
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीले धितोपत्र बोर्डले दिएको अनुमति बेगर सेयरमा लगानी गर्न खोज्दा असफल भएको छ ।
बोर्डले कम्पनीलाई आर्थिक पूर्वाधार, यातायात, उर्जा र सञ्चारसँग सम्बन्धित संगठित संस्थाको संस्थापक सेयरबाहेक अन्य धितोपत्र र प्राथमिकता तथा दोस्रो बजारमा धित्रोपत्र खरिद नगर्न अनुमति दिएको छ । तर, कम्पनीले लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) एलआईसीको अबितरित हकप्रद सेयरका लागि शिलबन्दी रुपमा खरिद गर्न खोजेको थियो ।
धितोपत्र बोर्डले दिएको स्वीकृत बेगर बोलकबोलमार्फत कम्पनीले प्रतिकित्ता १०७७ रुपैयाँको दरले ४ लाख ९२ हजार ५७७ रुपैयाँको सेयर किन्न खोजेको थियो । त्यसका लागि कम्पनी ५१ करोड १५ लाख ७५ हजार रुपैयाँ लगानी गर्न तयार भएको थियो।
फागुन १५ गते एलआईसीको कटअफ मूल्य १ हजार २२ रुपैयाँ कायम भयो र सेयर बाँडफाँट पनि गरियो । कम्पनीले ४८ करोड ५४ लाख ५० हजार रुपैयाँमा सेयर ४ लाख ७५ हजार कित्ता सेयर शिलबन्दीमार्फत पायो । तर, जब धितोपत्र बोर्डले एनआरएनले बोलकबोलमा सहभागी हुन पाउँदैन भन्यो तब कम्पनीको ४ लाख ७५ हजार कित्ताको रकम फिर्ता भयो । एलआईसीको कटअफ मूल्य घटेर ९६१ रुपैयाँ ५० पैसा कायम भयो ।
घटेको कटअफ मूल्यमा पुनः फागुन २१ गते अबितरित हकप्रद सेयरको बाँडफाँट भयो। करिब एक साताको अन्तरमा गोप्य शिलबन्दीमार्फत फरक फरक मूल्यमा २ पटक सेयर बाँडफाँट भयो । अवितरित हकप्रदबाट ५० करोड ३४ लाख १३ हजार ६९४ रुपैयाँ उठाउन खोजेको एलआईसीले एनआरएनका कारण ४७ करोड ३६ लाख १२ ७८५ रुपैयाँ मात्रै उठायो ।
धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले एआरएनलाई बोर्डले दोस्रो बजारमा सेयर किनबेच गर्न नपाउने भन्ने शर्तसहित अनुमित दिएको र सोही व्यवस्थाका कारण हकप्रद सेयरको बोलकबोलमा सहभागी हुन अयोग्य भएको बताए । बोर्डले दिएको शर्त सबै कम्पनीले पालना गर्नुपर्ने उनको भनाइ छ ।
बोर्डले यसअघि नै एनआरएनलाई आर्थिक पूर्वाधार, यातायात, उर्जा र सञ्चारसँग सम्बन्धित संगठित संस्थाको संस्थापक सेयरबाहेक अन्य धितोपत्र र प्राथमिकता तथा दोस्रो बजारमा धित्रोपत्र खरिद नगर्न भनेको छ ।
एनआरएनले सूचीकृत कम्पनीको हैसियलतले बुक बिल्डिङ प्रयोजनका लागि मात्रै अनुमति पाएको हो । हकप्रद सेयरको बढाबढका लागि अनुमति नलिएको बोर्डका अर्का एक अधिकारीले बताए । सार्वजनिक निष्काशनको शर्तअनुसार लिन मिल्दैन भनेर बाँडफाँट भएको सेयर फिर्ता गर्न लगाएको ति अधिकारीले बताए ।

एनआरएनले एलआईसीको बढाबढमा सहभागीता जनाएपछि एनआरएन जस्तै उद्देश्य भएका अन्य कम्पनी हाथवे, सिईडीबी लगायत कम्पनीलाई बोलकबोलमा सहभागी नगराउन भन्दै सबै बिक्री प्रबन्धकलाई सेबोनले बुधबार आन्तरिक सर्कुलर जारी गरिसकेको छ ।
‘कम्पनीले आफ्नो प्रबन्धपत्र, नियमावली संशोधन गरेर अन्य कम्पनीमा पनि लगानी गर्ने भनेर राखेका रहेछन्,’ बोर्डका ति अधिकारीले भने, ‘त्यसैलाई देखाएर आवेदन दिएको हुनसक्ने, त्यो पाइँदैन ।’
एनआरएनका सूचना अधिकारी प्रताप अधिकारीले धितोपत्र बोर्ड र बिक्री प्रबन्धकलाई यो विषयमा बढी जानकारी भएको बताए । ‘धितोपत्र बोर्डले सिधै एसबिआई मर्चेण्टलाई चिठी लेखेको रहेछ, बिक्री प्रबन्धकले निर्णय गर्यो,’ उनले भने, ‘हामीले आवेदन हाल्यौं नियामकले मिल्दैन भनेर पत्र पठाएपछि बिक्री प्रबन्धकले हामीलाई मिल्दैन भन्यो।’
यो विषयमा त्योभन्दा बढी आफूलाई केही जानकारी नभएको उनले क्लिकमान्डुलाई बताए। अब कसरी अघि बढ्ने भनेर आन्तरिक छलफल जारी रहेको उनको भनाइ छ ।
यो विषयमा व्यवस्थापनले के गर्ने भनेर निर्णय गर्ने उनको भनाइ छ ।
एनआरएनलाई बोलकबोलमा सहभागी जनाउन थाहा हुँदा हुँदै पनि सहभागी जनाएको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङको गुनासो छ । यही हकप्रदलाई देखाएर एनआरएनको सेयर उठाएर मूल्य बढाएकोहरु बोलकबोल भएको सेयर फिर्ता भएपछि चिन्तामा परेका छन् ।
एनआरएनको सेयर मूल्य बढाउनेहरुको पनि अहिले स्वर सुकेको छ । यो कम्पनीको सेयर एक महिनाको अवधिमा १ हजार ३३४ रुपैयाँबाट बढाएर १ हजार ५७८ रुपैयाँ पुर्याएका छन् ।
बोर्डको सुपरिवेक्षण विभागले २२ गते बोर्डबाट अनुमतिपत्र प्राप्त सम्पूर्ण निष्काशन तथा बिक्री प्रबन्धकहरुहरुलाई गोप्य सूचना जारी गरेको छ ।
गोप्य सूचनामा भनिएको छ- उपर्युक्त सम्बन्धमा बोर्डको मिति २०७३/०८/१२ र २०७६/०१/३० को निर्णयानुसार प्रारम्भिक सार्वजनिक निष्काशन गर्न अनुमति प्राप्त लगानी कम्पनीले आर्थिक पूर्वाधार (उर्जा, यातायात र संचार) सँग सम्बन्धित संगठित संस्थाको संस्थापक सेयर बाहेक अन्य धितोपत्र र प्राथमिक तथा दोश्रो बजार मार्फत धितोपत्र खरिद गर्न नसक्ने नीतिगत व्यवस्था रहेकोमा त्यस्ता संस्थाहरुले हकप्रद सेयरको लिलाम बढाबढमा सहभागी भएको भन्ने गुनासो प्राप्त भएको सन्दर्भमा उपर्युक्तानुसारको नीतिगत व्यवस्था अनुसार बोर्डबाट हालसम्म एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड, सिइडिबी होल्डिङ्गस् लिमिटेड (साविक सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड), इमर्जिङ्ग नेपाल लिमिटेड र हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्न अनुमति प्रदान गरेको हुँदा उक्त कम्पनीहरुले लिलाम बढाबढ प्रक्रिया मार्फत सेयर खरिद गर्न नपाउने देखिएको व्यहोरा समेत जानकारी गराउँदछु ।’
प्रतिक्रिया