
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएका मन्त्रीहरुको कार्य प्रगति विवरणबारे जानकारी लिएका छन् ।
बिहीवार बिहान निजी निवास बुढानीलकण्ठमा बोलाएर सभापति देउवाले कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको कार्यप्रगति विवरणबारे जानकारी लिएका हुन् ।
हालसम्म ३ जना मन्त्रीहरुले आफ्नो मन्त्रालयको कार्यप्रगतिबारे जानकारी दिएको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जानकारी दिए ।
मन्त्रालयले सोचेअनुसारको काममा तिब्रता दिन नसकेको उनले उल्लेख गरे ।
छलफलमा मन्त्रालयको कार्यप्रगतिबारे जानकारी गराइएको र अब कसरी प्रभावकारी बनाउने भन्नेबारेमा नेताहरुले सुझाव दिएको उनको भनाइ छ ।
‘नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण मन्त्रीहरुको उपस्थिति भएको छ । त्यसमा नेपाली कांग्रेसको तर्फबाट आफूले सम्हालेको मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण मन्त्रीहरुले आफूले सम्हालेको मन्त्रालयको बारेमा विस्तृत जानकारी दिइरहनुभएको छ,’ उनले भने, ‘के राम्रा काम भए, कसरी प्रभावकारी बनाउने, कसरी अघि बढ्ने भन्ने विषयमा जानकारी दिने काम भइरहेको छ । अहिलेसम्म तीनवटा मन्त्रालयको विस्तृत जानकारी दिइएको छ । आफ्नो मन्त्रालयको ब्रिफिङ भइरहेको छ । उहाँहरुले सुझाव पनि दिनुभएको छ ।’
दुईतिहाइ हाराहारीको सरकारबाट जनताले धेरै आशा गरेकोले त्यसअनुसार प्रभावकारी काम गर्न सभापति देउवाले मन्त्रीहरुलाई सुझाव दिएका छन् ।
उनले अध्यादेशको बारेमा सकारात्मक छलफल भएको बताए ।
प्रतिक्रिया