जापानका व्यवसायीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आह्वान

0
Shares

काठमाडौं । जापानका विभिन्न व्यावसायिक कम्पनीका प्रतिनिधिहरुले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टचार भेटघाट गरेका छन् ।

नेपाल जापान फ्रेन्डसिप समिट २०२५ का लागि नेपाल आएका उनिहरुले अर्थमन्त्री पौडेललाई भेटेका हुन् ।

भेटमा अर्थमन्त्री पौडेलले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको बताए । उनले नेपाल जापान फ्रेन्डसिप समिटले नेपालमा लगानीकर्ताहरुको लागि अनुकूल वातावरण रहेको सन्देश प्रवाह गर्ने र जापानी लगानीकर्ताहरुलाई नेपालमा थप लगानी गर्न उत्प्रेरित गर्ने विश्वास रहेको बताए ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले विदेशी लगानीकर्ताहरुको लागि जलविद्युत, पर्यटन र उत्पादनमूलक क्षेत्र पनि लगानीको लागि आकर्षक रहेकोले यी क्षेत्रमा उत्साहित भएर लगानी गर्न आह्वान गरे ।

उनले सरकारले निजी क्षेत्रका सरोकारहरुलाई सम्बोधन गरी विभिन्न कानुनहरु अध्यादेशमार्फत संशोधन गरी लगानीको लागि अझ सहज वातावरण तयार गरेको बताए । टोलीमा फुजिता, बेन्सेस कर्पोरेसन, डिजिटल पाइलट, टोकियो मरिन, फोर्थ भ्याली लगायत एक दर्जन भन्दा बढी कम्पनीका प्रतिनिधिहरु सहभागी थिए ।