विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले राजनीति देश र जनताका लागि हुनुपर्नेमा पैसा र व्याक्तिगत स्वार्थकालागि हुन थालेको बताएका छन् । नोना कोइराला स्मृति प्रतिष्ठानले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्नुपर्नेमा अहिले सत्ता र पैसाकालागि राजनीति भइरहेको दावी गरे ।
तीनै तहको सरकारमा बसेको अधिकांश जनप्रतिनिधि पैसाको ध्येमा रहेर व्यक्तिगत स्वार्थमा केन्द्रित भएको कोइरालाको आरोप थियो ।
अहिले राजनीतिलाई व्यावसायिकीकरण गरिँदैछ । राजनीति भनेको पेशा, व्यवसाय होइन सेवा हो,’ उनले थपे, ‘पैसै कमाउने हो अन्य थुप्रै विकल्पहरु छन् । तर राजनीति गर्नु भनेको समाजसेवा गर्नु हो ।’ जनप्रतिनिधिहरु लोभ र लालचमा फस्न नहुनेमा उनको जोड थियो ।
कोइरालाले सरकारले संसदलाई छलेर ल्याएको अध्यादेश प्रति आपत्ति जनाए । संसद बस्ने समय नजिकिँदै गर्दा हतारमा अध्यादेश ल्याउँदा आमजनतामा आशंका छ । उनले हतारहतार अध्यादेश ल्याउनुपर्ने कुनै जरुरी नभएको औंल्याउँदै अध्यादेशमा केही खोट छ कि, सरकारको केही स्वार्थ छ भन्ने जनमानसमा परेको वताए । संसदमै पेश गर्दा पनि कांग्रेस र एमाले मिल्दा झण्डै दुई तिहाईको संख्या छ । सजिलै पास हुन्थ्यो । संसद छलेर सरकारले जुन अध्यादेश ल्याएको छ त्यो ठीक भएन ।’
नोना कोइरालाको १८ औं स्मृति दिवसको अवसर आयोजित कार्यक्रममा कोइरालाले आफनी आमा नोनाले आफूलाई नैतिकता र इमान्दारिताको पाठ सिकाएको बताए । इमान्दारिता र नैतिकता नभए राजनीति गर्ने व्यक्ति कहिल्यै पनि अगाडि बढ्न नसक्ने उनको भनाइ थियो ।
कार्यक्रमा यस वर्षको नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिएको थियो । नेता कोइराला र प्रतिष्ठानकी अध्यक्ष उनकी पत्नी पुनम कोइरालाले पत्रकार नेपाललाई दोसल्ला ओढाएर नगद २५ हजार राशीको पुरस्कार प्रदान गरेका थिए ।
प्रतिक्रिया