तनहुँ । निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाले प्राकृतिक कुचिकारको रुपमा चिनिने गिद्ध संरक्षणका लागि ‘गिद्ध आरामस्थल’ निर्माण गरेको छ ।
वन्यजन्तु संरक्षण तथा जनचेतना योजनाअन्तर्गत आयोजनाका कारण लोपोन्मुख गिद्धको बासस्थान प्रभावित हुन नदिन व्यास नगरपालिका–१० दुम्सी भतेरीस्थित गौ संरक्षण केन्द्र परिसरमा गिद्ध आरामस्थल निर्माण गरिएको छ ।
आयोजनाले उक्त केन्द्रको परिसरमा स्थानीय स्रोत र साधनको प्रयोग गरी पाँच वटा टेलिस्कोपिक पोल जडान गरेको छ । हरेक पोलमा गिद्धलाई बस्नका लागि फलामको आर्म राखिएको छ । फलामको आर्ममा कारण गिद्धलाई कुनै नकारात्मक असर पर्न नदिई सुरक्षित बनाउन आर्मलाई काठले ढाकिएको छ । पोलको टुप्पोमा काठको ढकनी लगाइएको छ । जसमा गिद्ध सुरक्षित रुपमा बस्न सक्नेछन् ।
आहाराका लागि आउने र खाएपछि गिद्धलाई आराम गर्नका उक्त पोलहरु जडान गरिएका हुन् ।
व्यास नगरपालिकाको सक्रियतामा दमौली बजारभन्दा करिब ६ किलोमिटर दूरीमा रहेको मादी नदी किनारमा गौ संरक्षण केन्द्र सञ्चालित छ ।
करिब दुई सय रोपनी जग्गामा सञ्चालित केन्द्रमा व्यास नगरपालिका क्षेत्रमा बेवारिसे अवस्थामा रहेका र बूढा भएका गाईगोरु ल्याउने गरिएको छ । गाईगोरु मरेमा त्यहीँ रहेको खाल्डोमा राखिने भएकाले आहाराका लागि गिद्ध त्यहाँ आउने गरेका छन् । शिकारी चरा समूहअन्तर्गत ठूला मांसहारी पंक्षी गिद्धले आफैं शिकार नगरी मरेका जनावरको मासु अर्थात सिनो मात्र खान्छन् ।
गिद्धलाई यसअघि संरक्षण केन्द्रमा असुरक्षित रुपमा आहारा लिनु पर्ने वाध्यता थियो । उक्त स्थानबाट ३३ केभी प्रसारण लाइन गएका कारण आहाराका लागि आउने र आहारापछि उड्ने गिद्ध उक्त लाइनमा ठोकिएर मर्ने गरेका थिए । प्रसारण लाइनमा ठोकिएर गिद्धलाई मर्न नदिन आयोजनाले मरेका गाईवस्तु फाल्ने खाल्डोको स्थान परिवर्तन गरी त्यस नजिक पोल जडान गरी आरामस्थल निर्माण गरेको हो । यसबाट गिद्ध संरक्षण गर्न जनचेतना अभिबृद्धि र बासस्थान संरक्षण भई गिद्ध सुरक्षित क्षेत्रको रुपमा विकास गर्न सहयोग पुग्नेछ ।
साथै, आयोजनाले निर्माण गर्ने बाँधका कारण सेती नदीको प्राकृतिक बहावमा अवरोध उत्पन्न भई मुख्य रुपमा त्यहाँ पाइने रैथाने असला तथा शहर प्रजातिका माछाको जीवन जोखिमा पर्ने र त्यसको संरक्षणका लागि सेती र मादी नदीको सङगमस्थलबाट करिब ४५ किलोमिटर मादीको माथिल्लो तटीय क्षेत्रमा मत्स्य संरक्षण योजना कार्यान्वयनमा ल्याइएको छ ।
व्यास नगरपालिका ३, ४, ५,६, ७ तथा १० नम्बर वडा, मध्य नेपालका ४, ५, ६, ७ तथा ८ नम्बर वडा, रुपा गाउँपालिका १, ३ तथा ७ नम्बर वडा र मादी गाउँपालिका ४, ५, ९, १०, ११ तथा १२ नम्बर वडालाई प्रभावित क्षेत्र मानिएको छ ।
तीन वटा प्याकेजमा विभाजन गरी निर्माण भइरहेको आयोजनाको समग्र भौतिक प्रगति ६४ प्रतिशत रहेको छ ।
प्रतिक्रिया