सामाजिक सञ्जाल नेपालमा दर्ता गर्नूपर्ने, सम्पर्क कार्यालय तोक्न मन्त्रालयको सूचना


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सञ्चालनमा रहेका वा सञ्चालन गर्न इच्छुक सामाजिक सञ्जाल प्लेटफर्मलाई दर्ता गर्न सूचना प्रकाशन गरेको छ ।

सोमबार मन्त्रालयले ‘सामाजिक सञ्जालको प्रयोग व्यवस्थापनका लागि निर्देशिका, २०२३’ को आधारमा नेपालमा सञ्चालनमा रहेका वा सञ्चालन गर्न इच्छुक सामाजिक सञ्जाल प्लेटफर्महरूलाई अनिवार्य रूपमा मन्त्रालयमा दर्ता गराउनुपर्ने जनाएको हो । साथै प्रत्येक सामाजिक सञ्जालले नेपालभित्र आफ्नो सम्पर्क कार्यालय तोक्नुपर्ने व्यवस्था गरिएको सूचनामा उल्लेख गरिएको छ ।

निर्देशिकाको निर्देशन ६ अनुसार सामाजिक सञ्जाल प्लेटफर्महरूले मन्त्रालयसँग सहकार्य गरी तोकिएका प्रावधानहरूको पालना सुनिश्चित गर्नुपर्ने छ । मन्त्रालयले प्रावधानहरू अवज्ञा गरेमा तिनीहरूको सञ्चालनमा प्रतिबन्ध लगाउन सक्ने जनाएको छ।

सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउन, देशभर साइबर सुरक्षा र डिजिटल साक्षरता प्रवर्द्धनमा समर्थन प्रदान गर्न, विद्यालय र कलेजमा शिक्षा प्रणालीको गुणस्तर सुधारका लागि डिजिटल रूपान्तरणमा योगदान पुर्‍याउन,। नेपाली र अन्य राष्ट्रिय भाषामा सामग्री फिल्टरिङ र व्यवस्थापनका लागि प्रविधि लागू गर्न तथा सामाजिक सद्भावलाई बाधा पुर्‍याउने र साइबर अपराधलाई प्रोत्साहन गर्ने सामग्री हटाउन सरकारलाई सहयोग पुर्‍याउनु पर्ने मन्त्रालयले जनाएको छ ।