केदारनाथमा १३ किमी लामो केबलकार बनाउने भारत सरकारको निर्णय, ६५ अर्ब लागत

7.2k
Shares

एजेन्सी । भारत सरकारले प्रसिद्ध धार्मिक तीर्थस्थल केदारनाथमा केबलकार बनाउने महत्वांकाक्षी परियोजना स्वीकृत गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको केन्द्रीय मन्त्रिपरिषद बैठकले केदारनाथ यात्रालाई अझ सरल, सुरक्षित र सहज बनाउन महत्वाकांक्षी केदारनाथ केबलकार परियोजना स्वीकृत गरेको हो ।

करिब ४,०८१ करोड भारतीय रुपैयाँ (६५ अर्ब २९ करोड नेपाली रुपैयाँ) लागतमा निर्माण हुने यस परियोजनाले तीर्थयात्रीहरूलाई छिटो, आरामदायी र वातावरणमैत्री यात्रा सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ ।

यो केबलकार परियोजना सोनप्रयागदेखि केदारनाथसम्म १२.९ किलोमिटर लम्बाइको हुनेछ । हालसम्म केदारनाथ पुग्न १६ किलोमिटर लामो कठिन पहाडी बाटो पैदल, घोडा, डोली वा हेलिकोप्टरको सहायताले तय गर्नुपर्ने बाध्यता तिर्थयात्रीलाई रहेको थियो ।

प्रतिघण्टा १ हजार ८०० यात्रु ओसारपसार गर्न सक्ने

यस केबलकारमा ट्राई-क्याबल डिट्याचेबल गोन्डोला (३एस) प्रविधि प्रयोग गरिने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसले प्रतिघण्टा प्रत्येक दिशामा १ हजार ८०० यात्रु ओसारपसार गर्न सक्नेछ भने दैनिक क्षमता १८ हजार यात्रु बोक्ने छ ।

हाल ८ देखि ९ घण्टा लाग्ने यो यात्रा केबलकार सञ्चालनमा आएपछि ३६ मिनेटमा पूरा गर्न सकिने जनाइएको छ ।

यो परियोजना डिजाइन, निर्माण, वित्तीय व्यवस्था, सञ्चालन र हस्तान्तरण (डीबीएफओटी) मोडेल अन्तर्गत सार्वजनिक-निजी साझेदारी (पीपीपी) मा विकास गरिनेछ ।

४ हजार ०८१.२८ करोड भारतीय रुपैयाँको कुल पुँजी लागत रहने यो परियोजनाले निर्माण र सञ्चालन अवधिमा उल्लेखनीय रोजगारी सिर्जना गर्नेछ । यसका साथै, आतिथ्य (होटल-लज), खाद्य सेवा र यात्रा उद्योग जस्ता सम्बन्धित व्यवसायहरूलाई प्रवर्द्धन गर्दै वर्षभर पर्यटनलाई समर्थन गर्ने अपेक्षा गरिएको छ ।

केदारनाथ मन्दिर उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा ३ हजार ५८३ मिटरको उचाइमा अवस्थित छ । यो हिन्दू धर्मका १२ ज्योतिर्लिङ्गहरूमध्ये एक मानिन्छ । मन्दिर वर्षको करिब ६ देखि ७ महिना मात्र खुला रहने हुँदा हरेक वर्ष करिब २० लाख तीर्थयात्रीहरू यहाँ दर्शन गर्न पुग्छन् ।

नयाँ केबलकार सञ्चालनमा आएपछि भक्तजनहरूले सजिलै यात्रा गर्न पाउनेछन् । साथै, यस परियोजनाले सोनप्रयागदेखि केदारनाथसम्म चारै मौसममा पहुँचयोग्य यात्रा सुनिश्चित गर्ने जनाइएको छ ।

केदारनाथ केबलकार परियोजना उत्तराखण्डको पहाडी क्षेत्रमा अन्तिम माइल कनेक्टिभिटी सुधार्ने, सामाजिक-आर्थिक विकासलाई प्रवर्द्धन गर्ने र आर्थिक वृद्धिलाई टेवा पुर्‍याउने महत्वपूर्ण परियोजना हुने विश्वास गरिएको छ ।

नेपालबाट पनि वर्षमा हजारौं धर्मावलम्बी केदारनाथ दर्शनका लागि पुग्ने गरेका छन् ।

यस्तै, हेमकुण्ड साहिब केबलकार परियोजना गोविन्दघाटदेखि हेमकुण्ड साहिबसम्म १२.४ किलोमिटर लम्बाइको बनाइने भएको छ । २ हजार ७३० करोड भारतीय रुपैयाँ लागतमा निर्माण हुने यस रोपवेले सिख धर्मावलम्बीहरूको लागि विशेष सुविधा उपलब्ध गराउने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।