सेयर ब्रोकरलाई मर्जमा लैजाने निर्देशिका यसैसाता ल्याउने तयारी, कुन ब्रोकरको पुँजी कति ?


काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी) लाई मर्जमा जानका लागि यसै सातासम्ममा निर्देशिका ल्याउने भएको छ ।

धितोपत्र दलाल व्यवसायीको सुझाव लिएर निर्देशिका तयार पारेर अन्तिम चरणमा रहेको बोर्डले जनाएको छ ।

निर्देशिकाका लागि आवश्यक सुझाव लिइसकेको बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए ।

चुक्तापुँजी नपुगेका ब्रोकर कम्पनीलाई मर्जरमा लैजानका लागि बोर्डले बनाएको निर्देशिकामा ब्रोकर एसोशिएसनले पनि सुझाव दिइसकेको छ ।

अहिले अधिकांश ब्रोकर कम्पनीका शाखा कार्यालय रहेका छन् । केन्द्रीय कार्यालय पनि काठमाडौंको पुलतीसडक, अनामनगर, नक्साल, नयाँ सडक, न्यूप्लाजा, कालिमाटी, सुन्धारा,हात्तिसार क्षेत्रमा बढी ब्रोकर कम्पनी रहेका छन् ।

पुँजी नपुगेका कारण मर्जरमा जान परेको खण्डका यही क्षेत्रका ब्रोकर मर्जरमा जाने छन् ।

ब्रोकर मर्जरमा जाँदा कुनलाई केन्द्र, कुनलाई शाखा कायम गर्ने, हाल कामय रहेका शाखा कसरी व्यवस्थापन गर्ने, कर्मचारीले खाइपाइ आएको तलब भत्ता घटाउन नहुने, कर्मचारी कटौती गर्न नहुने, ब्रोकर मर्जरमा जाँदा २ वटा टिएमएस, २ वटा डिपी कसरी चलाउने, शाखा स्थानान्तरण गर्न कसरी दिने लगायतका विषयमा ब्रोकरको चासो रहेको छ । यस्ता विषयलाई निर्देशिकाले सम्बोधन गरेको खण्डमा मात्रै मर्जरमा जान सजिलो हुने एक ब्रोकरले बताए ।

एसोशिएसनले पनि यही अनुसार सुझाव दिएको स्टक ब्रोकर एसोशिएसनका अध्यक्ष सागर ढकालले बताए ।

बोर्डले तयार पारेर अध्यक्षसँग आवश्यक छलफल गरिरहरेको निर्देशिका कार्यान्वयमा आएपछि २०८२ असार मसान्तसम्म तोकेको चुक्ता पुँजी पुर्‍याउन नसक्ने ब्रोकर कम्पनीहरुलाई मर्जरमा जान सजिलो हुनेछ ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को २०७९ भदौ २९ गते पाँचौ संशोधनको नियम ७ को उपनियम ३ मा ‘धितोपत्र दलाल वा व्यापारीले अर्को धितोपत्र दलाल वा व्यापारीलाई प्राप्ति गर्ने वा गाभ्ने र गाभिने सम्बन्धमा बोर्डले आवश्यक निर्देशिका बनाई लागू गर्न सक्नेछ’ भन्ने व्यवस्था गरेको छ ।

यता धितोपत्र बोर्डले चुक्ता पुँजी नपुगेका ३९ वटा ब्रोकर कम्पनीलाई पुँजी पुर्‍याउने योजना यथाशीर्घ पेस गर्न पुस ८ गते पत्राचार गरेको छ ।

बोर्डले यथाशीघ्र पुँजी पुर्‍याउने योजना पेस गर्न ३८ वटै ब्रोकर कम्पनीलाई निर्देशन दिएको हो । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को २०७९ भदौ २९ गते पाँचौ संशोधन गर्दै ब्रोकर कम्पनीको चुक्ता तोकेको छ । नियमावलीको अनुसूची ९ मा सीमित कार्य गर्ने धितोपत्र दलालको चुक्ता पुँजी २० करोड, पूर्वकार्य गर्ने धितोपत्र दलालको चुक्ता पुँजी ६० करोड र धितोपत्र व्यापारीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ ।

नयाँ लाइसेन्स लिएका ४२ वटा ब्रोकर कम्पनीको चुक्ता पुँजी पुगिसकेको छ भने पुराना ५० वटामध्ये १२ वटाको मात्रै पुँजी पुगेको छ । बाँकी ३८ वटा ब्रोकरको पुँजी पुगेको छैन ।

पुँजी नपुगेका ३८ वटा ब्रोकरलाई उक्त नियमावलीको नियम १० को (१क) मा भएको व्यवस्था अनुसार पुँजी पुर्‍याउने योजना मागेको बोर्डले जनाएको छ ।

नियम १० को (१क)मा ‘धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले उपनियम (१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम न्यूनतम पुँजी पुर्‍याउन सक्ने अवस्था नभएमा तोकिएको समय समाप्त हुनुभन्दा कम्तीमा छ महिना अगावै नियम ७ क बमोजिम प्राप्ति गर्ने वा गाभिने गरी बोर्ड समक्ष निवेदन दिन सक्नेछ’ भन्ने व्यवस्था गरेको छ । ७ क मा ‘धितोपत्र दलाल वा व्यापारीले बोर्डको स्वीकृति लिई अर्को धितोपत्र दलाल वा व्यापारीलाई प्राप्ति गर्न वा गाभ्नरगाभिन सक्नेछ’ भन्ने व्यवस्था छ ।

नियम १० को (१क)मा भएको व्यवस्था अनुसार नै पुँजी पुर्‍याउनु ६ महिना अघि पुँजी पुर्‍याउने योजना माग गरेका बोर्डका एक उच्च कर्मचारीले बताए ।

नियमावलीको नियम १० को १ मा ‘नियम प्रारम्भ हुँदाका वखत संचालनमा रहेका धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले सम्वत् २०८२ साल असार मसान्तभित्र अनुसूचि–९ बमोजिमको न्यूनतम चुक्ता पूँजी पुर्‍याउन बाधा पर्ने छैन’ भन्ने व्यवस्था गरेको छ ।
सोही व्यवस्था अनुसार ६ महिना अघि योजना माग गरेको बोर्डले जनाएको छ ।