घरमा श्रीमती बिरामी भएको भन्दै प्रेमिकाले विदेशबाट बोलाइन्, श्रीमानसँग मिलेर गरिन् हत्या

3.2k
Shares

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित खैरा खोलाको पुलमुनि फेला परेको शव ३३ वर्षीय शहीद अन्सारीको भएको पुष्टि भएको छ ।

अनुसन्धानमा अन्सारीलाई प्रेमिका अनिता कुमारी यादव र उनका श्रीमान राजकिशोर यादवले मिलेर हत्या गरेको खुलेको छ ।

कतारमा कार्यरत अन्सारी र अनिताबीच दुई वर्षदेखि प्रेम सम्बन्ध थियो । अनिताले शहीदलाई उनको श्रीमती बिरामी रहेको बहाना बनाएर नेपाल बोलाएकी थिइन् ।

२०८१ मंसिर २७ गते अनिता र उनका श्रीमानले अन्सारीलाई बञ्चरो प्रहार गरी हत्या गरेको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । हत्या पछि शव जुटको बोरामा बेरेर खैरा खोलामा फालिएको थियो । शव पहिचान गर्न नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको थियो । माघ १० गते मृतककी श्रीमती अजिमा खातुनले प्रहरीको फेसबुक पेजमा फोटो हेरेर सनाखत गरेपछि घटना सार्वजनिक भएको थियो ।

अनिता यादवलाई गाउँबाटै पक्राउ गरी अदालतबाट तीन दिनको म्याद थप गरिएको छ भने उनका श्रीमान् राजकिशोर यादव हत्या पछि साउदी अरब फरार रहेको उपरीक्षक तिवारीले बताए । उनलाई नेपाल फर्काउन कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।