनि प्रहार गरेका थिए, भलै त्यसलाई बीचैमा इजरायलले रोकेको थियो । अन्य मुलुकका जहाजहरूमाथि आक्रमण नगरेका हूतीहरूले अमेरिकाको बमवर्षापछि भने अमेरिकी जहाजहरूलाई पनि तारो बनाउने उद्घोष गरेका छन् ।

इजरायलको कट्टर समर्थक अमेरिकाले उसमाथिको कुनै पनि आक्रमणलाई सहने गरेको छैन । त्यसमाथि ट्रम्प त पूर्वराष्ट्रपति जो बाइडन भन्दा पनि बढी इजरायललाई मरिहत्ते गर्ने व्यक्ति हुन् । प्यालेस्टाइनीहरूलाई गाजाबाट धपाएर त्यहाँ विलासी शहर बनाउने उनको परिकल्पना इजरायलमोहकै कारण सम्भव बनेको हो ।

त्यसमाथि इरानलाई कठोर सन्देश दिनका लागि समेत ट्रम्पले यमनमा बमवर्षाको आदेश दिएका हुन् । अमेरिकीहरू हूतीलाई इरानको ताबेदार शक्ति (प्रोक्सी) का रूपमा लिने गर्छन् । ट्रम्पले ट्रुथ सोसल अकाउन्टमा गत सोमवार गरेको पोस्टमा पनि हूतीहरूले गरेको प्रत्येक आक्रमणलाई इरानले गरेको आक्रमणका रूपमा लिइने र इरानले त्यसको खतरनाक परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

तर हूतीहरू इजरायलविरुद्धको प्रतिकार शक्ति (द रेजिस्टेन्स) को नायक इरानप्रति श्रद्धाभाव राख्ने भए पनि इरानको प्रोक्सी भने हैनन्, स्वतन्त्र शक्ति हुन् । यसका बावजूद हूतीहरूले इरानकै इशारामा इजरायली जहाजहरूमाथि आक्रमण गरिरहेको निष्कर्ष निकालेर ट्रम्पले यमनमाथि आक्रमण गरिरहेका हुन् ।

युक्रेन र रुसबीच युद्धविराम गराएर नोबेल शान्ति पुरस्कार हात पार्ने सपना देखिरहेका ट्रम्प त्यसमा आशान्वित सफलता प्राप्त नगरेको झोंकमा यमनमाथि आक्रमण गरिरहेका हुन सक्छन् । अझ, उनले त रुसलाई समेत इरानमाथि नियन्त्रण कस्नका लागि फकाउने प्रयत्न गरिरहेको देखिन्छ ।

अघिल्लो साता ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको दुई घन्टाभन्दा लामो फोनवार्ताको सारांश (रीडआउट) अमेरिका र रुस दुवैले सार्वजनिक गरेका छन् । रुसी रीडआउट लगभग ७०० शब्दको छ र त्यसमा युक्रेनकै विषयमा धेरै शब्दहरू खर्च गरिएको छ । पश्चिम एसिया र लाल सागर क्षेत्रका विषयमा जम्मा एक अनुच्छेद छ जसमा संकट सम्भावित क्षेत्रलाई स्थिर बनाउन तथा आणविक अप्रसार सुनिश्चित गर्न संयुक्त प्रयास गरिने उल्लेख छ ।

उता अमेरिकी रीडआउट चाहिँ लगभग २५० शब्दको छ र त्यसमा युक्रेनको सामान्य चर्चा बाहेक अधिकांश भाग पश्चिम एसियाका बारेमा उल्लेख छ । रणनीति हतियारको विस्तार रोक्ने विषयमा विमर्श आवश्यक रहेको र इजरायललाई ध्वस्त पार्ने हैसियतमा इरान कहिले पनि पुग्न नहुने विषयमा दुई नेताबीच सहमति बनेको भनी अमेरिकी रीडआउटमा लेखिएको छ ।

त्यसो त रुस र इरानले हालै मात्र रणनीतिक सम्झौता गरेका छन् । उता, चीनले पनि इरानसँग २५ वर्षे रणनीतिक सम्झौता गरेको छ । तैपनि रुसलाई अनुकूल हुने गरी युक्रेनसँग युद्धविराम गराउने अनि त्यसको बदलामा इरानविरुद्ध युद्ध थाल्दा रुसको समर्थन वा तटस्थता हासिल गर्ने ट्रम्पको सोच देखिन्छ ।

त्यसैले इरानलाई उत्तेजित पार्ने उद्देश्य लिएर ट्रम्पले यमनमा हूतीहरूमाथि आक्रमण गरिरहेका हुन् । आफ्नो पहिलो कार्यकालमा इरानसँगको आणविक सम्झौतालाई रद्द गरी इरानमाथि थप कठोर आर्थिक प्रतिबन्ध लगाएका ट्रम्पले अमेरिकाको शक्तिशाली हतियार उद्योगको पुरानो आकांक्षालाई पूरा गर्नका लागि इरानसँगको युद्ध थाल्ने संकेत दिइरहेका छन् । पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुशको पालामा इराकपछि इरानमाथि आक्रमण गर्ने खाका कोरिएको थियो, भलै त्यो साकार भएन । ट्रम्पले आफ्ना रिपब्लिकन पूर्वजको योजनालाई मूर्तरूप दिने कोशिश गरिरहेका छन् ।

इरानसँगको अमेरिकी युद्धको मार्गचित्र तयार भइसकेको संकेत पाइएको छ । गत सोमवार (मार्च १७) मा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता सीन पार्नेलले एकजना सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै इरानविरुद्ध सैन्य कारवाहीको सम्भावना रहेको बताए । ट्रम्पले ट्रुथ सोसलमा दिएको धम्की र पार्नेलको भनाइलाई विचार गर्ने हो भने ट्रम्प प्रशासनले इरानमाथि आक्रमण गर्ने बहाना खोजिरहेको देखिन्छ ।

अमेरिकीहरूको यो अर्घेल्याइँप्रति इरानले कठोर प्रतिक्रिया दिएको छ । इरानका विदेशमन्त्री अब्बास अराग्चीले इरानको विदेशनीतिका बारेमा निर्देशन दिने हैसियत ट्रम्पले नराख्ने बताएका छन् । हूतीहरूले इजरायलबाट गरिएको नरसंहार र आतंकवादको प्रतिक्रिया मात्र जनाएको उनको भनाइ छ । त्यस्तै इरानको सैन्यबल इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्सका प्रमुख होसेन सलामीले आफ्नो देशमाथिको कुनै पनि आक्रमणको विनाशकारी प्रतिक्रिया दिने स्पष्ट पारेका छन् ।

इरानविरुद्ध युद्ध गर्न अमेरिकालाई सहज छैन । एक त इरान आफैंमा सैन्य रूपमा सक्षम मुलुक हो । त्यसमाथि रुस र चीनसँग उसको रणनीतिक साझेदारी पनि छ । ब्रिक्सको महत्त्वपूर्ण सदस्य एवं पश्चिम एसियामा अमेरिकी उपस्थितिको सशक्त प्रतिरोध गरिरहेको इरानलाई चीन र रुसले अलपत्र पार्छन् जस्तो देखिँदैन ।

इरान, रुस र चीनका जलसेनाहरूले ओमानको खाडीमा हालै ६ दिने संयुक्त अभ्यास गरेकोबाट पनि उनीहरूबीचको रणनीतिक साझेदारीको संकेत पाइन्छ । यस विषयमा चीनको रक्षा मन्त्रालयले प्रकाशित गरेको रीडआउटमा यस अभ्यासले तीन देशबीच जलक्षेत्रीय सुरक्षा कायम गर्न, सैन्य विश्वास गहिरो बनाउन र एकअर्कामा व्यावहारिक सहकार्य मजबूत बनाउन सफलता पाएको उल्लेख छ ।

उता रुसले पनि पश्चिम एसियामा द्वन्द्व नचर्काउनका लागि अमेरिकीहरूलाई सुझाव दिएका छन् । हूतीहरूमाथि आक्रमण गर्नुअघि अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले रुसी समकक्षी सर्गे लाभरोभलाई फोनमार्फत जानकारी दिएका थिए । जवाफमा लाभरोभले तत्कालै सैन्य कारवाही रोक्न र थप रक्तपात हुन दिनका लागि राजनीतिक संवाद गर्न सल्लाह दिएका थिए । यसबाट इरानविरुद्ध सैन्य कारवाहीका विषयमा ट्रम्पले खोजे जस्तो समर्थन वा तटस्थता रुसबाट प्राप्त नहुने बलियो संकेत प्राप्त हुन्छ ।

इरानविरुद्धको युद्ध जित्न अमेरिका समर्थ त छैन नै, हूतीहरूका विरुद्ध पनि ऊ विजयी हुने सम्भावना छैन । आठ वर्षसम्म अमेरिकी साथसहयोगको बलमा साउदी अरबको नेतृत्वमा हूतीहरूका विरुद्ध गरिएको युद्धमा साउदीहरू विजेता बन्न सकेनन् । त्यो युद्ध तथा साउदीले लगाएको नाकाबन्दीका कारण विकराल मानवीय संटक बेहोरोको यमन अझै पनि त्यसको दुष्परिणामबाट मुक्त हुन सकेको छैन । अहिले इरानलाई युद्धका लागि भड्काउने कोशिशका रूपमा यमनी सर्वसाधारणमाथि आक्रमण गरेर अमेरिकाले उनीहरूलाई थप आक्रान्त बनाइरहेको छ । त्यसो त इजरायलले प्यालेस्टाइनीहरूलाई मानवीय सहसहयोग प्राप्त गर्नबाट वञ्चित गरिरहेकाले मात्र हूतीहरूले इजरायली जहाजलाई निशाना बनाइरहेका हुन्, उनीहरू युद्धको सोच राख्दैनन् ।

त्यसैले ट्रम्पले इरानलाई ठेगान लगाउनका लागि यमनीहरूमाथि आक्रमण गर्नु कायरताको पराकाष्ठा हो । शक्तिमार्फत शान्ति (पीस थ्रू स्ट्रेन्थ) को नारा दिएर युद्ध नभई शान्ति र कूटनीतिलाई प्राथमिकता दिने ट्रम्पको दाबी खोक्रो साबित भएको छ । ट्रम्पको यस कदमले विश्व व्यवस्थालाई थप अस्थिर बनाएको छ ।