बुधबारदेखि इन्धन आपूर्ति ठप्प पार्ने पेट्रोलियम ढुवानी व्यवसायीको चेतावनी



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम ढुवानी र ढुवानी गर्ने ट्यांकर ट्रकसम्बन्धी समस्या समाधान नगरेको भन्दै तीनवटा संस्थाले संयुक्त रुपमा बुधबारदेखि इन्धनको ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् ।

अमलेखगञ्ज पेट्रोलियम ढुवानी व्यवसायी संघ, नेपाल यातायात स्वतन्त्र मजदूर संगठन अमलेखगञ्ज र नेपाल पेट्रोलियम ट्यांकर चालक संघ अमलेखगञ्जले मंगलबार संयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै बुधबारदेखि अनिश्चितकालका लागि ट्यांकर सञ्चालनमा रोक लगाएर इन्धनको ढुवानी ठप्प पार्ने चेतावनी दिएको हो ।

तीनवटै संस्थाहरुले आफुहरुले पटक पटक जायज मागहरु राख्दा पनि नेपाल आयल निगमले सम्बोधन गर्न चासो नदेखाएको भन्दै इन्धनको ढुवानी ठप्प पार्ने आन्दोलनको घोषणा गरेका हुन् ।

तीनवटै संस्थाले यसअघि पुस १४ गतेदेखि आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए । त्यो वेला नेपाल आयल निगमको मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जले आन्दोलनका कार्यक्रम स्थगन गर्न आग्रह गरेको थियो ।

उक्त आग्रह अनुसार तीनवटै संस्थाहरुले पुष १४ गतेदेखि गर्ने भनेको आन्दोलन तत्कालको लागि स्थगन गरी माग सम्बोधन गर्न निगमलाई पुस २३ गते(आज) सम्मको अवधी दिएको थियो ।

तोकिएको अवधीमा पनि निगमले माग सम्बोधन गर्न चासो नदेखाएपछि बुधबारदेखि अनिश्चतकालिन समयको लागि ढुवानी बन्द गर्ने आन्दोलन सार्वजनिक गरिएको पेट्रोलियम ढुवानी व्यवसायी संघका महासचिब राम ठकुरीले जानकारी दिए ।

उनका अनुसार बुधबारदेखि भारतको बरौनी रिफाइनरीबाट हुने पेट्रोलको लोडिङ कार्य रुपमा ठप्प पारिनेछ । लोडिङ भएपनि अमलेखगञ्ज डिपोमा अनलोडिङ नगर्ने ठकुरीले जानकारी दिए ।

यस्तै अमलेखगञ्ज डिपोबाट पनि लोडिङ अनलोडिङ प्रक्रिया पूर्ण रुपमा ठप्प पारिने उनले बताएका छन् । तीनवटै संस्थामा आवद्ध ट्यांकर व्यवसायीले पेट्रोलको लोड लिन मंगलबार भारतको बरौनी पठाएनन् । यसअघि एकदिनमा करिब २५ वटा ट्यांकरसम्म भारतको बरौनी लोड लिन जान्थ्यो ।

अमलेखगञ्ज डिपोमार्फत बिराटनगर, भैरहवा, जनकपुरलगायतका क्षेत्रका पेट्रोल पम्पमा पेट्रोल आपूर्ति हुँदै आएको छ । यो आन्दोलनका कारण ति क्षेत्रमा पेट्रोलको आपूर्ति प्रणाली बिथोलिने अवस्था सिर्जना भएको छ ।

सरकारले अत्यावश्यक पदार्थको आपूर्ति र ढुवानीको क्षेत्रमा आन्दोलन गर्न नपाइने गरी प्रतिवन्ध लगाएको छ ।

के हो माग ?

ठकुरीका अनुसार तीनवटै संस्थाहरुले निजी ढुवानी ट्यांकर–ट्रक व्यवस्थापन गर्नुपर्ने, बरौनी–अमलेखगञ्ज रुटमा गुड्ने १०४ वटा ट्यांकर ट्रक व्यवस्थापन गर्नुपर्ने, एक थान ट्यांकर ट्रक धनी व्यवसायीलाई करार सम्झौता कायम गर्नुपर्ने र ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।

अमलेखगञ्ज पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष सुदामा साहकाअनुसार मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोश्रो चरणको परियोजनाअनुसार निकट समयमै पाइपलाइनबाट पेट्रोल पनि ढुवानी हुने भएको छ ।

पाइपलाइनबाट पेट्रोलसमेत ढुवानी भएपछि भारतको बरौनीबाट उक्त इन्धन ढुवानी गर्दैआएका ट्यांकर व्यवसायविहिन र चालक रोजगारविहिन हुने समस्या सिर्जना भएको छ ।

तीनवटै संस्थाले १०४ वटा ट्यांकरमध्ये ६० वटा ट्यांकरलाई अमलेखगञ्ज–दाङ रुटमा परिचालन गराइदिनुपर्ने माग राखेर लामो समयदेखि निगममा ज्ञापन पत्र बुझाउँदै आएको साहले जानकारी दिए ।

उनका अनुसार अहिले भारतको गोंडा–नेपालगञ्ज १४५ किलोमिटर र नेपालगञ्ज–दाङ्ग १५० किलोमिटर दूरी पर्छ । गोंडा–नेपालगञ्ज ढुवानी गर्दा प्रतिकिलोलिटर २ हजार ४ सय ४ रुपैयाँ र नेपालगञ्ज–दाङ्ग ढुवानी गर्दा १ हजार ७ सय ५५ रुपैयाँ प्रतिकिलोलिटर गरी २ सय ९५ किलोमिटर दूरीमा ढुवानी गर्दा २० किलोलिटर क्षमताको ट्यांकरको ढुवानी खर्च ८३ हजार रुपैयाँ खर्च पर्छ ।

‘हामीले कूल २९५ किलोमिटर दूरी भएको गोंडा–नेपालगञ्ज र नेपालगञ्ज–दाङ्ग रुटमा ढुवानी हुने खर्चमै ३६४ किलोमिटर दूरीको अमलेखगञ्ज–दाङ्ग रुटमा ट्यांकर गुडाउन तयार भएपनि निगमले हाम्रो मागप्रति चासो देखाउन तयार भएन,’ ठकुरीले भने,’निगमले अहिले हामीलाई व्यवसाय र रोजगार दुबैबाट विस्थापित गर्न खोज्दैंछ ।’

तीनवटा संस्थाले अमलेखगञ्ज–दाङ्ग रुटमा ८३ हजार रुपैयाँमा ट्यांकरबाट इन्धन ढुवानी गर्न तयार रहेको बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ ।


क्लिकमान्डु