उदयपुर सिमेन्टका अवकाश पाएका कर्मचारीलाई तत्काल सुविधा उपलब्ध गराउनुपर्छ: सांसद झा

7
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले उदयपुर सिमेन्ट उद्योग लिमिटेडबाट अवकाशप्राप्त एक सय तीन जना कर्मचारीलाई तत्काल बाँकी रहेको सेवा सुविधा उपलब्ध गराउन सरकारको ध्यानार्कषण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले अवकाशको तीन वर्षसम्म कर्मचारीहरुले सुविधावापत पाउने रकम उपलब्ध नगराएको भन्दै माग सम्बोधनका लागि सरकारको ध्यानार्कषण गराए ।

‘सिमेन्ट उद्योगमा आफ्नो जीवनको ३५ वर्ष दिएकाहरुले अब के दिन बाँकी छ यो सरकारलाई, अनि उनीहरुले पैसा पाउँछन् ‘, उनले प्रश्न गरे ।

सांसद झाले राजनीतिक नियुक्तिले सार्वजनिक संस्थानहरु प्रभाव भएको बताउनुभयो । उहाँले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हतोत्साहित गरेको आरोप लगाए ।

यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले आन्दोलनरत वन उपभोक्ता महासङ्घको माग सम्बोधनका लागि ध्यानार्कषण गराए

उनले वन पैदावरको प्रयोग सही ढङ्गले गर्न सक्दा आयातलाई घटाएर निर्यात गर्ने क्षमता देशसँग भएको प्रसङग उल्लेख गर्दै आन्दोलनलाई वार्तामार्फत निकास दिन आग्रह गरे ।

सांसद गैरेले शिक्षक महासङ्घले विगतमा सरकारसँग गरेको सम्झौता कार्यान्वयनको समेत माग गरे ।