धनगढी । नेकपा एमालेले कारबाही गरेपछि डा. भीम रावल हाल मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका छन् ।
उनले वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने दाबी गरेका छन् । रावलले यसमा राष्ट्रवादीलाई समेट्ने बताइरहेका छन् ।
शुक्रबार बिहान काठमाडौंबाट धनगढी पुगेका रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई पनि आफ्नो अभियानमा समेट्न चाहेको बताएका थिए । बालेनलाई पनि समेट्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले राष्ट्रको हितका लागि सबै इमान्दार देशभक्तलाई एकजुट गर्नु राम्रो हुने बताए ।
उनी धनगढी विमानस्थलमा अवतरणगर्दा उनका समर्थकले नेकपा एमालेविरुद्ध नाराबाजीसमेत गरेका थिए ।
रास्वपाका सभापति रवि लामिछानेबारेको प्रश्नमा रावलले अदालतमा विचाराधीन मुद्दामा टिप्पणी नगर्ने बताए । राजावादीहरूसँगको भेटबारे भने उनले देशको अवस्था परिवर्तन गर्न धेरै पक्षहरूसँग सहकार्य आवश्यक रहेको बताए । पृथ्वी जयन्तीका अवसरमा राप्रपा र राप्रपा नेपालको चियापान कार्यक्रममा सहभागी भएका उनले आफूलाई राजावादी भन्न नमिल्ने तर्क गरे ।
रावलले वर्तमान राजनीतिक दलहरूलाई गन्तव्यहीन, आदर्शहीन र सिद्धान्तहीन भन्दै आलोचना गरे । उनले प्रधानमन्त्रीदेखि अन्य नियुक्तिहरूसम्म भागबण्डाको प्रथा कायम रहेको र यसले राज्यलाई व्यक्तिगत स्वार्थको साधन बनाएको आरोप लगाए।
प्रतिक्रिया