काठमाडौं । नेपालको चेन हस्पिटालिटीमा अग्रणी सिद्धार्थ हस्पिटालिटी २७औँ वर्षमा प्रवेश गरेसँगै धनगढीमा पाँचतारे होटल बनाउने भएको छ । यो ग्रुपले आगामी पाँच वर्षभित्रमा ५८ आउटेसहित नेपाली चेन होटलको विस्तार विदेशमा पुग्ने भएको छ ।
हाल भैरहवामा पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालन गरिरहेको यो समूहले अब धनगढीमा पनि पाँचतारे होटलको तयारी गरिरहेको पनि सिद्धार्थ हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण न्यौपानेले बताए ।
उनले आगामी पाँच वर्षभित्रमा विदेशमा चेन विस्तार गरिसक्नुका साथै सानाठूला गरेर ५८ वटा आउटलेट सञ्चालनमा ल्याउने योजना रहेको पनि जानकारी दिए ।
सन् १९९८ मा कैलालीको टीकापुरमा सामान्य होटलबाट सुरु भएको कम्पनीको यात्रा यति बेला मुलुकभर फैलिएको छ ।
वार्षिकोत्सवका अवसरमा आयोजित एक कार्यक्रममा सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कृष्ण न्यौपानेले मुलुकको पर्यटन प्रवर्द्धन गर्दै सिद्धार्थलाई देशव्यापी बनाउने योजनाका साथ सिद्धार्थ ग्रुपले ‘भिजन २०३०’ मा काम गरिरहेको बताए ।
उनले सन् २०३० सम्म स्वदेश तथा विदेशमा समेत गरी कम्तीमा ५८ वटा साना तथा ठूला आउटलेट सञ्चालन गर्ने योजना बनाएको पनि जानकारी दिए । ‘हाल हामी नेपालका विभिन्न स्थानका साथै भारतमा समेत होटल सञ्चालनको तयारी गरिरहेका छौँ, त्यसपछि अन्य देशमा पनि सेवा विस्तार गर्ने योजना छ’, उनले भने ।
सिद्धार्थ हस्पिटालिटी पछिल्लो वर्षमा आतिथ्यताको क्षेत्रमा गुणस्तरीयताको पर्याय बनेको छ । जसलाई गत वर्ष प्राप्त विभिन्न सम्मानले पुष्टि गर्ने कम्पनीको भनाइ छ ।
गत वर्ष मात्रै पृथ्वी राजमार्गको चुम्लिङटारमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टले दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)बाट उत्कृष्ट रिभर साइड रिसोर्टको अवार्डबाट सम्मानित भएको थियो । साथै बौद्धस्थित सिद्धार्थ बुटिक होटलले उत्कृष्ट बुटिक होटलका रुपमा साटा अवार्ड प्राप्त गरेको थियो ।
सुर्खेतस्थित सिद्धार्थ रिसोर्टले कर्णाली प्रदेश सरकारबाट उत्कृष्ट एचआर प्राक्टिस (मानव संशाधन अभ्यास) अवार्ड प्राप्त गरेको थियो । विभिन्न आउलेटहरु उत्कृष्ट सेवा र आतिथ्यताका लागि ट्राभलर च्वाइस अवार्डबाट समेत सम्मानित भएका थिए ।
सिद्धार्थले लुम्बिनी विश्वविद्यालयसँगको सहकार्यमा ब्याचलर इन हस्पिटालिटीमा अध्ययनरत विद्यार्थीलाई सीप सिक्दै पढ्दै अभियान सुरु गरेको छ । साथै सिद्धार्थले सुर्खेतको होटलबाट कर्णालीमा उत्पादन हुने अर्ग्यानिक खाद्यान्न पनि प्रवर्द्धनमा जोड दिँदै आएको छ ।
विदेशमा सेवा विस्तारको योजना
मुलुकका विभिन्न स्थानमा सेवा विस्तार गरिरहेको सिद्धार्थ हस्पिटालिटीले अब चाँडै भारतमा पनि सेवा विस्तार गर्दैछ । त्यति मात्रै होइन, धनगढीमा पाँचतारे होटलको योजना अगाडि बढाएको छ।
सिद्धार्थले बुटवलको योगीकुटीमा सिद्धार्थ कटेज सञ्चालन गरेको छ, जसमा वाटर पार्क र यस क्षेत्रकै उत्कृष्ट सभा हल समेत निर्माण हुँदैछ।
हाल रेष्टुरेन्टको काम पूरा भइ सञ्चालनमा आइसकेको छ भने आगामी असारसम्ममा बाँकी काम पूरा हुने जनाइएको छ । कम्पनीले धनगढीमै पनि सिद्धार्थ कटेज निर्माण गरिरहेको छ । पाहुनाहरूलाई शान्त वातावरण खुला बगैचा, आधुनिक सुविधासहित रेस्टुरेन्ट र वाटर पार्क साथै यस क्षेत्रकै उत्कृष्ट सभा हल समेत निर्माण हुँदैछ।
साथै पर्यटकीय गन्तव्य इलाममा पनि कम्पनीको लग्जरी रिसोर्ट निर्माणको योजना बनाएको छ । रिसोर्टमा चियाबगानको दृश्य हेर्न पाइने भिल्ला, अर्ग्यानिक फार्म टु टेबल भोजन, वेलनेस कार्यक्रमहरू र संस्कृतिक अनुभवहरू समावेश हुनेछन् ।
हाल सिद्धार्थ हस्पिटालिटीअन्तर्गतका विभिन्न आउटलेटमा दुई हजार ५०० भन्दाबढी प्रत्यक्ष कर्मचारी कार्यरत छन् । आतिथ्यको क्षेत्रमा सबैभन्दा बढी रोजगारी दिने समूहमध्ये सिद्धार्थ होस्पिटालिटी पनि एक हो ।
कम्पनीले हाल पाँच तारे होटल स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव, तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्डमा होटल सञ्चालनमा छन् । त्यसबाहेक सिद्धार्थ कटेज, सिद्धार्थ क्याफेका साथै पछिल्लो समय कम्पनीअन्तर्गत एस होटल सञ्चालनको तयारी भइरहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म सेवा प्रवाह गरिरहेको कम्पनीले आफ्नै होटल सञ्चालनका साथै अन्य होटल व्यवस्थापन गरिरहेको छ ।
प्रतिक्रिया