रवि लामिछानेविरुद्धको मुद्दा: सरकारी वकिलको बहस सकियो, अब यस्तो हुन्छ प्रक्रिया
काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा सरकारी वकिलहरूको बहस सकिएको छ ।
सोमबार न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने कि धरौटीमा रिहा गरेर मुद्दा लड्न दिने भन्नेबारे बहस भएको हो ।
११ जना सरकारी वकिलमध्ये सबैले लामिछानेलाई थुनामै राखेर मुद्दा पुर्पक्ष गर्नुपर्ने जिकिर गरे । उनीहरूले सहकारी पीडितका दृष्टिकोणबाट समेत मुद्दा हेर्नुपर्ने र ३ वर्षभन्दा बढी सजाय हुन सक्ने कसुर भएकाले प्रतिवादीलाई थुनामै पठाउनुपर्ने दलिल पेस गरे ।
सरकारी वकिलको बहस सकिएपछि सहकारी पीडितपक्षका वकिलहरूले बहस सुरु गरेका छन् । जाहेरवालातर्फबाट अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गर्नेछन् ।
जाहेरवालातर्फको बहस सकिएपछि लामिछाने पक्षका वकिलहरूले बहस गर्नेछन् । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र सुशील पन्तले लामिछानेको पक्षमा बहस गर्ने छन् ।
प्रतिवादी पक्षको बहस सकिएपछि सरकारी वकिलहरूले पुनः जबाफी बहस गर्नेछन् । त्यसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले लामिछानेलाई थुनामा राख्ने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्नेबारे निर्णय गर्नेछन् ।