ज्ञानेन्द्रलाई राजा मान्न किन तयार भए शेखर कोइराला ?

3.7k
Shares

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतरका नेता तथा सांसद शेखर कोइरालाले राजतन्त्रको माग गर्दै नागरिकहरूको प्रदर्शन गर्नुको कारण खुलाएका छन् । झापामा नेपाल प्रेस युनियनको कार्यक्रममा बोल्दै कोइरालाले जनतालाई खुसी दिन नसक्नाले यो दिन आएको बताएका हुन् ।

उनले नेपाल मात्र होइन, फ्रान्स लगायतका देशहरूमा पनि राजतन्त्र फर्काउनुपर्छ भन्ने कुरा चलिरहेको भन्दै भने, ‘यो कुरा नेपालमा मात्र होइन, अन्यत्र पनि भएको हो भने यसको वास्तविकता के छ भन्ने कुरामा सोच्नुपर्नेछ ।’

कोइरालाले जनतामा आशा र भरोसा जगाउन गणतन्त्रले प्रभावकारी काम गर्न सक्नुपर्छ भन्नेमा जोड दिए । ‘गणतन्त्रले जनतामा आशा र विश्वास बनाउनु पर्ने हो । यदि जनताले असन्तुष्टि व्यक्त गर्दै प्रदर्शन गरिरहेका छन् भने, यो नै एउटा संकेत हो कि हामीले अपेक्षित काम गर्न सकेका छैनौँ,’ उनले थपे ।

उनले राजतन्त्र फर्काउने विषयमा असहमतिका साथ भने, ‘मलाई लाग्दैन कि राजा फर्किन्छ। माईखोलामा धेरै पानी बगिसकेको छ, अब यो कुरा सम्भव छैन। हामीले गणतन्त्रको रक्षा गर्ने हो भने त्यसले जनताको जीवनमा वास्तविक परिवर्तन ल्याउनु पर्छ ।’

कोइरालाले राजाको बारेमा कुरा गरेर मात्र कुनै समाधान नहुने स्पष्ट पारे। ‘हामीले जनतालाई कतिको खुसी पार्न सकेका छौँ, त्यो भन्दा बढी महत्त्वपूर्ण कुरा हो। हामीले राम्रो काम गरेर देखाउनु पर्छ।’

उनले अरुले पूर्वराजा भन्छन् आफू राजा नै भने बताए । कोइरालाले भने, ‘म त पूर्वराजा होइन, राजा नै भन्छु । कार्यकारी भइसकेको व्यक्तिलाई पूर्व भन्ने चलन बाहिर छैन, नेपालमा मात्रै छ ।’