हिमालय एयरलाइन्सले चैत १८ देखि पोखराबाट ल्हासा उडान गर्ने

462
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय उडानको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी १८ चैतदेखि पोखराबाट चीनको ल्हासा उडान गर्ने भएको छ ।

पर्यटकीय राजधानी पोखराबाट विश्व प्रसिद्ध ‘रुफ अफ द वल्र्ड’ ल्हासासम्म साताको एक उडान गरेर सिधा हवाई पहुँचको सुरुवात गर्ने तयारी यो वायुसेवा कम्पनीले गरेको छ । पोखरा नयाँ रुटको उडानमार्फत हिमालय एअरलाइन्सले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई सुदृढ गर्ने लक्ष्य राखेको जानकारी दिएको छ ।

काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ सेक्टर जोड्न तथा यात्रुको मागको आधारमा आगामी दिनमा उडानहरू थप्दै जाने योजनासहित यसले उडान थालेको बताएको छ ।

काठमाडौँ–ल्हासा उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार आगामी १८ चैत अर्थात मार्च ३१, २०२५ मा बिहान साढे ८ बजे हुने छ । सोही दिन चीनको स्थानीय समयअनुसार १२ बजेर ०५ मिनेटमा ल्हासा गोङ्गर विमानस्थलमा पुग्नेछ ।

ल्हासा–पोखरा उडानले ल्हासा गोङ्गर विमानस्थलबाट स्थानीय समयअनुसार मार्च ३१, २०२५ मा १३ बजेर १५ मिनेटमा उडान भर्ने र सोही दिन नेपाली स्थानीय समयअनुसार १२ बजेर ४५ मा पोखरा अवतरण गर्ने जानकारी हिमालय एयरलाइन्सले दिएको छ ।

ऐतिहासिक पोखरा–ल्हासा उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अप्रिल ०१, २०२५ मा स्थानीय समयअनुसार बिहान ८ बजेर २० मिनेटमा हुने छ । पोखराबाट उडेकै दिन चीनको स्थानीय समयअनुसार १२ बजेर ०५ मिनेटमा ल्हासा गोङ्गर विमानस्थलमा अवतरण हुने यो वायुसेवा जानकारी दिएको छ ।

पोखराबाट गएको उक्त उडानमार्फत पुन जहाज काठमाडौं आउने छ । यसका लागि ल्हासा–काठमाडौँ उडान ल्हासाको गोङ्गर विमानस्थलबाट आगामी अप्रिल ०१, मा स्थानीय समयअनुसार साढे १२ मा हुन्छ । उक्त जहाज सेही दिन नेपाली स्थानीय समयअनुसार १२ः०५ मा काठमाडौँ अवतरण गर्नेछ ।

हिमालय एअरलाइन्सका उपाध्यक्ष तथा प्रवक्ता विजय श्रेष्ठले नयाँ सुरु हुन लागेकोे रुटप्रति उत्साह व्यक्त गरे । उनले भने ‘हिमालयको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने हो ।’

काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ सुरु गरिएको यस उडानले हाम्रो एअरलाइन्सको दुई राष्ट्रका नागरिक–नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्ने पनि श्रेष्ठले बताएका छन् यो नयाँ रुटको परिचयसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै यात्रुहरूका लागि अविस्मरणीय यात्रा अनुभवहरू सिर्जना गर्ने लक्ष्य राखेको छ ।