डोमको घर भत्काएर महायज्ञ: सिराहाका सीडीओ मन्त्रालय तानिए

1.6k
Shares

काठमाडौं । सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ ।

सिराहाको प्रमुख जिल्ला अधिकारीमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्नेबारे विषयमा सत्य तथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिइसकेको उनको सचिवालयले जनाएको छ ।

सिराहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्नकै लागि घर भत्काएर उठीबास लगाएको घटनाको चौतर्फी आलोचना हुँदै आएको छ ।

महायज्ञ गर्न आएका बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष दिलिप यादवले डोजर लगाएर दिपक मरिक (डोम)को घर भत्काएर उठिबास गराएको भन्दै चर्को आलोचना भइरहेको छ ।

बुधबार पीडित दिपककी श्रीमती अनिता मरिकले आफूहरू बस्दै आएको घर भत्काएर अन्यत्र सर्न लगाइएको बताएकी थिइन् ।

दलितको घर भत्काएर माटो अशुद्ध भएको भन्दै डोजर लगाएर माटो हटाएको विषय बिहीबार संसदमा पनि प्रवेश गरेको थियो ।