साना किसान लघुवित्तले बोनस सेयर प्रदान गर्ने
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत बोनस सेयर प्रदान गर्ने भएको छ ।
संस्थाको २३ औँ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेम बहादुर पाठकले प्रस्ताव गरेको १३.३ प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश ०.७ प्रतिशत गरी १४ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ ।
संस्थाले आर्थिक वर्ष २०७९/८० मा ७७ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा रहेकोमा आव वर्ष २०८०/८१ मा १९.१८ प्रतिशतले वृद्धि भई नाफा ९२ करोड १९ लाख रुपैयाँ पुगेको छ ।
यसैगरी आव २०७९/८० मा कुल सञ्चालन आम्दानी १ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ रहेकोमा आव २०८०/८१ मा ३१ प्रतिशतले वृद्धि भई २ अर्ब १९ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।
यस वित्तीय संस्थाको ७७ जिल्लाका ५४६ स्थानीय तहहरुमा १६९२ साझेदार संस्था आवद्ध छन् ।
१२ लाख ३३ हजार ६ सय ८४ परिवारलाई लघुवित्त सेवा पुर्याउन सफल यो संस्थामा दलित १२%, जनजाति ३४% र अन्यको ५४% रहेकोमा महिला सहभागिता ८०% रहेको छ ।