वैदेशिक अध्ययनको नाममा ४७ अर्ब ३४ करोड रुपैयाँ बाहिरियो


काठमाडौं । देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालन भएपनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै ४७ अर्ब ३४ करोड रुपैयाँबराबरको रकम बाहिरिएको छ ।

बैंकले सार्वजनिक गरेको विवरणअनुसार भ्रमण व्यय १२ दशमलव दुई प्रतिशतले वृद्धि भई ८५ अर्ब एक करोड रुपैयाँ पुगेको छ । त्यसमध्ये शिक्षातर्पmको व्यय ४७ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ७५ अर्ब ७३ करोड रुपैयाँ थियो ।

गत मङ्सिर मसान्तसम्म खुद सेवा आय ४० अर्ब ७१ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २६ अर्ब ५५ करोड रुपैयाँले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय तीन दशमलव एक प्रतिशतले वृद्धि भई ३५ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३४ अर्ब १२ करोड रुपैयाँ रहेको थियो ।