बिक्री घटेपछि मस्कको व्यापार बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पले किने टेस्ला

सेयर मूल्य ५० प्रतिशतभन्दा बढीले गिरावट

2.5k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार दिउँसो ह्वाइट हाउसबाहिर एउटा कारमा चढे । तर यो सामान्यत:प्रयोग गरिने उच्च सुरक्षा भएको राष्ट्रपति लिमोजिन ‘द बिस्ट’ भने थिएन ।

दक्षिण लेनको ड्राइभवेमा लाइनमा रहने ठूला कालो एसयूभीहरूको राष्ट्रपति मोटरकेडको सट्टा यसपटक ट्रम्पलाई हेर्न पाँचवटा टेस्ला कारहरू राखिएको थियो ।

ट्रम्पले सोमबार राति आफ्ना सल्लाहकार तथा अर्बपति एलन मस्कलाई समर्थन गर्न टेस्ला किन्ने घोषणा गरेका थिए । मस्क टेस्ला कम्पनीका सीईओ हुन् ।

‘यो त धेरै सुन्दर छ,’ ट्रम्पले मंगलबार रातो मोडेल एसको अगाडिको सिटमा बस्दै भने ।

राष्ट्रपतिले कुनै निजी कम्पनीलाई यसरी खुलेर समर्थन गर्नु असामान्य कुरा हो र यो नैतिक नियमको उल्लंघन हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ह्वाइट हाउसले यो कदम नैतिक नियमअनुसार छ कि छैन भन्ने बारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

ट्रम्पको यो निर्णय मस्कको भूमिकासँग जोडिएको अर्को उदाहरण हो । मस्क सरकारी काममा प्रशासन सुधार्ने प्रयासको नेतृत्व गर्दैछन् । साथै उनी टेस्ला, स्पेसएक्स र एक्स (पूर्वमा ट्विटर) का मालिक पनि हुन् । उनका कम्पनीहरूले सरकारबाट अर्बौं डलरको ठेक्का पाइरहेका छन् । जबकि प्रशासनले विभिन्न क्षेत्रहरूमा खर्च कटौती गरिरहेको छ ।

पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुशका कानूनी सल्लाहकार रिचार्ड पेन्टरका अनुसार यो कदमले संघीय नियमहरू उल्लङ्घन गरेको देखिन्छ । जसले सार्वजनिक पदलाई निजी फाइदाका लागि प्रयोग गर्न रोक्छ । यद्यपि, ती नियम राष्ट्रपति स्वयंलाई लागू हुँदैनन्।

‘यसले यस्तो देखाउँछ कि सरकारले मनपर्ने कम्पनीलाई अघि बढाइरहेको छ,’ पेन्टरले भने, ‘यो सरकारको तर्फबाट ‘टेस्ला विजेता हो’ भन्ने सन्देशजस्तै लाग्छ ।’

बाइडेन सरकारले विद्युतीय गाडीहरूलाई दिने अनुदान हटाएपछि ट्रम्पले कारको पैसा चेकमार्फत तिर्नेछन् र ह्वाइट हाउसका कर्मचारीहरूले प्रयोग गर्नका लागि राख्नेछन् ।

हाल टेस्लाको बिक्री निकै घटेको छ । अमेरिकामात्र होइन युरोप, चीन र अस्ट्रेलियामा पनि यसको बिक्री घटिरहेको छ । केही स्थानमा टेस्ला कार र चार्जिङ स्टेसनमाथि आक्रमण र बिरोधसमेत भएको छ ।

‘मलाई लाग्छ, उनी (मस्क) केही व्यक्तिहरूबाट अनुचित व्यवहारको शिकार भएका छन् । म चाहन्छु, मानिसहरूले बुझून् कि उनलाई देशभक्त भएको सजाय दिनु हुँदैन । उनी एक महान् देशभक्त हुन्, साथै उनले टेस्लामा अविश्वसनीय काम गरेका छन्,’ ट्रम्पले मस्कको बारेमा भने ।

टेस्लाको बिक्री सुधार गर्न कार किन्ने निर्णय सहयोगी हुन्छ कि हुँदैन भनेर सोध्दा ट्रम्पले भने, ‘म आशा गर्छु कि यसले मद्दत गर्छ।’

टेस्लाको सेयर ५० प्रतिशतभन्दा बढीले घट्यो

डिसेम्बर २०२४ देखि हालसम्म टेस्लाको सेयर मूल्य ५० प्रतिशतभन्दा बढीले गिरावट आएको छ । जसले लगानीकर्ताहरू र विश्लेषकहरूलाई अचम्ममा पारेको छ ।

२०२४ को मध्य डिसेम्बरमा टेस्लाको सेयर मूल्य लगभग ४८० डलर थियो तर २०२५ को सुरुवातमा झरेर करिब २२० डलर पुगेको छ । यस गिरावटले टेस्लाको बजार मूल्यबाट ८०० अर्ब डलरभन्दा बढीको क्षति पुर्‍याएको छ । यो कम्पनीको इतिहासमै सबैभन्दा ठूलो गिरावट मध्ये एक हो । एलन मस्कको व्यक्तिगत सम्पत्ति पनि यस प्रभावबाट अछुतो रहेन, उनको कुल सम्पत्ति १०० अर्ब डलरभन्दा बढीले घटेको छ ।

टेस्लाको सेयर मूल्य डिसेम्बरको उच्च विन्दुबाट घट्न सुरु गर्‍यो र २०२५ को सुरुवातमा लगातार सात हप्ता गिरावट आयो । मार्च १० मा मात्र टेस्लाको सेयर १५ प्रतिशतले झर्‍यो, जुन २०२० यता टेस्लाका लागि सबैभन्दा खराब एकदिने गिरावट थियो । फोर्ब्सका अनुसार, एक प्रमुख लगानी बैंकले टेस्लाको डेलिभरी पूर्वानुमान घटाएपछि र बजारमा बढ्दो अस्थिरताको कारण लगानीकर्ताहरू डराएपछि यस्तो गिरावट आएको हो ।

टेस्लाले गुमाएको ८०० अर्ब डलर बजार मूल्य लगभग पोल्याण्डको कुल गार्हस्थ्य उत्पादन बराबर हो । स्काइ न्यूजका इयान किङका अनुसार यो हालसम्मकै सबैभन्दा खराब प्रदर्शन गर्ने प्रमुख प्रविधि कम्पनीहरूमध्ये एक बनेको छ ।

कम्पनीले सन् २०२४ मा १७.९ लाख सवारीसाधनहरू डेलिभर गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा कम हो । यस गिरावटको कारणहरूमा उत्पादनमा कमी, डेलिभरीमा कमी, र वृद्ध हुँदै गएको प्रतिस्पर्धा समावेश छन् । विशेष गरी चीनमा टेस्लाको बिक्रीमा ४९% गिरावट आएको छ।