
एजेन्सी । टेक कम्पनी एप्पलले गएको जुन महिनामा आफ्नो सुधारिएको सिरी सार्वजनिक गर्दा कम्पनीले यसलाई १३ वर्ष पुरानो डिजिटल सहायकका लागि ‘नयाँ युगको सुरुवात’ भनेको थियो । त्यसबेला, कम्पनीले सिरी कसरी प्रयोगकर्ताको इमेल, सन्देश र रियल-टाइम जानकारीलाई क्रस-रेफरेन्स गरेर जटिल प्रश्नहरूको उत्तर दिन सक्षम हुने देखाएको थियो । जस्तै ‘मेरो आमाको फ्लाइट कहिले अवतरण हुँदैछ ?’ त्यसपछि ‘हाम्रो लन्चको योजना के हो?’ प्रश्नको उत्तर दिन सक्षम देखाएको थियो ।
तर त्यो दृष्टिकोण अपेक्षाभन्दा टाढा देखिएको छ।
एप्पलले मार्च ७ मा घोषणा आगामी सिरी अपग्रेडले सिरीलाई प्रयोगकर्ताको आइफोन डाटाको आधारमा थप व्यक्तिगत जवाफ दिन र एपहरूभित्रै कार्यहरू गर्न सक्ने बनाउने बताएको थियो । तर त्यो पछाडि धकेलिएको छ । यस ढिलाइले एआई दौडमा एप्पल पछि पर्ने चिन्ता बढाएको छ । कम्पनीको सिरी विभागभित्र पनि चिन्ता उत्पन्न गराएको छ। ब्लूमबर्गको रिपोर्ट अनुसार यस परियोजनाको प्रमुख कार्यकारीले यो ढिलाइलाई ‘कुरूप’ र ‘लाजमर्दो’ भनेका छन् ।
एआईलाई इन्टरनेटको अर्को ठूलो विकास मानिएको छ जसले भविष्यमा मानिसहरू कसरी काम गर्छन् सञ्चार गर्छन् र जानकारी प्राप्त गर्छन् भन्ने तरिका परिवर्तन गर्न सक्छ । एप्पलले सन् २००७ मा आइफोन ल्याएर मोबाइल युगलाई परिभाषित गर्यो जसले आजको सबैभन्दा महत्त्वपूर्ण कम्प्युटिङ उपकरणको जग हालेको थियो ।
अब, सबैको ध्यान एप्पलले एआईमा पनि यस्तै क्रान्तिकारी भूमिका खेल्नेछ कि भनेर केन्द्रित छ । तर प्रतिस्पर्धी कम्पनीहरूले नयाँ मोडेल, चिप्स र एआई-सम्बन्धी सुविधाहरू छिटो छिटो ल्याइरहेका छन् जसले एप्पललाई थप दबाब दिएको छ ।

एप्पलको चुनौती
एआई प्रतिस्पर्धामा ढिलो हुनुलाई एप्पलको एक मात्र समस्या मान्न सकिन्न । अरू धेरै प्रविधि कम्पनीहरू जस्तै एप्पल पनि चीनबाट आयात गरिने उत्पादनहरूमा लाग्न सक्ने भन्सार शुल्कको सम्भावित खतरासँग जुधिरहेको छ । एप्पलका आइफोन उत्पादन आपूर्ति श्रृंखलाका महत्त्वपूर्ण भागहरू चीनमै अवस्थित छन् । त्यसैगरी एप्पलको चीनमा बिक्री गत वर्षको तुलनामा ११ प्रतिशतले घटेको छ जसको बारेमा सीईओ टिम कुकले जनवरीमा भएका आम्दानी विवरणमा उल्लेख गरेका थिए ।
ग्लोबल आइफोन आम्दानीले एप्पलको ३ ट्रिलियन डलरभन्दा बढी बजार मूल्यलाई समर्थन गर्छ जुन वाल स्ट्रिटको अपेक्षाभन्दा कमजोर देखिएको छ । यद्यपि, समग्र रूपमा कम्पनीको आम्दानी भने ४ प्रतिशतले बढेको थियो । मार्च १९ सम्म एप्पलको सेयर मूल्य वर्षको सुरुदेखि करिब १२ प्रतिशतले घटिसकेको छ ।
तर, सबै कुरा निराशाजनक भने छैन । एप्पलसँग विशाल प्रयोगकर्ता आधार छ र आइफोनको सर्वव्यापकताले यसलाई चुनौतीहरू सामना गर्न मद्दत गर्ने विशेषज्ञहरू बताउँछन् ।
‘यदि कठिन समय आयो भने एप्पल राम्रो स्थितिमा हुनेछ किनभने यसको मुख्य व्यापार स्मार्टफोन हो,’ रोसेनब्लाट सेक्युरिटीजका वरिष्ठ विश्लेषक बार्टन क्रोकेट भन्छन्, ‘स्मार्टफोन अब उपभोक्ताका लागि अत्यावश्यक वस्तु बन्न पुगेको छ ।’

एआई प्रतिस्पर्धामा ‘हचुवामा’ चलिरहेको छ एप्पल ?
एप्पल इन्टेलिजेन्सले आइफोन, म्याक र आइप्याडमा एआई सुविधाहरू ल्याउनेछ । एआई दौडमा ढिलो भइरहेको भन्ने चिन्ता पहिल्यैदेखि उठ्दै आएको छ । एप्पलले पहिलो चरणका एआई सुविधाहरू गत अक्टोबरमा मात्र ल्याएको हो जुन सेप्टेम्बरमा भएको आइफोन १६ को लन्च पछि आएको थियो । यसभन्दा अघि गुगल र सामसुङले आफ्ना स्मार्टफोनमा एआई उपकरणहरू समावेश गरिसकेका थिए ।
२०२४ को अन्त्यसम्ममा एप्पल इन्टेलिजेन्सका धेरै सुविधाहरू जस्तै अनुकूल इमोजी बनाउने वा सिरीमार्फत च्याटजीपीटी प्रयोग गर्ने जस्ता सुविधा उपलब्ध भए । तर सिरीको पूर्णरूपमा सुधारिएको संस्करण भने ठूलो परिवर्तन ल्याउने योजना बनाइएको थियो । भविष्यमा प्रयोगकर्ताले फरक फरक एप खोल्न नपरीकनै सिरीलाई सोधेर दुई महिनाअघि आएको रेसिपी पत्ता लगाउन वा फोटो सम्पादन गर्न सक्नेछन् ।
एप्पलले गत जुनमा यी उन्नत सिरी सुविधाहरू आगामी वर्षभरि क्रमशः सार्वजनिक गरिने घोषणा गरेको थियो । अर्थात्, यो जुनसम्ममा ती सुविधा आइपुग्ने अपेक्षा गरिएको थियो। प्रारम्भिक योजना अनुसार, एप्रिलको सफ्टवेयर अपडेटमा यो सुविधा उपलब्ध हुने भनिएको थियो ।
तर, एप्पलका प्रवक्ता ज्याकलिन रोयले भनेकी छन्, ‘हामीले सोचेभन्दा लामो समय लाग्ने देखिएको छ र कम्पनीले यी सुविधाहरू आउँदो वर्षभरि क्रमशः सार्वजनिक गर्ने अपेक्षा गरेको छ ।’
यसैबीच, एप्पलका प्रतिस्पर्धीहरूले आफ्ना एआई सहायकहरूलाई अझ व्यक्तिगत बनाउन अघि बढिरहेका छन् । गुगलले हालै जेमिनीलाई प्रयोगकर्ताको खोजी इतिहासको आधारमा उत्तर अनुकूलन गर्ने सुविधा थपेको छ । अमेजनले फेब्रुअरीमा एलेक्सा+ नामक संस्करण ल्याएको छ जसले प्रयोगकर्ताको रुचि (जस्तै मनपर्ने रेस्टुरेन्ट वा संगीत कलाकार) याद राखेर उत्तर दिन्छ ।
‘एप्पल यहाँ सान्दर्भिक रहनुपर्छ,’ क्रिएटिभ स्ट्र्याटेजिजका प्रमुख विश्लेषक बेन बजारिन भन्छन्, ‘उनीहरूले हालसम्म धेरै देखाउन नसकेको तथ्यले नै मानिसहरूलाई चिन्तित बनाएको छ ।’
एप्पलको भविष्य: आइफोनभन्दा पर
आइफोन अहिले कतै जानेवाला छैन तर वाल स्ट्रिट सधैं ‘अबको नयाँ प्रविधि के हो ?’ भन्ने खोजीमा हुन्छ । स्मार्टफोनहरू अब पहिलेको जस्तो रोमाञ्चक नभएर सामान्य उपभोक्ता वस्तु बन्न पुगेका छन् । उपभोक्ताहरू नयाँ प्रविधि हेरेर होइन, आवश्यक परे मात्र फोन अपग्रेड गर्छन् । त्यसैले, एप्पलको आइफोन व्यापार सधैं बलियो रहिरहने ग्यारेन्टी छैन ।
हालसम्म एप्पलले एआई क्षेत्रमा अग्रणी बन्नसक्ने कुरा प्रमाणित गर्न सकेको छैन । र, जबसम्म नयाँ सिरी बजारमा आउँदैन तबसम्म यसको उत्तर स्पष्ट हुने छैन ।
तर केही विश्लेषकहरू एप्पलको भविष्य उज्ज्वल देख्छन् । वेडबुश सेक्युरिटीजका ड्यान आइभ्सले आफ्नो अनुसन्धान रिपोर्टमा लेखेका छन्, ‘एप्पलले २०२५ मा नयाँ उच्च स्तरहरू कायम गर्नेछ ।’ टिम कुकले पनि कम्पनीको पछिल्लो आम्दानी विवरणमा जहाँ एप्पल इन्टेलिजेन्स उपलब्ध छ त्यहाँ आइफोन बिक्री मजबुत रहेको उल्लेख गरेका थिए ।
सिरीको ढिलाइका लागि केही ठोस कारणहरू पनि हुन सक्छन् । यदि नयाँ संस्करणले राम्रोसँग काम नगरेको भए समयमै सुधार गरेर ल्याउनु राम्रो हुन् छ। गुगलको एआई ओभरभ्यु फिचरले पिज्जाको चीज झर्न नदिन ग्लू लगाउन सुझाएको जस्तो हास्यास्पद गल्तीहरू एप्पलले गर्न चाहँदैन ।
एप्पलले यस वर्ष नयाँ पातलो आइफोन ल्याउने योजना बनाएको बताइन्छ । यदि सही ढंगले ल्याउन सके यसले बजारमा फेरि चासो बढाउनेछ ।
सीएनएनबाट
प्रतिक्रिया