
काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनाको अवधीमा नेपालमा दैनिक उपभोग्य वस्तुको आयात अत्यधिक परिमाणमा भएको छ ।
२०८० आर्थिक वर्षको फागुन महिनाको तुलनामा २०८१ को फागुन महिनामा दैनिक उपभोग्य वस्तुको अत्यधिक आयात भएको तथ्यांकले ३ वर्षदेखि सिथिल रहेको अर्थतन्त्रसँगै बजार पनि चलायमान हुँदै गएको देखाउँछ ।
गत वर्षको ८ महिनाको अवधीको तुलनामा यो वर्षको ८ महिनामा झण्डै ५ अर्ब रुपैयाँभन्दा बढीको विभिन्न प्रकारका मोवाइल फोन नेपालमा आयात भएको छ ।
चालु आर्थिक वर्षको ८ महिनामा मोबाइल २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँको १४ लाख ७ हजार थान आयात भएको छ । सबैभन्दा बढी चीन र भारतबाट आयात भएको छ ।
गत आर्थिक वर्षको यही अवधीमा भने १६ अर्ब ६० करोड रुपैयाँबराबरको १० लाख ९४ हजार ८ सय ८९ थान मोबाइल आयात भएको थियो ।
यस्तै विभिन्न उपभोग्य विद्युतीय सामग्री ७५ अर्ब १४ करोड ५६ लाख रुपैयाँबराबरको आयात भएको छ । गत आर्थिक वर्षको यही अवधीमा ६५ अर्ब ४६ करोड ६९ लाख रुपैयाँबराबरको आयात भएको थियो ।
गत वर्षको ८ महिनाको अवधीमा चालु आर्थिक वर्षको ८ महिनाको अवधीमा झण्डै १० अर्ब रुपैयाँले विद्युतीय सामग्रीको आयात हुनु भनेको यहि आधारमा बजारमा बिक्री पनि हुनु हो ।
यसैगरी चालु आर्थिक वर्षको ८ महिनाको अवधीमा ६२ अर्ब २७ करोड ७६ लाख रुपैयाँबराबरको विभिन्न प्रकारका सवारी साधन नेपालमा भित्रिएको छ ।
गत वर्षको फागुन महिनाको अवधीको तुलनामा चालु आर्थिक वर्षमा ३० अर्ब रुपैयाँभन्दा बढीको सवारी साधन नेपालमा आयात भएको छ । गत वर्षमा ३२ अर्ब ६५ करोड ९८ लाख रुपैयाँको सबैप्रकारका सवारी साधन आयात भएको थियो ।
यसैगरी चालु आर्थिक वर्षको ८ महिनामा १ अर्ब ४ करोड रुपैयाँको विभिन्न प्रकारका घडी नेपालमा आयात भएको छ। अघिल्लो वर्षको यही अवधीमा भने ८२ करोड २८ लाख रुपैयाँको आयात भएको थियो ।
गत वर्षको ८ महिनाको तुलनामा यो वर्षको यही अवधीमा कृषिजन्य वस्तुको आयात दर भने घटेको छ ।
चालु आर्थिक वर्षको ८ महिनाको अवधीमा नेपालले विभिन्न मुलुकबाट १ खर्ब ६२ अर्ब ५१ करोड ३४ लाख रुपैयाँबराबरको कृषिजन्य वस्तु मात्रै आयात भएको छ ।
गत वर्षको यहि अवधीमा १ खर्ब ९९ अर्ब ८२ करोड ५२ लाख रुपैयाँबराबरको विभिन्न प्रकारको कृषिजन्य वस्तु आयात भएको थियो ।
समग्रमा कृषिजन्य वस्तुको आयात दर घट्दा पनि खाद्यान्नको आयात दर भने बढेको पाइएको छ । यो वर्षको ८ महिनामा खाद्यान्न मात्रै ४२ अर्ब ९३ करोड रुपैयाँको आयात भएको छ । अघिल्लो वर्षको यहि अवधीमा भने ३९ अर्ब ९७ करोड रुपैयाँको आयात भएको थियो ।
यसैगरी तरकारी पनि चालु ८ महिनामा २८ अर्ब ६४ करोड रुपैयाँको आयात भएको छ । अघिल्लो वर्षको ८ महिनामा भने २२ अर्ब १८ करोड रुपैयाँको आयात भएको थियो ।
यसैगरी फुटवेयरतर्फ पनि गत वर्षको ८ महिनाको तुलनामा आयात हिस्सा बढेको पाइएको छ । गत वर्षको ८ महिनामा ५ अर्ब ५७ करोड रुपैयाँको आयात हुँदा चालु आर्थिक वर्षको यहि अवधीमा ६ अर्ब ५३ करोड रुपैयाँको विभिन्न प्रकारको फुटवेयर आयात भएको छ ।
यसैगरी ग्लास तथा ग्लासवेयर सामग्रीको आयात पनि बढेको छ । गत वर्षको ८ महिनामा ६ अर्ब २३ करोडको आयात हुँदा यो वर्षको यही अवधीमा ६ अर्ब ५९ करोड रुपैयाँको आयात भएको छ ।
चालु आर्थिक वर्षको ८ महिनामा विभिन्न प्रकारका इन्धनको आयात भने घटेको छ । भौतिक पूर्वाधार निर्माण क्षेत्रमा आएको सुस्तता र विद्युतीय सवारी साधनको आयात चापका कारण इन्धनको आयात हिस्सा गत वर्षको ८ महिनाको तुलनामा घट्दै गएको हो ।
यो वर्षको आठ महिनामा २ खर्ब ६ अर्ब ३७ करोड रुपैयाँको विभिन्न प्रकारको इन्धन आयात भएको छ । गत वर्षको ८ महिनाको अवधीमा भने २ खर्ब २७ अर्ब ९ करोड रुपैयाँको आयात भएको थियो ।
चालु आर्थिक वर्षको ८ महिनाको आयात हिस्सामा सबैभन्दा ठूलो हिस्सा इन्धनकै छ ।
नेपालका स्टिल रड उद्योगीहरुले बिजुलीको लोडसेडिङ्गका कारण उत्पादन क्षमता ६० प्रतिशत घटेको दावी गरिरहँदा रड उत्पादन हुने कच्चा पदार्थको आयात भने गत वर्षको ८ महिनाको तुलनामा चालु ८ महिनामा अत्यधिक बढेको छ ।
चालु आर्थिक वर्षको ८ महिनामा ९१ अर्ब ८२ करोड रुपैयाँको रड उत्पादन गर्ने कच्चा पदार्थ नेपालमा भित्रिएको छ । गत वर्षको आठ महिनामा भने यस्तो कच्चा पदार्थ ८६ अर्ब ९२ करोड रुपैयाँको आयात भएको थियो ।
समग्रमा चालु आर्थिक वर्षको ८ महिनाको अवधीमा १३ खर्ब ८ अर्ब रुपैयाँको विभिन्न वस्तु नेपालमा आयात भएको छ। गत आर्थिक वर्षको ८ महिनाको अवधीमा १० खर्ब ५८ अर्ब रुपैयाँको आयात भएको थियो ।
यस्तै चालु आर्थिक वर्षको ८ महिनामा १ खर्ब ४७ अर्ब ७४ करोडको नेपालबाट निर्यात हुँदा गत वर्षको ८ महिनामा १ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँको आयात भएको थियो ।
इलेक्ट्रोनिक आइटम तथा दुईपांग्रे सवारीसाधनका पाटपुर्जासमेत आयात गर्दै आएका व्यवसायी शेखर गोल्छाले पछिल्ला केही महिनामा अहिलेसम्मकै धेरै आयात गरेको बताएका छन् । खासगरी विद्युतीय सामाग्रीको आयात निकै बढी छ ।
‘आयात बढ्नुले अर्थतन्त्रमा मागसँगै उपभोग बढेको संकेत गर्दछ,’ गोल्छाले क्लिकमान्डुसँग भने- ‘ब्याजदर सस्तो हुँदा उपभोग बढेको छ । यसले अर्थतन्त्र चलायमान बनाउने प्रष्ट संकेत गर्छ ।’
कुन महिना कतिको आयात ?
२०७७ असारः १ खर्ब ५६ अर्ब रुपैयाँ
२०७७ साउनः १ खर्ब ५१ अर्ब रुपैयाँ
२०७७ भदौः १ खर्ब ६५ अर्ब रुपैयाँ
२०७७ असोजः १ खर्ब ६४ अर्ब रुपैयाँ
२०७७ कात्तिकः १ खर्ब ७२ अर्ब रुपैयाँ
२०७७ मंसिरः १ खर्ब ८८ अर्ब रुपैयाँ
२०७७ पुसः १ खर्ब ६१ अर्ब रुपैयाँ
२०७७ माघः १ खर्ब ४८ अर्ब रुपैयाँ
२०७७ फागुनः १ खर्ब ६१ अर्ब रुपैयाँ
२०७७ चैतः १ खर्ब ५८ अर्ब रुपैयाँ
२०७८ वैशाखः १ खर्ब ३८ अर्ब रुपैयाँ
२०७८ जेठः १ खर्ब ५९ अर्बरुपैयाँ
२०७८ असार १ खर्ब ५७ अर्ब रुपैयाँ
२०७८ साउनः १ खर्ब ३१ अर्ब रुपैयाँ
२०७८ भदौः १ अर्ब ४२ अर्ब रुपैयाँ
२०७८ असोजः १ खर्ब २७ अर्ब रुपैयाँ
२०७८ कात्तिक १ खर्ब ३२ अर्ब रुपैयाँ
२०७८ मंसिरः १ खर्ब ३२ अर्ब रुपैयाँ
.
.
२०८१ साउनः १ खर्ब २८ अर्ब रुपैयाँ
२०८१ भदौः १ खर्ब ३४ अर्ब रुपैयाँ
२०८१ असोजः १ खर्ब २८ अर्ब रुपैयाँ
२०८१ कात्तिकः १ अर्ब २३ अर्ब रुपैयाँ
२०८१ मंसिरः १ खर्ब ४८ अर्ब रुपैयाँ
२०८१ पुसः १ खर्ब ६१ अर्ब रुपैयाँ
२०८१ माघः १ खर्ब ६६ अर्ब रुपैयाँ
२०८१ फागुनः १ खर्ब ५७ अर्ब रुपैयाँ
प्रतिक्रिया