उड्नासाथ समुद्रमा खस्यो विमान: १३ जनाको मृत्यु, गरिफुना संगीतकार पनि परे


एजेन्सी । मध्य अमेरिकी देश होन्डुरासको तट नजिकै एक सानो व्यापारिक विमान दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । जसमा एक चर्चित गरिफुना संगीतकार समेत थिए ।

लान्सा एयरलाइन्सको उक्त विमान सोमबार राति रोआटान टापुबाट मुख्य भूमि शहर ला सेइबातर्फ उडेको केही समयमै समुद्रमा खसेको थियो ।

विमानमा १७ जना यात्रु र चालक दलका सदस्यहरू थिए । जसमध्ये ५ जनालाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ ।

प्रहरीका अनुसार विमानले पूर्ण उचाइ लिन नसक्दा समुद्रमा ठोक्किएपछि डुबेको थियो ।

स्थानीय माछावालाहरूले जीवित बचेका व्यक्तिहरूलाई उद्धार गरेका थिए ।

होन्डुरासको नागरिक उड्डयन निकायले दुर्घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

मृतकहरूमध्ये अरेलियो मार्टिनेज स्वाजो पनि थिए । जो पूर्व सांसद तथा गरिफुना जातिका सदस्य थिए । गरिफुना समुदाय अफ्रिकी र आदिवासी मिश्रित वंश हो ।

मार्टिनेज स्वाजोसँग अमेरिकी नागरिकता पनि थियो । उनका प्रतिनिधि फ्रान्सकी नागरिक हेलेन ओडिल गुइभार्च दुर्घटनामा बाँच्न सफल भएकी छन् ।

मार्टिनेज स्वाजो मूलतः होन्डुरासको क्यारिबियन तटको ग्रासियास अ डिओस क्षेत्रका निवासी थिए ।

‘हामी निकै दुःखी छौँ,’ उनका भतिजा एञ्जल अपारिसियो फर्नान्डेज मार्टिनेजले मंगलबार भने । उनी पनि संगीतकार हुन् र आफ्ना काकासँग मिलेर संगीतको काम गर्थे । ‘उहाँ हाम्रो परिवारका आधार स्तम्भ हुनुहुन्थ्यो,’ उनले भने ।

मार्टिनेज स्वाजो प्रारम्भमा ‘लोस गाटोस ब्राभोस’ समूहका सदस्य थिए । त्यसपछि उनले आफ्नै समूह ‘लिटा अरिरान’ गठन गरेका थिए । उनको पहिलो एल्बम ‘गरिफुना सोल’ ले उनलाई युरोप अमेरिका र विश्वका विभिन्न स्थानमा पुर्‍याएको थियो।

अफ्रो-वंशजहरूको सुला उपत्यका संघका अध्यक्ष हम्बर्टो कास्टिलोले मार्टिनेज स्वाजोलाई ‘गरिफुना संस्कृतिको राजदूत’ को रूपमा व्याख्या गरे । उनले गरिफुना र मिस्किटो भाषा बोल्न सक्थे र दुवै भाषामा संगीत सिर्जना गरेका थिए । मृतकहरूको शव रोआटानबाट सं पेद्रो सुलाको शवगृहमा लगिएको छ।