माउण्टेन इनर्जी नेपालले १५ प्रतिशत बोनस दिने, ५० प्रतिशत हकप्रद ल्याउँदै
काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । साथै १५ प्रतिशत बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।
आइतबार सम्पन्न माउण्टेन इनर्जी नेपाल लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को साधारणसभाले बोनस सेयर र हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।
१५ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख १५ हजार रुपैयाँ हुन आउछ । सो चुक्ता पुँजी १:०.५० अनुपातमा १ अर्ब ३० करोड १३ लाख ५७ हजार ८ सय ५४ रुपैयाँ बराबरको १ करोड ३० लाख १३ हजार ५ सय ७८ दशमलव ५४ कित्ता हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव कम्पनीको साधारणसभाले पारित गरेको छ । कम्पनीले ६५ मेगावाटको दुध खोला जलविद्युत आयोजनामा लगानी गर्ने प्रयोजनको लागि हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
साधारणसभाले संचालक समितिको तर्फबाट प्रस्तुत आव २०८०/८१ को वार्षिक प्रतिवेदन, कम्पनीको लेखापरिक्षकको प्रतिवेदन, सहित २०८१ आषाढ मसान्त सम्मको वासलात,२०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तिय विवरणसंग सम्वद्ध अनुसूचिहरु पारित गरेको छ ।
साधारणसभाले एक जना महिला संचालकमा रचना अधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ । सभाबाट कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
यस कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।