
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा अघिल्लो पटकको भन्दा धेरै सिट जित्ने गरी पार्टीका नेता तथा कार्यकर्तालाई तयारी गर्न निर्देशन दिएका छन् ।
प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै देउवाले संविधान अनुसार एउटै दलले सहजै बहुमत ल्याउन कठिन हुने बताउँदै कांग्रेसले अघिल्लो चुनाव भन्दा राम्रो नतिजा ल्याउनुपर्नेमा जोड दिए ।
उनले पार्टीभित्र देखिएका मतभेदलाई छलफलमार्फत समाधान गर्दै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकतामा पनि बल दिए । ‘हामी बीचमा केही असहमति हुनसक्छन्, तर ती छलफलमार्फत समाधान गर्दै पार्टीलाई जीवन्त र सक्षम बनाउनुपर्छ,’ उनले भने ।
हालको सत्ता सहकार्यबारे बोल्दै देउवाले ६/६ महिनामा सरकार परिवर्तन भइरहने अवस्थाबाट मुक्तिका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएको जानकारी गराए । उनले अहिलेको सत्ता समीकरणलाई स्थायित्व दिन गठबन्धनलाई एकताबद्ध बनाएर लैजानुपर्ने धारणा राखे ।
उनले लोकतान्त्रिक शासन प्रणालीमा प्रतिपक्ष दलको आवश्यक भूमिका हुने उल्लेख गर्दै कांग्रेसलाई सशक्त बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया