काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय स्टार्ट अप व्यवसायतर्फ आकर्षण बढ्दो रहेको बताएका छन् ।
युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गर्दैछन् । यस्ता उद्यम संचालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्ने उनको धारणा छ । व्यवसायमा टिक्नका लागि उद्यमीले धैर्य सँगै निरन्तरता दिनुपर्ने भएकाले सरकारको साथ, समर्थन र संरक्षकत्व अपरिहार्य हुन्छ । थोरै लगानीमै स्टार्ट अफ व्यवसायलाई प्रभावकारी रुपमा संचालन गर्ने हो भने रोजगारीमा क्रान्ति ल्याउन सकिने उनको तर्क छ ।
नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्यून गर्दै लैजाने उद्देश्यले साना तथा मझौला उद्यम व्यवसाय प्रवर्धन गर्ने नीति लिएको बताए ।
कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले ‘नेपाल स्टर्टअप एण्ड एसएमई समिट’ आयोजना गरेको कार्यक्रममा सभापति देउवाले यस्तो बताएका हुन् ।
उनले केही गरौं भन्ने भावना बोकेका युवा र महिला समुदायको उद्यमलाई प्रोत्साहन गर्न के कस्तो नीति निर्माण गर्ने भन्ने बिषयमा उक्त कार्यक्रममा छलफल हुने जानकारी गराए ।
‘गाउँ गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नु पर्ने अहिलेको अवश्यकता हो’ उनले भने ‘गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पु¥याउँछ ।’
बहु सम्भावनाका क्षेत्र कृषि, वन, जडिवुटी, पर्यटन, प्रविधि जस्ता क्षेत्रको समुचित विकासमा विशेष ध्यान दिनसके मुलुकको आर्थिक अवस्था उकास्न ठूलो टेवा पुग्ने देउवाको दाबी छ ।
‘आज हाम्रो मुलुकको राष्ट्रिय आय अपेक्षित रुपमा वृद्धि हुन नसक्नुमा एकातिर स्वदेशी तथा विदेशी लगानीको सहज वातावरण बन्न नसक्नु र अर्कातिर विश्व बजारसँग हाम्रो नीजि क्षेत्रले सहज प्रतिस्पर्धा गर्न असहज महसुस गरेको हो कि भन्ने देखिन्छ’ उनले भने ‘त्यसैले हाम्रो अर्थतन्त्र उत्पादन भन्दा व्यापारमुखी बन्दै गएको छ ।’
नेपालमा युवा उद्यमीलाई आकर्षण गर्न, उनीहरुको व्यवसाय प्रवर्धन गर्न र साना तथा मझौला उद्योगी व्यापारी व्यवसायीहरुको समस्या बुझि पार्टीलाई सुझाव दिन “उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग” गठन गरेको जानकारी गराए । ‘उद्यमी, व्यापारी, व्यवसायीहरुले भोग्नु परेका कानूनी तथा प्रकृयागत झन्झटहरु अन्त्य गर्दै व्यवसायमा सहजीकरण गर्न हालसालै सरकारले कानून ल्याएको छ’ उनले भने ‘यो कानूनले यस क्षेत्रको सुधारमा अवश्य पनि सहयोग पुग्ने विश्वास लिएको छु ।’
विभिन्न नविन उत्पादन, सेवाहरुको प्रदर्शनीले स्थानीय उद्यमशीलतालाई प्रोत्साहन गर्दै लगानीकर्तालाई पनि अवसरका लागि प्रेरणा मिल्ने छ भने बेरोजगारी समस्यामा पिरोलिएका युवा जमातमा स्वरोजगारको नयाँ ढोका खोल्ने उनको दाबी छ । नवप्रवर्तन र उद्दमशीलताका माध्यमबाट विश्वव्यापी मन्दीको मारमा परेको मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउन समेत टेवा पुग्ने विश्वास रहेको बताए ।
प्रतिक्रिया