
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर बिक्री गरेर व्यवसायिक घरनाका लगानीकर्ताहरु बाहिरिँदै जाँदा नयाँ लगानीकर्ताका रुपमा जीवन बिमा कम्पनीको प्रवेश हुँदै गएको छ । पुराना बैंकर तथा व्यवसायी बाहिरिँदा बिमा कम्पनीहरु भने बैंकहरुको संस्थापक सेयरमा लगानी बढाउँदै लगेका छन् ।
बैंकिङ क्षेत्रमा लगानीको प्रतिफल निरन्तर घट्दै गएको छ । अर्कोतर्फ बैंकर र व्यवसायी छुट्याउने गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) संशोधन विधेयक संसदमा दर्ता भएको छ । एकातिर बैंकिङ क्षेत्रमा घट्दै गएको प्रतिफल र अर्कोतिर बैंकर र व्यवसाय छुट्याउन राज्यको चाहानाका कारण बैंकिङ क्षेत्रमा लगानी गर्दै आएको संस्थापक लगानीहरु बैंकको संस्थापक सेयर बिक्री गरेर धमाधम बाहिरिँदै गएका छन् ।
पर्याप्त फण्ड भएका जीवन बीमा कम्पनीहरु बैंकिङ क्षेत्रमा नयाँ संस्थापक सेयरधनीको रुपमा अगाडि आएका छन् । नेपाल बिमा प्राधिकरणको तथ्यांकले पनि यही देखाएको छ ।
पछिल्ला वर्षमा बैंकले दिने प्रतिफल घटिरहेको छ । प्रतिफल घट्दा पुराना संस्थापक सेयरधनी धमाधम बाहिरिन थालेका हुन् । अहिले वाणिज्य बैंकले दिने प्रतिफल औसतमा ८ प्रतिशतको हाराहारीमा छ । प्रतिफल घटेपछि पुराना बैंकर तथा पुराना लगानीकर्ता बैंकिङ क्षेत्रबाट बाहिरिन थालेका हुन् ।
यही सेरोफेरोमा बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर खरिद गर्न जीवन बिमा कम्पनी तयार देखिएका छन् ।
जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा १५ अर्ब ५१ करोड ३२ लाख रुपैयाँ लगानी गरेका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.७५ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा बिमा कम्पनीले ११ अर्ब १८ करोड ६ लाख रुपैयाँ लगानी गरेका थिए ।
बिमा प्राधिकरणकाअनुसार १४ वटा जीवन बिमा कम्पनीमध्ये १२ वटा कम्पनीले बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा लगानी गरेका छन् । बैंकको संस्थापक लगानी नगर्ने कम्पनीमा मेट लाइफ र सिटिजन्स लाइफ इन्स्योरेन्स रहेका छन् । बाँकी १२ वटा कम्पनीले पुस मसान्तसम्म १५ अर्ब ५१ करोड ३२ लाख ३३ हजार रुपैयाँ लगानी गरेका हुन् ।

प्राधिकरणकाअनुसार पुस मसान्तसम्म राष्ट्रिय बिमा संस्थानले सूचीकृत कम्पनीको संस्थापक सेयरमा ९२ करोड ७५ लाख २ हजार लगानी गरेको छ । यस्तै नेशनल लाइफले १ अर्ब ६४ करोड ८३ लाख ९३ हजार, नेपाल लाइफले ४ अर्ब ९७ करोड ४८ लाख १६ हजार, लाइफ इन्स्योरेन्स कर्पोरेशनले १ अर्ब ३८ करोड ५३ लाख ८६ हजार, एशियन लाइफ इन्स्योरेन्सले ३ अर्ब ८८ करोड ५६ लाख ४० हजार रुपैयाँ लगानी गरेको छ ।
प्राधिकरणका अनुसार आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थको संस्थापक सेयरमा ७ करोड ५१ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै सन नेपाल लाइफले ९६ करोड २९ लाख २४ हजार, रिलायबल नेपाल लाइफले ४८ करोड ५१ लाख ५५ हजार, सूर्य ज्योति लाइफ इन्स्योरेन्सले ५५ करोड ४ लाख ४१ हजार रुपैयाँ लगानी गरेको छ ।
प्राधिकरणका अनुसार सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १५ करोड ८३ लाख १६ हजार, हिमालयन लाइफ इन्स्योरेन्सले ४५ करोड र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ९५ लाख ६० हजार रुपैयाँ लगानी गरेका छन् ।
बिमा प्राधिकरणल बीमा कम्पनीहरुकोेलगानी विविधिकरण गर्नुपर्ने भन्दै बीमा कम्पनीहक्रुो लगानी सम्बन्धी निर्देशिकाहरु जागरी गरेको छ । प्राधिकरणले जीवन बिमा कम्पनीको लागि जीवन बिमकको लगानी (दोस्रो संशोधन) निर्देशिका–२०८० जारी गरेको छ । जसमा जीवन बिमा कम्पनीले आफ्नो विभिन्न कोषमा रहेका रकम लगानी गर्न पाउँछन् । निर्देशिका अनुसार जीवन बीमा कम्पनीहरुले कुल लगानीको न्यनतम २५ प्रतिशत सरकारी ऋणपत्रमा लगानी गर्नुपर्ने व्यवस्था छ ।
त्यस्तै वाणिज्य बैंक र पुर्वाधार विकास बैंकको मुद्दति निक्षेपमा कुल लगानीको कम्तीमा ३० प्रतिशत ल गानी गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
विकास बैंकको मुद्दति निक्षेपमा १० प्रतिशत र फाइनान्स कम्पनीको मुद्दति निक्षेपमा ५ प्रतिशत न्युनतम लगानी हुनुपर्ने व्यवस्था छ । यस्तै कुल लगानीको बढीमा ३० प्रतिशतसम्म बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बण्ड, डिवेञ्चर र ऋणपत्रमा लगानी गर्न सक्नेछन् । यस्तै कुल लगानीको बढीमा २० प्रतिशत धितोपत्र बजारमा सूचीकृत कम्पनीको बण्ड, डिवेञ्चर र ऋणपत्रमा लगानी गनर्र सक्नेछन् ।
यस्तै धितोपत्र बजारमा सूचीकृत कम्पनीको साधारण सेयरमा कुल लगानीको बढीमा १० प्रतिशत लगानी गर्नसक्ने व्यवस्था लगानी निर्देशिकामा छ । नागरिक लगानी कोष र सामुहिक लगानी कोषको इमाईमा बढीमा ५ प्रतिशत, घरजग्गा व्यवसायमा बढीमा १० प्रतिशत, कृषि उत्पादन, पर्यटन, जलविद्युत जस्ता क्षेत्रमा कुल लगानीको १० प्रतिशतसमम् लगानी गर्न सकने व्यवस्था छ ।
इन्भेष्टमेन्ट कम्पनीको सेयरमा पनि कुल लगानीको ५ प्रतिशत लगानी गर्नसक्ने व्यवस्था छ । यसबाहेक प्राइभेट इक्वीटी फण्ड र भेञ्चल क्यापीटलमा समेत लगानी गर्नसकने व्यवस्था नियमावलीले गरेको छ ।
प्रतिक्रिया