चीनबाट ६ महिनामै अर्बौंको लसुन आयो: भारत तस्करी भएपछि आयातमा रोक

एककिलो लसुन भारत पुर्‍याउँदा २५० रुपैयाँ नाफा


विराटनगर । नेपाली व्यवसायीले चीनबाट आयात गरेको लसुन तस्करीमार्फत भारत पुगेको चर्चाका बीच कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आयातित लसुनको पीआरए (पेस्ट रिक्स एनालाइसिस) गर्ने भन्दै आयातमा तत्कालका लागि रोक लगाएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सचिव स्तरीय निर्णय गर्दै दुई सातादेखि चीनबाट आयात हुने लसुनलाई प्लान्ट क्वारेन्टनटाइनले नाकाबाट भित्रिन स्वीकृती नदिएसँगै विराटनगर र काँकरभिट्टा नाकाबाट लसुन भित्रिएको छैन ।

मन्त्रालयको निर्णयसँगै चीनबाट लसुन आयातका लागि आयातकर्ताले नयाँ प्रतितपत्र (एलसी) खोल्ने काम रोकिएको छ । छिटपुट रुपमा पुरानो इन्ट्री अनुमति लिएर आयात भएर बाटैमा रोकिएको लसुन मात्र पूर्वका प्रमुख नाका विराटनगर र काँकडभिट्टाबाट भित्रिएको सम्बद्ध भन्सार कार्यालयले जनाएका छन् ।

पाँच दिन पहिला पुरानो इन्ट्री परमिट भएको एक गाडी लसुन आएको छ । काँकडभिट्टा भन्सार प्रमुख राजेन्द्र चुँडालले नयाँ इन्ट्री परमिट लिएर चीनबाट लसुन आयात नभएको जानकारी दिए ।

‘मन्त्रालयको निर्णयपछि नयाँ इन्ट्री परमिट लिएर चीनबाट लसुन आयात भएको छैन,’ उनले क्लिकमान्डुसँग भने, ‘पुरानै इन्ट्री परमिट लिएर आयत गरिँदा बाटैमा रोकिएका लसुन बोकेका गाडीमात्र छटपुट भन्सार आउने गरेका छन् ।’

मन्त्रालयको निर्णयमा पहिला इन्ट्री परमिट लिइसकेकालाई मात्र भित्रिन दिने र नयाँ इन्ट्री परमिट लिनेलाई प्लान्ट क्वारेन्टटाइनले स्वीकृती नदिने निर्णय भएको चुँडालले बताए ।

ढुवानी भाडासहित चीनबाट लसुन प्रतिकिलो नेपाली १८० देखि १९० रुपैयाँमा भित्रिँदै आएको थियो । त्यही लसुन तस्करीमार्फत भारत पुग्दा प्रतिकिलो भारु ४ सय रुपैयाँ सम्ममा बिक्री भइरहेको पाइएको छ ।

पूर्वी तराईका नाकाबाट पछिल्लो समय लसुनको तस्करी भइरहेको स्रोतको भनाइ छ ।

चालु आर्थिक वर्षको ६ महिनामा चीनबाट ६ अर्ब १८ करोड ३९ लाख २९ हजार मूल्य बराबरको ४ करोड ६९ लाख ३९ हजार किलो लसुन आयात भएको भन्सार विभागको तथ्यांक छ ।

त्यसैगरी विराटनगर नाकाबाट गतवर्ष १३ करोड १४ लाख ५ हजार ३३८ रुपैयाँ मूल्यको ८ लाख ६५ हजार ९ सय केजी चिनियाँ लसुन अयात हुँदा चालु वर्षको ६ महिनामा ३५ करोड २४ लाख २३ हजार ९६८ रुपैयाँको २४ लाख ५० हजार ९५० किलो लसुन आयात भएको छ ।

पछिल्लो दुई सातादेखि यो नाकाबाट चिनियाँ लसुन भित्रिएको छैन ।

विराटनगर भन्सारको तथ्यांकमा यो नाकाबाट लसुनको एक पोटी पनि भारततर्फ निकासी भएको छैन ।

विराटनगरस्थित प्लान्ट क्वारेन्टाइन कार्यालयले चीनबाट आएको २९ मेट्रिक टन लसुन दुई साता पहिला नाकामा रोकेको थियो । गोयल इन्टरनेशनल विराटनगरले आयत गरेको ३७ लाख ८५ हजार १ सय ३० रुपैयाँ बराबरको उक्त लसुन क्वारेन्टाइनले इन्ट्री गरी भित्रिन स्वीकृति नदिँदा भन्सार जाँचपास हुन रोकिएको थियो । पछि त्यो लसुन पुरानो इन्ट्री परमिटका आधारमा प्लान्ट क्वारेन्टाइनले अनुमति दिँदा भन्सार जाँचपास भएको थियो ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन कार्यालय विराटनगरका प्रमुख नन्दकिशोर सिंहले चालु वर्ष चीनबाट अत्याधिक मात्रामा लसुन आयात भएको उल्लेख गर्दै आयातित लसुन भारततर्फ तस्करी भइरहेको भारतीय सञ्चार माध्यमले प्रचार गरिरहेका बेला कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सचिव स्तरीय निर्णयबाट लसुन आयात गर्दा परीक्षणको प्रमाणपत्र नदिनु भन्ने आदेश आएपछि बन्द गरिएको जानकारी दिए ।

लसुनको पीआरए (पेस्ट रिक्स एनालाइसिस) गर्ने भन्दै तत्काललाई लसुन आयातमा अनुमति नदिने निर्णय भएको मौखिक जानकारी आएको उनको भनाइ छ । लसुनमार्फत भित्रने किराहरु कतिको हानिकारक छन् र त्यसले नेपालभित्र दीर्घकालीन कस्तो असर पुर्‍याउँछ भन्ने अध्ययन पछिमात्र आयातको अनुमति दिने वा नदिने भन्ने मौखिक आदेश आएको सिंहले बताए ।

चीनबाट आयात भएर तस्करीमार्फत भारत पुग्दा लसुनको मूल्य आकासिएपछि यसको तस्करी तीव्र रूपमा बढेको पाइएको हो । यसबेला कोशी प्रदेशका झापा, मोरङ, सुनसरी लगायतका सीमा नाकाहरू लसुन तस्करीका मुख्य रुट बनेका छन् ।

नेपालमा लसुनको खुद्रा मूल्य प्रतिकिलोको ४ सय रुपैयाँ छ । त्यही लसुन भारतमा किलोको ६५० रुपैयाँ सम्ममा बिक्री हुन्छ ।

‘किलोमा २५० रुपैयाँ नाफा भएकै कारण चीनबाट लसुन आयात गरेर भारततर्फ तस्करी भइरहेको छ,’ एक व्यवसायीले क्लिकमान्डुसँग भने

लसुन तस्करीले सुपारीलाई बिर्साएको उनको टिप्पणी छ । तेस्रो मुलकबाट आयात हुने सुपारी पनि तस्करीमार्फत भारत नै पुगेर किलोको दुईदेखि अढाई सयसम्म नाफा कमाउनेमा तस्करहरु लाग्नेगरेको उनी बताउँछन् ।

झापाको पूर्वी र दक्षिणी तथा मोरङ र सुनसरीका दक्षिणी खुला सिमानाबाट लसुनको तस्करी बढ्दो छ । भारत तस्करी गर्नैका लागि चीनबाट लसुन आयात बढिरहेको कृषि मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

आयत भएको लसुन नेपालमा मात्र उपभोग गर्ने हो भेने ५ वर्षलाई पुग्छ । अर्का एक व्यापारीले भने,’ आयातित लसुन भारततर्फ तस्करी हुँदा स्थानीय स्तरमा पनि मूल्य बढेर किलोको ४ सय पुगेपछि स्वदेश उपभोक्ता मारमा परेका छन् । त्यसपछि सरकारले आयातमा कडाइ गरेको हुनसक्छ ।’

चीनबाट कन्टेनर वा ट्रकमा ल्याइने लसुन पूर्वी तराईका तिन जिल्ला झापा, सुनसरी र मोरङका सीमावर्ती गोदाममा भण्डारण गरिन्छ । नेपाल–भारतबीचको खुला सिमानाले तस्करी व्यापारलाई सहज बनाएको छ । मूल्य असमानता, आपूर्तिको असन्तुलन र कमजोर सीमा सुरक्षा संयन्त्र तस्करी बढ्नुका मुख्य कारण हुन् । ‘नेपालमाभन्दा भारतमा लसुनको मूल्य बढी छ,’ उनले भने, ‘भन्सार नाकाबाट निकासी गर्ने अनुमति छैन । त्यसैले चोरी नाकाबाट निरन्तर तस्करी भइरहेको छ ।’