पन्ध्र दिनमै सरकारले बढायो इन्धनको भाउ, पेट्रोल २ र डिजेल ३ रुपैयाँ महँगियो
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताको ढाड सेक्ने गरी फेरी इन्धनको मूल्य बढाएको छ । निगमले पन्ध्र दिनको अवधिमा दोश्रो पटक मूल्य वृद्धि गरेको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर २ र डिजेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो । निगमले इण्डियन आयल कर्पोरेशन(आईओसी) बाट मूल्य बढेर आएको बताउँदै ती दुवै इन्धनमा मूल्य वृद्धि गरेको हो ।
वउद्धि भएको मूल्य बिहिबार बिहान १ बजेदेखि लागु हुने निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
नयाँ मूल्य अनुसार चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ ५० पैसा र डिजेल १५३ रुपैयाँ ५० पैसा तोकिएको छ ।
यस्तै सुर्खेत र दांगको लागि पेट्रोल १६५ रुपैयाँ र डिजेल प्रतिलिटर १५५ रुपैयाँ तोकिएको छ । त्यस्तै काठमाडौं, पोखरा र दिपायलको हकमा पेट्रोल १६५ र डिजेल १५६ रुपैयाँ प्रतिलिटर मूल्य तोकिएको छ ।
यसअघि निगमले पुस १६ गते पेट्रोलमा १ र डिजेल तथा मट्टितेलमा २ रुपैयाँ प्रतिलिटर बढाएको थियो ।
डिजेलको बढेको मूल्यअनुसार यातायात व्यवस्था विभागले पछिल्लो समयमा सार्वजनिक सवारी साधनको भाडा दर वृद्धि गर्दा ढुवानी लागत महँगो भएकाले दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढेको छ ।