कैदीहरूलाई जेलमा राख्न अमेरिकाले एल साल्भाडोरलाई साढे ८३ करोड तिर्ने

4.5k
Shares

एजेन्सी । आइतबार संयुक्त राज्य अमेरिकाले सयौं भेनेजुएली आपराधिक समूहका सदस्यहरूलाई एल साल्भाडोरको एक कारागारमा डिपोर्ट गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले न्यायालयको आदेश रोक्ने प्रयास गर्दै युद्धकालीन अधिकार प्रयोग गरेर ती आप्रवासीहरूलाई छिटो निष्कासन गरेको हो ।

यो कदमले ह्वाइट हाउस र न्यायालयबीच अर्को ठूलो टकराव ल्याएको सीएनएनले जनाएको छ । शनिबार बेलुका संघीय न्यायाधीश जेम्स बोसबर्गले प्रशासनलाई एलिएन एनिमिज एक्ट प्रयोग गर्न अस्थायी रूपमा रोक लगाएका थिए । उनले आदेश दिएअनुसार उडिरहेका विमानहरूलाई फर्कन भनिएको थियो ।

न्यायाधीश बोसबर्गले १४ दिनका लागि आदेश लागू हुने बताए । आदेश दिने क्रममा उनले भने, ‘विमान उडिसकेका छन् भन्ने जानकारी पाएपछि म कुर्न सक्दिन । जुनसुकै विमान उडिसकेको छ वा उड्न लागेको छ, त्यसलाई फर्काउनु पर्छ।’

तर आइतबार राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले सही कदम चालेको दाबी गरे । उनले भने, ‘यी नराम्रा मानिसहरू थिए । यो नराम्रो समूह थियो ।’ उनले यो समय ‘युद्ध’ को रहेको र आप्रवासीहरूलाई ‘आक्रमणकारीहरू’ को संज्ञा दिए ।

उनले न्यायाधीशको आदेश उल्लंघन गरे वा गरेनन् भन्ने प्रश्नमा ट्रम्पले भने, ‘त्यो कुरामा वकिलहरूसँग कुरा गर्नुहोस् ।’

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लिभिटले प्रशासनले कुनै आदेश उल्लंघन नगरेको दाबी गरिन् ।

‘न्यायाधीशको आदेश त्यतिबेला आएको थियो जब ती मानिसहरू अमेरिकी भूमिबाट बाहिरिसकेका थिए,’ उनले थपिन्, ‘एउटा न्यायाधीशले अमेरिकी भूमिबाट निष्कासित गरिसकेका विदेशी आतङ्ककारीहरूलाई फर्कन आदेश दिन सक्दैन ।’

यसैबीच, अमेरिकी गृहमन्त्रालयले ३०० जना भेनेजुएली आपराधिक समूह ट्रेन डे अराग्वाका सदस्यहरूलाई पक्राउ गरेको बताएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेललाई ती अपराधीहरूलाई कारागारमा राख्न सहमति जनाएबापत धन्यवाद दिए ।

रुबियोका अनुसार, बुकेलले एमएस-१३ समूहका दुई प्रमुख सदस्यसहित २१ जना साल्भाडोरियन अपराधीहरूलाई पनि फिर्ता गर्न अनुरोध गरेका छन् ।

राष्ट्रपति बुकेलले एक्समा पोस्ट गर्दै भने, ‘भेनेजुएली अपराधीहरू एल साल्भाडोर आइपुगेका छन् र अब हाम्रो आतंकवाद नियन्त्रण केन्द्रमा एक वर्षका लागि राखिनेछन् ।’

उनले पक्राउ परेका मानिसहरूलाई कारागार लगिएको भिडियो पनि सेयर गरेका छन् ।

ट्रम्पले केही घण्टापछि आफ्नो ट्रुथ सोसलमा बुकेललाई धन्यवाद दिएका थिए ।

सीएनएनको अनुसार, ट्रम्पका सहयोगी एरिक प्रिन्सले ट्रम्पको जित भएमा एल साल्भाडोरले अमेरिकी आप्रवासीहरूलाई राख्ने सम्भावित सम्झौताबारे बुकेलसँग अघिल्लो वर्षदेखि छलफल गरिरहेका थिए ।

अमेरिकाले ती कैदीहरूलाई राख्न एल साल्भाडोरलाई ६ मिलियन डलर (करिब ८३ करोड ५६ लाख नेपाली रुपैयाँ) दिनेछ । बुकेलका अनुसार यो रकम साल्भाडोरको कारागार प्रणालीलाई चलाउन मद्दत गर्नेछ ।

बुकेलले शनिबार न्यायाधीशको आदेशमा टिप्पणी गर्दै एक्समा लेखे, ‘ओप्सी… ढिला भइसक्यो ।’

सुरूमा, न्यायाधीश बोसबर्गले पाँच जना व्यक्तिलाई डिपोर्ट हुन रोक लगाएका थिए । पछि, उनले आदेशलाई सबै गैर-नागरिकहरूसम्म विस्तार गरे ।

न्यायाधीशको आदेश आएपछि ट्रम्प प्रशासनले उडिरहेका विमानहरूलाई फर्काउने आदेश दिएन । सीएनएनका अनुसार आदेश आउँदा विमानहरू आकाशमा धेरै समय बिताइसकेका थिएनन् ।

कानुनी विज्ञ एलि होनिकले भने, ‘मुद्दा विमान अमेरिकी हवाई क्षेत्रमा थियो कि थिएन भन्ने हो। यदि विमान अमेरिकाको बाहिर पुगेका थिए भने, प्रशासनले आदेश नमान्न सक्ने ठाउँ पाउँछ।’

संघीय अधिकारीहरूले पहिलो आदेश आउनुअघि केही आप्रवासीहरू डिपोर्ट भइसकेका दाबी गरे ।

युनिभर्सिटी अफ रिचमण्डका प्राध्यापक कार्ल टोबियासले ट्रम्प प्रशासनले आदेश उल्लङ्घन गरेको प्रमाणित भएमा न्यायाधीशले अझ कडा आदेश जारी गर्न सक्ने दाबी गरे । यदि प्रशासनले फेरि आदेश नमानेमा अधिकारीहरूलाई नागरिक वा आपराधिक अवज्ञामा कारबाही हुन सक्ने उनको भनाइ छ ।

रिपब्लिकन सिनेटर माइक राउन्ड्सले भने, ‘अधिकांश अमेरिकीहरू भन्नेछन्, ‘कानुन जतिसुकै पुरानो भए पनि, यदि यसले अपराधीहरूलाई बाहिर निकाल्छ भने ठीक छ ।’
डेमोक्र्याट नेताहरूले गैरकानुनी आप्रवासनको विरोध गर्ने तर ट्रम्प प्रशासनको बाटोमा जान नसक्ने उल्लेख गरे ।

एल साल्भाडोरको कुख्यात जेल

सीईसीओट जेल अमेरिकामा सबैभन्दा ठूलो हो । जसमा ४० हजार कैदी राख्ने क्षमता छ। यो जेल साल्भाडोरको कडा अपराध नियन्त्रण नीति अन्तर्गत परिचित छ ।

तर मानव अधिकार संस्थाहरूले जेलको अवस्था ‘अमानवीय’ भएको आरोप लगाएका छन्।

सीएनएनका अनुसार कैदीहरूलाई ८० जनासम्मको भिडमा सुत्न बाध्य पारिएको छ। तिनीहरूले फलामको ओछ्यानमा कुनै डस्ना सिरक वा तकिया बिना नै सुत्नुपर् छ। कैदीहरू दिनभरि कोठाभित्र कैद रहन्छन्, बाहिर निस्कन पाउने समय मात्र ३० मिनेट हुन्छ ।

राष्ट्रपति बुकेलले भने, ‘यो कडा नीति आवश्यक छ । केही निर्दोष व्यक्तिहरू पनि पक्राउ परेका होलान्, तर तिनीहरूलाई छोडिनेछ ।’

साल्भाडोरियन सरकारले यो नीति देशलाई ‘विश्वकै अपराध राजधानीबाट’ सुरक्षित राष्ट्र बनाउने उद्देश्यले अपनाएको बताएको छ ।