टोयोटाको हिनो मोटर्स उत्सर्जन ठगीमा दोषी ठहर, २ खर्ब २१ अर्ब जरिवाना

357
Shares

एजेन्सी । टोयोटाको सहायक कम्पनी हिनो मोटर्स अमेरिकी उत्सर्जन ठगीमा दोषी ठहर भएको छ । अदालतले हिनालाई १.६ अर्ब डलर (२ खर्ब २१ अर्ब नेपाली रुपैयाँ) जरिवानाको फैसला भएको छ ।

टोयोटाको सहायक कम्पनी हिनो मोटर्सले संयुक्त राज्य अमेरिकामा लामो समयसम्म गरिएको उत्सर्जन ठगी प्रकरणमा बुधबार दोषी स्वीकार गरेको छ । अमेरिकी न्याय विभागले यस प्रकरणमा कम्पनीले १.६ अर्ब डलर जरिवाना गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।

डेट्रोइटस्थित अमेरिकी जिल्ला अदालतका न्यायाधीश मार्क गोल्डस्मिथले हिनो मोटर्सलाई दोषी ठहर गर्दै ५२१.७६ मिलियन डलर जरिवाना तिर्न आदेश दिएका छन् । साथै, कम्पनीलाई पाँच वर्षको प्रोबेसनमा राखिएको छ । जसअन्तर्गत यस अवधिमा हिनोले अमेरिकामा आफैंले उत्पादन गरेका डिजेल इन्जिनहरू आयात गर्न पाउने छैन ।

त्यसैगरी, अदालतले हिनोविरुद्ध १.०८७ अर्ब डलरको सम्पत्ति जफत आदेश पनि जारी गरेको छ।

अमेरिकी वातावरणीय संरक्षण एजेन्सीका कार्यवाहक प्रवर्तन प्रमुख जेफ्री हलले भने, ‘जो कसैले नियतवश हाम्रा वातावरणीय कानुनहरूको उल्लङ्घन गर्छ, विशेष गरी डेटा नक्कली बनाएर नियम पूरा गरेजस्तो देखाउन खोज्छ, तिनीहरूलाई सजाय दिनुपर्छ र आपराधिक रूपमा जिम्मेवार ठहर गर्नुपर्छ।’

टोयोटाले यसबारे कुनै टिप्पणी गर्न अस्वीकार गर्‍यो भने हिनोले तुरुन्तै प्रतिक्रिया नदिएको रोयटर्सले जनाएको छ ।

२००३ देखि डाटा नक्कली

यसअघि हिनोले सन् २०१० देखि २०२२ सम्म अमेरिकामा बिक्री गरिएका १ लाख ५ हजारभन्दा बढी गाडीमा आवश्यकभन्दा बढी उत्सर्जन गरेको आरोपमा दोषी स्वीकार गरिसकेको थियो।

सन् २०२२ मा कम्पनीले गठन गरेको एक स्वतन्त्र समितिले हिनोले सन् २००३ देखि नै उत्सर्जन डाटामा छेडखानी गरेको निष्कर्ष निकालेको थियो।

ईपीएका अनुसार, कम्पनीलाई दिइएको सजायमा १ सय ५५ मिलियन डलरको प्रदूषण न्यूनीकरण कार्यक्रम (मिटिगेसन प्रोग्राम) पनि समावेश छ । जसअन्तर्गत समुद्री र रेल इन्जिनहरू प्रतिस्थापन गरिनेछ । त्यस्तै, १ सय ४४.२ मिलियन डलरको गाडी फिर्ता बोलाउने योजनासमेत छ । जसले २०१७-२०१९ मा निर्मित ठूला ट्रकहरूको इन्जिन सुधार गर्नेछ ।

हिनोले सन् २०१० देखि २०१९ सम्म इन्जिन प्रमाणिकरण स्वीकृतिका लागि गलत निवेदन पेश गरेको, उत्सर्जन परीक्षण नक्कली तरिकाले गरेको, परीक्षण नै नगरी डेटा बनाएको स्वीकार गरेको छ।

कम्पनीका अध्यक्ष सतोशी ओगिसोले जनवरीमा कम्पनीको आन्तरिक संस्कृति, अनुगमन र नियम पालना गर्ने प्रक्रिया सुधार गरिएको दाबी गरेका थिए ।

यसै सन्दर्भमा, हिनोले अमेरिकी कानुनी खर्च पूरा गर्न अक्टोबरमा सार्वजनिक गरिएको दोस्रो त्रैमासिक वित्तीय विवरणमा २३० अर्ब जापानी येन (करिब १.५४ अर्ब डलर) घाटा देखाएको थियो ।

गत दशकमा धेरै कार निर्माताले डिजेल उत्सर्जन सम्बन्धी ठगी गरेको स्वीकार गरिसकेका छन्। विशेष गरी सन् २०१५ मा फक्सवागनले उत्सर्जन परीक्षण छल्न ‘डिफिट डिभाइस’ र सफ्टवेयर प्रयोग गरेको स्वीकार गरेपछि कम्पनीलाई २० अर्ब डलरभन्दा बढी जरिवाना, क्षतिपूर्ति तथा कानुनी शुल्क तिर्नुपरेको थियो ।

Skip This