प्रयागराजको कुम्भ मेलामा भगदौड, कम्तिमा १२ जनाको मृत्यु


एजेन्सी । भारतको प्रयागराजमा जारी महाकुम्भ मेलाका क्रममा मध्यराति एक घाटमा भगदौड मच्चिँदा कम्तीमा १२ जनाको मृत्यु भएको आशंका गरिएको छ । यस घटनामा दर्जनौं घाइते भएका छन् । बुधबार राति करिब १:३० बजे भागदौड भएको थियो।

प्रयागराजमा रहेका बीबीसी संवाददाता विकास पाण्डेका अनुसार एक स्वास्थ्यकर्मीले घटनास्थलमा थुप्रै शवहरू देखेको बताएका छन् । समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै प्रयागराजका एक चिकित्सकले कम्तीमा १५ जनाको मृत्यु भएको र धेरै मानिस घाइते भएको जानकारी दिएका छन्।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाबारे प्रतिक्रिया दिँदै भीडको अत्यधिक दबाब रहेको र झन्डै तीन करोड मानिसहरूले स्नान गरिसकेको बताएका छन् । उनले मृतकको यकिन संख्या खुलाएका छैनन् तर केही व्यक्तिहरू घाइते भएको स्वीकार गरेका छन् ।

मुख्यमन्त्री योगी आदित्यनाथले आम जनतालाई अफवाहमा नपर्न आग्रह गर्दै आफ्नो एक्स अकाउन्टमा लेखेका छन्, ‘महाकुम्भमा आएका श्रद्धालुहरू, तपाईँहरू आ-आफ्नो नजिकको घाटमै स्नान गर्नुहोस्, संगम नोजतर्फ जाने प्रयास नगर्नुहोस् । प्रशासनको निर्देशनको पालना गर्नुहोस् र शान्तिपूर्ण रूपमा स्नान गर्नुहोस्।’

मंगलबार बेलुका सुरु भएको मौनी अमावस्याको अवसरमा अमृत स्नानका क्रममा अचानक भीड नियन्त्रण बाहिर गएर सुरक्षा ब्यारेक तोड्दै एक घाटमा रहेका मानिसमाथि चढेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।