
काठमाडौं । आगामी १९ चैतदेखि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातिको समयमा बन्द नहुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाकाअनुसार हाल ट्याक्सी वे विस्तारका क्रममा गरिएको विमानस्थल बन्द गरिए पनि अबको समर सिजनदेखि विमानस्थल सञ्चालन विगतमा जस्तै विहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने भएको हो ।
विमानस्थलमा हाल भइरहेको काम सम्पन्न हुँदै गइरहेको छ भने विमानस्थल बन्द नै गरेर गर्नुपर्ने काम भने यही मार्च महिनाभित्रै सकिने भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार विमानस्थलको सेन्ट्रल लाइनबाट ७५ मिटर भित्रको काम गर्न उडान बन्द भएको हो ।
विमानस्थलमा भइरहको सबै काम पूरा हुन एक डेढ वर्ष लाग्ने भए पनि धावनमार्ग बन्द गरेर गर्नुपर्ने काम भने ४० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको निरौला बताउँछन् । उनले भने ‘नोटाम पिरियडमा गर्नुपर्ने काम सबै यही मार्च महिनाभित्र सम्पन्न गर्ने र विमानस्थल सञ्चालनको समय बढाइने भएको छ ।’
२३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै आएकोमा गत १९ माघदेखि भने उडान समय बढेको छ भने विमानस्थल बन्द हुने समय थप दुई घण्टा घटेको छ । १९ माघको शनिवारदेखि विमानस्थल १६ घण्टा सञ्चालनमा आएको छ । १९ चैतदेखि भने पूरै मर्मतको कारण विमानस्थलको सञ्चालन समय नघट्ने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा भइरहेको निर्माणको कार्यमा प्रगति भएसँगै उडान समय बढ्ने र विमानस्थल बन्द हुने समय घटेसँगै नयाँ वायुसेवा आउने, उडानमै रहेका वायुसेवाले रिसेड्युल गर्ने तथा थप उडान गर्ने पनि निरोलाको भनाइ छ । अहिले १९ माघपछि नै विमानस्थलको उडान समय थप भएसँगै भारतीय वायुसेवा स्पाइस जेट र एयर इयर इण्डिया एक्सप्रेसले पुनः उडान गर्न लागेको हुन् ।
विमानस्थलको उडान समय घटेसँगै नेपालमा उडान नभएको यी वायुसेवाको पुनः उडान गर्न चाहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको भनाइ छ ।
विमानस्थलका महाप्रवन्धक निरौलाका अनुसार उडान समय बढ्ने भएसँगै आन्तरिक र विदेशी वायुसेवाको उडान समय पनि बढ्ने भएको छ । यसका लागि आन्तरिक र वाह्य उडानका वायुसेवाले पनि रिसेडेयुल गरेर उडान थप गर्ने इच्छा देखाएको निरौलाले बताए ।
अन्तर्राष्ट्रिय एप्रोन, समानान्तर ट्याक्सी, ह्यांगर निर्माणलगायतका पूर्वाधार निर्माणका लागि धावनमार्ग नै बन्द गर्नुपरेको थियो । यो विमानस्थभित्र उडान बन्द गरेर मर्मत गर्नुपर्ने काम चैतसम्मको लागि मात्रै भएको पनि उल्लेख छ ।
विमानस्थलभित्र तीन वटा फरक–फरक आयोजनाको काम अघि बढाएको थियो । विमानस्थलभित्र सञ्चालित तीन वटै आयोजनाको ४० प्रतिशत भौतिक कार्य भएको दाबी विमानस्थल कार्यालयको भनाइ छ ।
विमानस्थलको यात्रु क्षमता बढाउन र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको पूर्वाधार विस्तारको काम भइरहेको छ । सोही काम अन्तर्गत हालको मर्मत भएको पनि विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गत २३ कात्तिकबाट विमानस्थलको उडान घटाउँदा आन्तरिक वायुसेवाको कम्तिमा ३० प्रतिशत उडान कतौती भएका थिए । ती कटौती भएका उडान पुन रिसेड्युल हुने भएकाे विमानस्थल कार्यालयको भनाइ छ ।
त्रिभुवन विमानस्थल बन्द हुँदा प्राधिकरणले आन्तरिक वायुसेवालाई काठमाडौं बाहिर बेस गर्न र उडान तालिका नै घटाउन लगाएको छ । अन्तर्राष्ट्रिय उडानका वायुसेवालाई पनि भैरहवा वा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल विकल्पको रुपमा दिइएको थियो । तर, पोखरामा कुनै पनि वायुसेवाले जाने इच्छा नगरेका कारण भैहरवा विमानस्थलकै चाप बढेको पनि निरौलाले बताए ।
प्रतिक्रिया