देउवामाथि माधव नेपालको प्रश्न: डडेल्धुरामा विमानस्थल बनाएर कमिसन खान खोजेको ? (भिडियो)
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि डडेलधुरामा अनावश्यक विमानस्थल निर्माण गरेर कमिसन खाने प्रयास गरेको आरोप लगाएका छन् ।
बिहीवार सिंहदरबारमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै नेपालले, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआएको स्थिति र बैतडी–डोटीका विमानस्थल प्रयोगविहीन अवस्थामा हुँदा पनि डडेलधुरामा विमानस्थल बनाउने निर्णय अनावश्यक भएको बताए ।
‘अब जिल्लाको नाम भन्यो थाहा होला फेरि अरु कसैलाई । सुन्नुहोला, शेरबहादुरजीले । ए मेरो जिल्लामा पो आँखा गाड्नुभयो भन्नुहोला । त्यो चल्छ त्यहाँ विमानस्थल ? बैतडीमा चलिरहेको छ ? त्यति नजिकै विमानस्थल त्यहाँ डोटीमा छैन ? के छ त्यसको हालत ? भनेपछि त्यो विमानस्थल बनाउनुपर्ने किन ? उदयपुरमा के आवश्यकता छ ? किन बनाउनु पर्यो,’ उनले भने, ‘भनेपछि त्यहाँ ठेक्का लाग्छ, ठेक्कामा कमिसन खान पाइन्छ । सिधा त्यो कुरा बाहेक अरु केही पनि होइन । अलि जनतालाई भन्ने मौका पाइन्छ, मेरो जिल्लामा पनि मैले विमानस्थल ल्याइदिएँ । यस्तै कुराहरुले पनि धेरै नोक्शानी भइरहेको छ ।’
अध्यक्ष नेपालले नेपाल वायुसेवा निगम घाटामा रहेको र आवश्यकताभन्दा ठूलो संरचना निर्माणले राज्यको स्रोत खेर गएकोतर्फ ध्यानाकर्षण गराए।
उनले भने, ‘यसरी अर्बौं लगानी गर्ने परियोजनाको परिणाम के हो? यस्ता निर्णय गर्नेहरू दोषी हुन्। बैतडी र डोटीका विमानस्थल सञ्चालनमा छैनन्, डडेलधुरामा विमानस्थल चल्छ भन्ने के आधार छ? यो ठेक्काबाट लाभ लिने उद्देश्य बाहेक केही होइन।’