काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको महामारीका बेलामा विश्वले औषधि विकास गर्न नसकेको अवस्थामा आफूले विश्वास जगाउन बेसार पानीको प्रयोग गर्ने सलाह दिएको बताएका छन् ।
उनले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको शुभारम्भ गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
‘हाम्रा डाक्टरहरु पनि कोभिडबाट आतंकित भइरहेका थिए । कोभिडको प्रसार धेरै भयावह तरिकाबाट भयो । यस्तो लाग्थ्यो कि धर्ती नै बाँच्ने अवस्था छैन । अरु कुनै औषधि उपलब्ध नभएको अवस्थामा मैले बेसार पानी नुन हालेर खाने सलाह दिएको हुँ । मैले विश्वास बढाउनका लागि यो कुरा भनेको हुँ । हामीले मनोबल मजबूत बनाउनु आवश्यक थियो,’ उनले भने ।
प्रधानमन्त्री ओलीले आफ्नी आमाको बिफरका कारण निधन भएको बताउँदै आफूलाई पनि मलेरियाले बारम्बार आक्रमण गरेको बताए ।
‘मेरी आमा बिफरले बित्नुभएको हो । म सानैदेखि बिफरका बारेमा सुनेको छु । म मलेरियाले धन्न धन्न बाँचेको मान्छे हुँ, च्याप्प समातेर निचोर्या भए सकिन्थेँ,’ उनले भने, ‘मलाई पहिलो पटक होइन, दोस्रो चरणमा तीनपटक कोभिडले आक्रमण गरिसक्यो।’
प्रतिक्रिया