सशस्त्र प्रहरीलाई शान्ति मिसनमा पठाउने भन्दै ठग्ने ब्यक्ति पक्राउ

693
Shares

काठमाडौं । सशस्त्र प्रहरीलाई युएन (संयुक्त राष्ट्रसंघ) को शान्ति मिसनमा पठाउने भन्दै ठग्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरुलाई मिसनमा पठाइ दिने भन्दै ठग्ने सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका-२ बतासेका दिनेश सापकोटालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।

कार्यालयका प्रहरी उपरीक्षक (एसपी) काजी कुमार आचार्यले सापकोटालाई आईतबार दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको बताए ।

सापकोटाले ८ जनाबाट करिब ७ लाख लिएको प्रारम्भिक अनुन्धानबाट देखिएको छ । सापकोटाले सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरुलाई विश्वास तथा प्रलोभन देखाई रकम ठगी गरेको पाइएको उनको भनाई छ ।

सापकोटाले विगतमा चोरी तथा डाँका सम्बन्धी कसुर, बैकिंङ कसुर, ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) लगायतका कसूरमा पक्राउ परी कानूनी कारवाही भोगीसकेका छन् ।