माधव नेपालसँग वार्ता गरेका वामदेव एमालेमै फर्कने निश्चित, उपाध्यक्षहरुसहितका नेताले भने माओवादी रोजे !



काठमाडौं । पार्टी एकता राष्ट्रिय अभियानको संयोजक तथा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम नेकपा एमालेमै फर्किने भएका छन् । गौतमले आइतबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्तासमेत गरेका छन् । एकताको मिति र समय भने पछि तोकिने भएको छ ।

यसअघि गौतमले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकताका विषयमा केही चरण छलफल गरेका थिए । र एकीकृत समाजवादीमै आफूहरु जाने बताएका थिए । तर एकीकृतबाट कतिपय आशंकाजस्तो भएकाले त्यो विषय अब सकिएको उनी निकटका नेता बताउँछन् ।

तर, गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानका चार उपाध्यक्ष सहित बहुमत केन्द्रीय समितिले भने नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने निर्णय गरेको छ ।

उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा बुहमत केन्द्रीय समिति सदस्य वामदेवबाट अलगिएको आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले नेकपा एकता राष्ट्रिय अभियान परित्याग गरेको घोषणा गरेको हो ।

अभियानका उपाध्यक्ष एवम लुम्बिनी प्रदेश इन्चार्ज अर्याल, उपाध्यक्ष एवम कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, उपाध्यक्ष एवम कोशी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र उपाध्यक्ष एवम मधेश प्रदेश इन्चार्ज हरि काफ्लेले वामदेवको साथ छोडेको पत्रकार सम्मेलनमार्फत घोषणा गरेका हुन् ।

उनीहरुले एकता र समायोजनको लागि विचार मिल्ने नेकपा (माओवादी केन्द्र) लगायतका विभिन्न वामपन्थी दलसँग वार्ता गर्ने गरी उपाध्यक्ष अर्यालको नेतृत्वमा चार सदस्यीय वार्ता समितिसमेत गठन गरेका छन् । वार्ता समितिको सदस्यमा उपाध्यक्ष काफ्ले, सुब्बा र भट्टराई रहेका छन् ।

वामदेव निःशर्त ढंगले एमालेमा प्रवेश गर्नुपर्छ भन्ने ढंगले अगाडि बढेपछि विभाजनको बाटो रोज्नुपरेको उनीहरुको भनाइ छ ।


क्लिकमान्डु