विद्युतीय गाडीमा ६० प्रतिशतमात्रै कर्जा पाइने व्यवस्था कार्यान्वयनमा

301
Shares


काठमाडौं । अब विद्युतीय गाडी खरिद गर्नेले ४० प्रतिशत मात्रै कर्जा पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले गरेको व्यवस्था कार्यान्वयन गर्न परिपत्र जारी गरेको हो ।

राष्ट्र बैंकले परिपत्र जारी गरेसँगै अब विद्युतीय गाडी खरिद गर्नेले ६० प्रतिशत मात्रै कर्जा पाउने भएका छन् । यसअघि विद्युतीय गाडीमा ‘लोन टु भ्यालु रेसियो’ अथात् मूल्यको ८० प्रतिशत र पेट्रोलियम गाडीमा ५० प्रतिशत कर्जा लगानी गर्ने व्यवस्था थियो ।

अब सबै प्रयोजनाको विद्युतीय गाडीका साथै निजी प्रयोजनाको व्यक्तिगत र अन्य सवारी साधन खरिदमा ६० प्रतिशत कर्जा पाइने भएको हो । विद्युतीय बाहेक निजी प्रयोजनाको व्यक्तिगत र अन्य सवारी साधनमा पाइने कर्जाको अधिकतम सीमा भने बढेको हो ।

यस्तै केन्द्रीय बैंकले असल वर्गमा वर्गिकरण भएको कर्जामा १ प्रतिशत मात्रै कर्जा नोक्सानी व्यवस्थालाई पनि कार्यन्वयनमा ल्याएको छ । यसअघि असल कर्जामा १.१० प्रतिशत कर्जा नोक्सानी व्यवस्था थियो । यसले बैंकहरुको कर्जा नोक्सानी व्यवस्था करिब साढे ४ अर्बले घट्न जान्छ । एक वर्ष भन्दा बढी ग्रेस अवधि भएको कर्जामा पनि प्रत्येयक वर्ष समानुपातक रुपमा हुने गरी बढीमा ४ वर्षमा १ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।