
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अराजक गतिविधि सरकारले हेरेर नबस्ने टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो टिप्पणी गरेका हुन् ।
उनले कार्यकारी निर्देशक घिसिङले सरकारलाई नटेर्ने र सञ्चालका समितिका निर्णयहरु कार्यान्वयन गर्ने नगरेको आरोप लगाए । उनले विद्युतको क्षेत्रमा सतप्रतिशत लगानी सरकारकै भएको समेत उल्लेख गरे । कुलमान आएपछि लोडसेडिङ मुक्त नभई पहिले नै ट्रान्समिसन लाइन बनेका कारण भारतबाट विद्युत आयात गरिएको बताए । खड्काले कुलमानले राम्रो काम गरेको भए विश्लेषण गरेर पुरस्कार गर्न सकिने भएपनि देवता मान्न नहुने बताए ।
मन्त्री खड्काले भने, ‘अहिले नेपाल विद्युत प्राधिकरणका एमडीको कारणले लोडसेडिङ नभएर उत्पात भएजस्तो मान्नुहुन्छ । तत्कालीन अवस्थामा ८ वर्ष अगाडि नेपालको आवश्यकता लोडसेडिङ हुन नदिनका लागि साढे चार सय मेगावाटको आवश्यकता रहेछ । कम भएको विद्युत भारतबाट ल्याइयो,’ उनले भने, ‘भारतबाट विद्युत ल्याउनका लागि त पहिले नै ट्रान्समिसन लाइन बन्नुपर्थ्यो होला नि । त्यो ट्रान्समिसन लाइन कसका कारणले बनेको हो ? अनि उहाँ देवता हुनुभयो ? अचम्म लाग्छ ।’
सञ्चालक समिति निर्णय गरे पनि कुलमानले कार्यान्वयन नगर्ने तथा सरकारलाई नटेर्ने गरेको बताए ।
नेपाल सरकारको एक कर्मचारीको विषयलाई लिएर तथ्यहीन कुरा नगर्न उहाँले सबैमा आग्रह समेत गरे ।








प्रतिक्रिया