
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था कडाइ गरिएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं आउँदै छन् भने उनका समर्थकले वृहत प्रदर्शनको तयारी गरेपछि विमानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको हो । शाहको स्वागतका लागि समर्थकहरु विमानस्थल प्रवेश गर्न सक्ने र सुरक्षा जोखिम बढ्न सक्ने भन्दै सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो ।
आज विमानस्थल प्रवेशको मुख्यद्वारबाट एयरपोर्टमा आफन्त लिन र पुर्याउन चाहनेहरुलाई टिकटको जाँच गरेर मात्र पठाइरहेको छ भने पठाओ, इन्डाइभहरुलाई प्रवेश गर्न दिइएको छैन ।
विमानस्थलको गोल्डेन गेटबाट सडक एकतर्फी बनाइएको छ । जानको लागि गोल्डेन गेट प्रयोग गर्न दिइएको छ भने बाहिर निस्कनको लागि एराइभरबाट पठाइएको छ । विमानस्थलमा पनि प्रहरी भेला भएर कुनै भिड नगर्न दिने व्यवस्था गरिएको छ।
विमानस्थल आसपासमा ठूलो संख्यामा प्रहरी खटाएर सुरक्षा कडा बनाइएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह आज ३ बजे हवाइमार्गबाट काठमाडौं आउने छन् । उनका स्वागतका लागि राप्रपा र राप्रपा नेपाल लगायतका राजावादी पार्टीका समर्थक विमानस्थल जाने तयारी गरिरहेका छन् ।
शाह विमानस्थलबाट महाराजगञ्जस्थित निर्मल निवास जानेछन् । समर्थकहरूले जुलुससहित उनलाई पुर्याउने तयारी गरेका छन् ।
काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकाल्दै उनीहरू विमानस्थलसम्म पुग्नेछन् । शाहको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल, शिव सेना नेपाल, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, नागरिक प्रतिरक्षा बल (पीडीएफ), राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाज लगायतका समूहहरू सक्रिय छन् ।

स्वागतका लागि विभिन्न स्थानबाट जुलुस
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका नेता कमल थापाले छुट्टाछुट्टै रूपमा आफ्ना कार्यकर्ताहरू परिचालन गर्ने तयारी गरेका छन् । काभ्रे, भक्तपुर, ललितपुर, कीर्तिपुर, नागार्जुनलगायत उपत्यकाका विभिन्न स्थानबाट समर्थकहरू जुलुससहित काठमाडौं आउँदै छन् ।
शाह पोखराबाट काठमाडौं आउँदा हुने स्वागत र्यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी नहुने र त्यसको नेतृत्व सांसद ज्ञानेद्र शाहीले गर्ने जनाइएको छ ।
सांसद शाहीको संयोजनमा एक समूह तिनकुनेमा जम्मा भई विमानस्थलतर्फ अघि बढ्नेछ भने गोकर्णेश्वर, कागेश्वरी, बूढानीलकण्ठ, तारकेश्वर, धादिङ र नुवाकोटबाट आउनेहरू चाबहिल, गौशालामा भेला भई विमानस्थलतर्फ अघि बढ्नेछन् । यस्तै, जावलाखेल, च्यासल, इमाडोल, कृष्णमन्दिरलगायत स्थानबाट पनि छुट्टाछुट्टै जुलुस निकालिनेछ ।
पूर्वराजा शाहको स्वागतमा गरिने प्रदर्शनको असर सडकमा सवारी आवागमनमा पर्ने ट्राफिक प्रहरीले जनाएको छ ।
सिनामंगल, जडीबुटी, कोटेश्वर, गौशाला, मित्रपार्क, बानेश्वर माइतीघर, महाराजगन्ज, थापाथली, त्रिपुरेश्वर, केशरमहल, लैनचौर, एकान्तकुना, सोह्रखुट्टे र नारायणगोपालचोक हुँदै चल्ने रुटमा सवारी जाम हुन सक्ने ट्राफिक प्रहरीको भनाइ छ ।
पूर्वराजाको सवारी हुने रुटमा सवारी डाइभर्सन हुन सक्ने भएकाले उपत्यकामा सवारी अस्तव्यस्त हुने सम्भावना छ । सडक सुरक्षाका लागि करिब ४०० ट्राफिक परिचालन गरिएको छ ।








प्रतिक्रिया