सुनको कमण्डलुमा भीख माग्ने दिन आयो, प्रजातन्त्र सपनामै सिमितः पूर्वराजा ज्ञानेन्द्र (भिडियो)
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्ण प्रजातन्त्र नेपाली जनताको सपनामै सीमित बनेको बताएका छन् । पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गरी उनले नेपालीका लागि प्रजातन्त्र सपनामै मात्र सिमित भएको टिप्पणी गरेका हुन् ।
पूर्वराजा शाहले स्वतन्त्रता र आवधिक निर्वाचनलाई मात्रै प्रजातन्त्र मान्न नसकिने भनेका छन् । उनले भनेका छन्, ‘प्रजातन्त्र भनेको आममानिसको जीवन पद्धति हो । स्वतन्त्रता र केबल आवधिक निर्वाचनको चक्रले प्रजातन्त्रको मर्म र मौलिकता दर्शाउँदैन ।’ पूर्वराजा शाहले आमनागरिकको सुरक्षा, न्याय, गास, बास, कपास, शिक्षा र रोजगारी सुनिश्चितसहितको स्वतन्त्रतालाई मात्रै पूर्ण प्रजातन्त्र मान्न सक्ने भन्दै यस दृष्टिले नेपालमा पूर्ण प्रजातन्त्र अझै आम नेपालीको सपनामा सीमित रहेको बुझ्नुपर्ने बताए ।
नेपाल कसैको रणमैदान नभएको भन्दै उनले अहिले सुनको कमण्डलु थापेर सहयोगको भिख माग्नु परेको बताए । ‘हाम्रो सामर्थ, जनशक्ति निरन्तर बाहिरिँदै गएको छ । हामी सुनको कमण्डलु थापेर सहयोगको भीख माग्दै अरुलाई श्रोत र सीपको दुरुपयोग गरिरहेका छौं,’ उनले भनेका छन् , ‘नेपाल कसैको रणमैदान होइन् हामी सबैको शान्ति थलो बनाउनुपर्छ । हाम्रो साझा घर नेपाल हो र साझा थर नेपाली हो ।’