पुटिनतर्फ ट्रम्पको झुकाव: रूस र चीन बीचमा फाटो ल्याउने प्रयास ?

1.2k
Shares

तस्बिर: गेट्टी इमेज

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दशकौँ पुरानो अमेरिकी विदेश नीतिलाई उल्टाउँदै रूसतर्फ झुकाव देखाएका छन्।

युक्रेनमा भइरहेको युद्ध रोक्ने सवालमा समेत ट्रम्प रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उभिएका देखिन्छन् । उनले युक्रेनी राष्ट्रपति भ्लादमिर जेलेन्स्कीलाई रूसका कडा शर्तहरू स्वीकार गर्न दबाब दिइरहेका छन् ।

यथार्थमा भने आक्रमण गर्ने पक्ष रूस नै हो ।

ट्रम्पले आफ्ना युरोपेली साझेदारहरूलाई अमेरिका सधैँ उनीहरूको सुरक्षाका लागि मद्दत गरिरहने आशामा नबस्न चेतावनी दिए ।

रूस-चीन सम्बन्ध कमजोर बनाउने रणनीति ?

के ट्रम्पको यो व्यवहार रूसलाई चीनबाट टाढा पार्ने ठूलो योजनाको हिस्सा हो ? वा, यो केवल उनको व्यक्तिगत रुचि र पुटिनसँगको निकटताको नतिजा मात्र हो ?

रूससँगको सबभन्दा ठूलो परिवर्तन १२ फेब्रुअरीमा देखियो जब ट्रम्पले राष्ट्रपति पुटिनसँग ९० मिनेट लामो टेलिफोन वार्ता गरे ।

यसपछि उनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई शान्ति सम्झौतामा सहमत हुन दबाब दिए। उनले अमेरिकाले कुनै सुरक्षाको ग्यारेन्टी नदिई युक्रेनी भूभागलाई रूसलाई सुम्पिन आग्रह गरे ।

पुटिनसँगको टेलिफोन वार्ताबारे ट्रम्पले भने, ‘हामी निकै नजिकबाट सँगै काम गर्न सहमत भएका छौँ, जसमा एकअर्काको देशको भ्रमण समेत समावेश छ ।’

ट्रम्पले युद्धपछि युक्रेन नेटोको सदस्य बन्न नपाउने स्पष्ट पारे । पूर्वराष्ट्रपति जो बाइडेनले युक्रेनलाई नेटो सदस्यता दिने वाचा गरेका थिए, जसको रूसले चर्को विरोध गरेको थियो ।

त्यसयता, ट्रम्पले जेलेन्स्कीलाई ‘निकम्मा’ र ‘तानाशाह’ भन्दै आलोचना गरिसकेका छन् । ह्वाइट हाउसमा भएको बैठकमा ट्रम्पले भनेका थिए, ‘युक्रेनले युद्ध नै सुरु गर्नु हुँदैन थियो ।’

यूरोपबाट टाढा, रूससँग नजिक

यदि युद्धपछि युक्रेनमा शान्ति सेना तैनाथ गर्नुपर्ने अवस्था आयो भने पनि अमेरिकाले त्यसमा कुनै भूमिका नखेल्ने ट्रम्पले स्पष्ट पारिसकेका छन् ।

रूसले पनि पश्चिमी सेनाहरूको उपस्थिति पूर्ण रूपमा अस्वीकार गरिसकेको छ ।

युक्रेन युद्ध सुरु भएको तेस्रो वार्षिकोत्सवमा संयुक्त राष्ट्रसंघमा भएको मतदानमा समेत अमेरिका रूसको पक्षमा उभिएको देखियो । अमेरिकाले रूसको आलोचना गर्न अस्वीकार गरिदियो ।

ट्रम्पका यी कदमहरू अमेरिका र उसका युरोपेली साझेदारहरूलाई अलग गर्ने संकेत दिन्छन् । यो अमेरिकी विदेश नीतिको ८० वर्ष लामो परम्परालाई उल्टाउने संकेत हुन सक्छ ।

ट्रम्प प्रशासनको रणनीति

२५ फेब्रुअरीमा अमेरिकी विदेशमन्त्री मार्को रूबियोले कन्जर्भेटिभ समाचार साइट ब्रेटबार्टसँगको अन्तर्वार्तामा भने, ‘हामी रूस-चीन सम्बन्ध कमजोर बनाउने रणनीति अपनाइरहेका छौँ ।’

रूबियोका अनुसार, रूस सधैं चीनको कनिष्ठ साझेदार बन्न चाहँदैन । यदि चीनको पूर्ण नियन्त्रणमा रहनुपर्‍यो भने रूसले हरेक सन्दर्भमा चीनकै आदेश मान्नुपर्नेछ, जुन न अमेरिका न युरोप न रूसकै लागि राम्रो हुनेछ ।

‘यदि दुई परमाणु शक्ति राष्ट्रहरू रूस र चीन अमेरिकाविरुद्ध एकजुट भए भने त्यो निकै खतरनाक हुनेछ,’ उनले थपे ।

चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ लाई अमेरिकाले चुनौती दिने रूबियोको भनाइ छ ।

तर, चीनले रूबियोको टिप्पणीलाई अस्वीकार गर्दै यसको कडा आलोचना गरिसकेको छ ।

‘रिवर्स निक्सन’ रणनीति ?

यो रणनीति एक प्रकारको ‘रिवर्स निक्सन’ नीतिको रूपमा हेरिएको छ । सन् १९७२ मा पूर्वअमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले सोभियत संघलाई अलग पार्न चीनसँग सम्बन्ध स्थापना गरेका थिए । अहिले ट्रम्प उल्टो रणनीति अपनाउँदै रूससँग निकटता बढाएर चीनलाई अलग गर्न खोजिरहेका छन् ।

काउन्सिल फर फरेन रिलेशन्स नामक अमेरिकी थिंक ट्यांकका अनुसार, ‘ट्रम्प प्रशासन चीनलाई कमजोर बनाउन रूससँग सहकार्य गर्ने रणनीति अपनाइरहेको छ।’

लन्डन स्कूल अफ इकोनोमिक्सका प्रोफेसर क्लाउस विली भन्छन्, ‘अमेरिका चाहँदैन कि रूस, चीनका लागि केवल कच्चा पदार्थ आपूर्ति गर्ने देश बनोस् । यदि रूसले चीनलाई आफ्नो स्रोत-साधन सस्तोमा दिन थाल्यो भने, चीनको शक्ति बढ्नेछ र अमेरिका कमजोर हुनेछ ।’

रूस-चीन सम्बन्ध टुट्न गाह्रो

तर, ट्रम्पको यो रणनीति सफल हुनेछ कि हुँदैन भन्ने निश्चित छैन । २०२२ मा युक्रेनमाथि आक्रमण गर्नुअघि नै रूस र चीनले ‘अन्त्यहीन मित्रता’ घोषणा गरेका थिए। त्यसयता, उनीहरूबीच व्यापार निकै बढेको छ ।

चीन अहिले रूसी तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो।

२०२४ मा चीनले ६२ अर्ब डलर बराबरको रूसी तेल खरिद गर्यो । युद्धअघि २०२१ मा चीनले रूसबाट एक-तिहाइ मात्र तेल लिने गर्थ्यो ।

युद्धपछि, पश्चिमी देशहरूले रूसी तेलमाथि प्रतिबन्ध लगाए, जसले चीनलाई झन् बढी रूसी तेल किन्न प्रेरित गर्‍यो ।

यसैगरी, चीनले रूसलाई कम्प्युटर चिप्स जस्ता अत्याधुनिक उपकरणहरू आपूर्ति गर्दै आएको छ ।

शाङ्हाई एकेडेमी अफ ग्लोबल गभर्नेन्सका प्रोफेसर याङ चेंग भन्छन्, ‘रूस अमेरिकी विदेश नीतिको एकतर्फी हिस्सा बन्नेछैन । उसले आफ्नो रणनीतिक स्वायत्तता कायम राख्नेछ ।’

स्विडिस इन्स्टिच्युट अफ इन्टरनेसनल अफेयर्सका डा. हेनरिक वाचमिस्टर भन्छन्, ‘पुटिन केही समयका लागि अमेरिकी नीतिसँग सहमत हुन सक्छन्, तर चीनसँगको सम्बन्धलाई गुमाउने छैनन् ।’

ट्रम्पको रूसप्रति झुकाव रणनीतिकभन्दा पनि व्यक्तिगत कारणले हो भन्ने धारणा पनि रहेको छ ।

ट्रम्पको पहिलो राष्ट्रपतीय कार्यकालमा रूसले अमेरिकी चुनावमा हस्तक्षेप गरेको आरोप लागेको थियो । ट्रम्पले पुटिनबारे भनेका थिए, ‘हामी दुवैलाई झूटो प्रचारको सामना गर्नुपरेको छ ।’

लन्डन स्कूल अफ इकोनोमिक्सका प्रोफेसर विली भन्छन्, ‘ट्रम्प र पुटिनको सम्बन्ध सधैं राम्रो रह्यो । जब ट्रम्पले रूसमा मिस वर्ल्ड प्रतियोगिता आयोजना गरे र आफ्नो रियल इस्टेट परियोजनामा रूसी लगानी पाएका थिए, त्यसयता उनीहरूबीच सुमधुर सम्बन्ध रहँदै आएको छ ।’