६ महिनामै सरकारको मूल्यांकन गर्न मिल्दैन: देउवा

0
Shares

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालको सरकार सकारात्मक रूपमा अघि बढिरहेको दाबी गरेका छन् ।

शुक्रबार सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले सरकारका कामप्रति विश्वास व्यक्त गरे ।

‘सरकार सकारात्मक रूपमा अघि बढिरहेको छ । आगामी दिनमा पनि प्रभावकारी रूपमा काम गर्दै जाने विश्वास लिएको छु,’ देउवाले भने ।

‘कुनै पनि सरकारको समग्र मूल्यांकन गर्न छ महिनाको अवधि पर्याप्त हुँदैन । तर, सरकारले हालसम्म गरेका कामहरू सकारात्मक छन् । त्यसैले भविष्यमा राम्रो परिणाम आउने मेरो अनुभव र अनुभूति छ ।’

साथै, उनले नेकपा एमाले र कांग्रेसबीच भएको सातबुँदे सहमति कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको बताए ।

‘सहमति कार्यान्वयन हुन्छ । अन्य राजनीतिक दलहरूको समेत निरन्तर सहयोग रहने विश्वास लिएको छु,’ देउवाले भने ।