प्रधानमन्त्रीलाई भेटेपछि निर्माण व्यवसायीका पूर्वघोषित आन्दोलनका कार्यक्रम स्थगित

1.1k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि निर्माण व्यवसायीले पूर्व घोषित आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन् ।

प्रधानमन्त्री ओलीसँगको वार्ता सकारात्मक भएको भन्दै महासंघबाट घोषित आन्दोलनका सबै कार्यक्रमहरू तत्कालका लागि स्थगित गरेको जनाएको छ ।

माघ १६ गते प्रधानमन्त्री ओलीले र महासंघ प्रतिनिधिमण्डलबीच भएको छलफलका क्रममा महासंघका मागहरू सम्बोधन गर्नका लागि एक कार्यदल गठन गर्ने निर्णय भएको छ । त्यसका लागि ओलीले निर्देशन समेत दिइसकेका छन् । प्रधानमन्त्री ओलीको उक्त निर्देशनपछि महासंघबाट घोषित आन्दोलनका सबै कार्यक्रमहरू स्थगित भएको महासचिव रोशन दाहालले बताए ।

निर्माण उद्योगमा देखिएका विद्यमान समस्याहरूका विषयमा छलफल गरी भावी रणनीति तय गर्न यस महासंघले पुस २७ गते को आयोजना गरेको राष्ट्रिय भेलाले १४ बुँदे मागसहित आन्दोलनमा उत्रने निर्णय गरेको थियो ।

आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार माघ १५ को अल्टिमेटमसहित प्रदेश निर्माण व्यवसायी महासंघहरूले सम्बन्धित् प्रदेशका मुख्यमन्त्री तथा जिल्ला निर्माण व्यवसायी संघहरूले सम्बन्धित् जिल्लाका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र पेश गर्ने थियो ।

यस्तै केन्द्रले प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु, मन्त्रीज्यूहरू, प्रमुख राजनीतिक दलका नेताज्यूहरू, विभिन्न समितिका सभापतिहरू लगायतलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम थियो । यी सबै कार्यक्रम सकेका थिए ।